८ वैशाख २०८१ शनिबार
राजनीति

सद्भावनाका ३ केन्द्रीय सदस्यसहित १६ जना जिल्ला सदस्यद्वारा राजीनामा

रौतहट– सद्भावना पार्टीका तीन केन्द्रीय सदस्यसहित जिल्ला कार्य समिति रौतहटका १६जना सदस्यले राजीनामा दिएका छन् । सदरमुकाम गौरको नेपाल पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरी केन्द्रीय सदस्यत्रय शम्भु सुप्रिम, योगेन्द्र राय यादव र राजकुमार दासलगायत जिल्ला कार्य समितिका १६ जना सदस्यले पार्टी परित्यागको घोषणा गरेका हुन्। 
 
पार्टीको अलोकतान्त्रिक गतिविधि, राजनीतिक समाधानभन्दा नेतृत्वको स्वेच्छाकारी क्रियाकलाप, पार्टीको प्रधान कार्यदिशा लागू गर्ने परम्परागत सोचका कारण भविष्य सुरक्षित नभएको कारण पार्टी छोडेको उनीहरुले बताएका छन्। 

पार्टीको नेतृत्व जातिवादी राजनीति गरेको तथा पुराना र इमानदार कार्यकर्तालाई हरुवाचरुवाजस्तो अपहेलनापूर्ण व्यवहार गरेको पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य शम्भु सुप्रिमले बताए। ‘वर्तमान पार्टी अध्यक्ष प्रवक्ता भएको बखतदेखि नै पार्टीमा तीस वर्षदेखि काम गरेको तर नेतृत्वले निरन्तर बेवास्ता गर्दै आएको छ,’ सुप्रिमले आरोप लगाए ।

पार्टी अध्यक्ष रौतहट आउँदा आफ्ना जातिकै मानिसलाई सार्वजनिक मञ्चमा स्थान दिएको र अन्य पुराना कार्यकर्ताहरुलाई बेवास्ता गरिएपछि असन्तुष्टि बढेको बुझिएको छ। रौतहटको मुडबलवामा आयोजित पार्टी प्रवेश कार्यक्रममा तीनैजना केन्द्रीय सदस्यलाई मञ्चमा आसन ग्रहण नगराएको र त्यस विषयमा पार्टी अध्यक्ष महतोसित बारम्बार सम्पर्क गर्दा पनि कुनै वास्ता नगरेको कारण जिल्ला नेतृत्वमा समेत असन्तुष्टि बढेको स्रोतले जनाएको छ ।

पार्टीका सहमहासचिव अजय गुप्ताले पार्टीद्वारा स्पष्टीकरण सोधिएकोले कारबाहीबाट भाग्न राजीनामा दिएको बताएका छन् । तीनजना केन्द्रीय सदस्यले राजीनामा दिएको तर अन्यको हकमा भने विश्वास नभएको बताउँदै सहमहासचिव गुप्ताले पार्टी सुदृढिकरणका बाधकहरुले पार्टी परित्याग गरेको आरोप लगाएका छन्। 

‘विगतमा फोरमलाई धोका दिने जनाधार नभएका नेताले अहिले सदभावनालाई धोका दिएर अर्को कुनै दललाई धोका दिने तयारी गरेको’ सहमहासचिव गुप्ताले व्यंग्य गर्दै भनेका छन् ।

पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मन्डल तथा वरिष्ठ उपाध्यक्षद्वय नवलकिशोर साह र मृगेन्द्रसिंह यादवसहितको केन्द्रीय टोलीले जिल्लाको स्थलगत भ्रमण गरी दिएको प्रतिवेदनको आधारमा पार्टीको हितविपरीत लागेकाले स्पष्टीकरण सोधी अनुशासनको कारबाही गर्ने भनी दिएको सिफारिश गरेपछि सात दिनको समय दिएर स्पष्टीकरण सोधेकोमा कारबाहीको डरले राजीनामाको घोषणा गरेको गुप्ताले आरोप लगाए। 

पार्टी अध्यक्षमाथि नै आरोप लगाएको विषयमा केन्द्रीय अध्यक्ष राजेन्द्र महतोसित सम्पर्क गर्दा “जनाधारविहीन र पार्टी विस्तारका बाधकहरुले लगाएको आधारहीन पार्टीलाई धोका दिनेहरु गएकोमा खुसी लागेको” प्रतिक्रिया दिएका छन् । 

यसैबीच, सद्भावना पार्टी नेतृत्वले केन्द्रीय सदस्य योगेन्द्र राय यादवसँग मात्र स्पष्टिकरण मागेकाे भए पनि त्यही स्पष्टिकरण मागेकाे विषयमा असन्तुष्टि जनाउँदै अावेशमा अाएर अन्य दुर्इ केन्द्रीय सदस्यले समेत राजीनामा दिएकाे राजीनामा दिएका जिल्ला सदस्य रविन्द्र यादवले बताए। 

प्रकाशित: १७ चैत्र २०७३ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App