८ वैशाख २०८१ शनिबार
राजनीति

सहमतिका लागि मधेसी मोर्चा बाधकः नेता महत

जुम्ला विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै काँग्रेस नेता रामशरण महत। तस्बिरः डिवी वुढा

जुम्ला– नेपाली काँग्रेसका नेता डा. रामशरण महतले राजनैतिक सहमतिका लागि मधेशी मोर्चा बाधक भएको आरोप लगाएका छन्। राजनैतिक सहमति गरेर देशलाई निकास दिनेमा मोर्चा बाधक रहेको बताएका हुन्। नेपाल शिक्षक संघ जुम्लाको जिल्ला अधिवेशन उद्घाटन गर्न जुम्ला आइपुगेका नेता महतले संविधान कार्यन्वयन गर्न मधेसी मोर्चाले असहयोग गरिरहेको टिप्पणी गरे।

‘स्थानीय तह निर्वाचनका लागि सरकार तयार छ,’ उनले भने, ‘जनतामा उत्साह छ तर मधेसी मोर्चाले विभिन्न वहाना वनाएर रोक्ने प्रयत्न गर्दैछ।’ मधेसी मोर्चाले राखेको संविधान संशोधन निर्वाचन अगावै हुनु पर्ने अडान जनविरोधी भएको आरोप लगाए। उनले निर्वाचन र संविधान संशोधन एक अर्कामा नजोडिएकोले विना अर्थको अड्को नथाप्न आग्रह गरे।

उनले निर्वाचनमा सहभागी भएर आफ्ना मुद्दा स्थापित गर्न मधेसी दललाई चुनौती दिए। नेता महतले मधेसी मोर्चालगायतका प्रतिपक्षी दललाई अन्तिमसम्म निर्वाचनमा सहभागी बन्न आग्रह हुने भन्दै आग्रहलाई नमाने जनताबाटै तिरस्कृत भएर जाने विश्वास व्यक्त गरे।

स्थानीय तहको निर्वाचनले सरकार परिवर्तन हुने बित्तिकै कर्मचारीको सरुवाबढुवा गर्ने गलत  परम्पराको अन्त्य हुने बताए। ‘राजनैतिक अस्थिरताका कारण उपयुक्त व्यक्ति उपयुक्त स्थानमा आउन सकेका छैनन्,’ उनले भने, ‘अब त्यो परिपाटीको अन्त्य हुन्छ ।’ स्थानीय तहको निर्वाचनपछिको बाटो सहज नभएको भन्दै उनले जनताको आकांक्षा पूरा गर्न आर्थिक विकास जरुरी छ।

उनले निर्वाचनको दायरामा मधेसी मोर्चालाई आउन बाध्य पार्ने अवस्था नेपाली काग्रसले सृजना गर्नेमा जोड दिए। फरक प्रसंगमा अर्थमन्त्री महतले कर्णालीको विकासका लागि पहिले देखि नै आफू प्रतिवद्ध रहेको बताए। ‘अर्थमन्त्री हुँदा कर्णालीको आर्थिक, सामाजिक, स्वास्थ्य, शिक्षाका क्षेत्रमा बजेट विनियोजनमा राम्रो सहयोग गरेको छु,’ उनले भने।
 

प्रकाशित: १७ चैत्र २०७३ १२:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App