१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सगुनकाे मिनी अाइपिअाेमा ३ हजारकाे अावेदन, फर्म भर्ने म्याद ३० मार्चसम्म

काठमाडौं–  इकमर्स स्टार्ट अप कम्पनी सगुनकाे शेयर खरिदका लागि मिनी अाइपिअाेमा २ हजार ९ सय लगानीकर्ताले अावेदन दिएका छन् । लगानी गर्न छुट्नेहरुका लागि सगुनले ३ दिनका लागि आवेदन गर्ने म्याद बढाएको छ । कम्पनीले अमेरिकी बजारमा मिनी अार्इपीअाे जारी गरेकाे थियाे।

सगुनले मिनी आइपिओमार्फत २ करोड डलरको सेयर विक्री गर्ने योजना बनाएको  जनाएकाे छ । हरेक व्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्न सक्ने जनाएकाे छ। सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) बाट अनुमति लिएर मिनी आइपिओ जारी गरेको हो।

कम्पनीले सेयर खरिद गर्न नभ्याएका लगानीकर्ताहरुको आग्रहमा मार्च ३० सम्म आवेदन गर्ने म्याद थपेको सगुनका सहसंस्थापक कविन सिटौलाले जानकारी दिए।

‘विश्वभरका लगानीकर्ताहरुको आग्रहमा मिनी आइपिओको म्याद तीन दिन थपेका हौं,’ उनले भने, ‘यसपछि एक दिन पनि समय बढाउन सकिँदैन।’ उनका अनुसार सगुनमा लगानी गर्न चाहनेहरुले अनलाइन फर्म भरेपछि बैंकिङ च्यानलमार्फत वायर ट्रान्सफर गरेर रकम पठाउन भने अरु ७२ घन्टा (३ दिन) समय पाउने जनाएकाे छ।

सगुनमा लगानी गर्नेहरुको संख्या अमेरिकाकै इतिहासमा धेरैमध्ये एक हो । रिटेल इन्भेस्टरका आधारमा सगुन अमेरिकामा दोस्रो ठूलो कम्पनी भएको सगुनका संस्थापक गोविन्द गिरीकाे दाबी छ । सगुनले मिनी आइपिओबाट अहिलेसम्म २७ लाख डलर लगानी संकलन गरेको जनाएकाे छ ।

सगुनले अमेरिकाको पूँजी बजारको इतिहासमा ८० वर्षपछि पहिलो पटक सर्वसाधारणले लगानी गर्ने अवसर पाएका हुन्। अमेरिकामा अहिले देखिएका ठूला कम्पनीहरु फेसबुक, गुगल, स्न्याप च्याट, आबिएमलगायतका कम्पनीमा सुरुआतताका सर्बसाधारणले लगानी गर्न पाएका थिएनन् । तिनमा भेन्चर क्यापिटालिस्ट र धनीहरुले मात्र लगानी गर्न पाएका थिए ।

सगुनले विश्व बजारमा निस्कासन गरेको मिनी आइपीओ यसअघि मार्च २७ देखि बन्द गर्ने घोषणा गरेको थियो । ‘विश्वभरका लगानीकर्ताको आग्रहमा हामीले तीन दिन म्याद थपेका हौं,’ सिटौलाले भने, ‘अब अमेरिकाको वासिङगटन डिसीको स्थानीय समय अनुसार मार्च ३० गते राति १२ बजेपछि सेयर निस्कासन बन्द गर्छौं।'

यसपछि संस्थागत लगानीकर्ताका लागि सगुनको सेयर निस्कासन गर्ने उनले जानकारी दिए।

‘यसपछिको काम ब्रोकर डिलरले गर्ने छ,’ उनले भने, ‘त्यतिखेर सर्वसाधारण लगानीकर्ताले लगानी गर्ने अवसर नपाउन सक्छन् ।’ उनले सगुनमा लगानी गर्न इच्छुकलाई थपिएको समयभित्रै आवेदन गर्न आग्रह गरे ।

सगुनले मिनी आइपिओमार्फत २ करोड डलरको सेयर विक्री गर्ने योजना बनाएको छ । हरेक व्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्न सक्छन्। सगुनले अमेरिकी नियामक सेक्युरिटी एक्स्चेन्ज कमिसन (एसइसी) बाट अनुमति लिएर मिनी आइपिओ जारी गरेको हो। सगुनका संस्थापक गोविन्द गिरीले अमेरिका, भारत, मिडिल इस्ट, जापान, कोरिया, क्यानाडालगायतका मुलुकबाट उल्लेख्य लगानीकर्ताले लगानी गरेको बताए।

गिरीले आगामी ५ बर्षभित्र सगुन १० अर्ब डलरको कम्पनी बन्ने दावी गरेका छन्। ‘त्यतिखेर कम्पनीमा १ हजारभन्दा बढी कर्मचारी हुनेछन्,’ उनले भने, ‘हामीले वार्षिक २ करोड डलर बार्षिक आम्दानी गर्ने छौं।’ हाम्रा युजरको संख्या १ करोड नाघ्ने छ।

सगुनले कसरी दिन्छ प्रतिफल ?

सगुनका संस्थापक गिरी युजरलाई मोनिटाइजेसन गर्ने सिस्टम आफूहरुले बनाइरहेको बताउँछन्। यस्तो सिस्टम फेसबुक, ह्वाट्स एप, स्न्याप च्याटलगायतका कुनै एपमा नभएको उनको दाबी छ।

‘यो हाम्रो सबै सामाजिक संजालभन्दा विल्कुलै फरक प्रोडक्ट हो,’ उनी भन्छन्, ‘प्रत्येक युजरले सामाजिक संजालमा दिने समयबाट कसरी कम्पनीले रेभेन्यु जेनरेट गर्ने भन्नेमा हामी लागेका छौं । यसका लागि हामीले सोसियल स्मार्ट कार्डको कन्सेप्ट ल्याएका हौं । यसमा हामी पाइनियर हौं।’

विश्वव्यापी रुपमा आम मानिसले औषतमा २ देखि ६ घन्टासम्म सामाजिक संजालमा विताउने गरेका छन् । यसले समय किल गरिरहेको छ ।

‘युजरले अाफ्नाे समय सगुनलाई दिएपछि त्यसबापत उसले हाम्रो रेभेन्युको हिस्सा पाउनु पर्छ भन्ने कन्सेप्ट ल्याएका छौं’, गिरीले भने। सगुनले हरेक युजरले आफ्नो समय खर्च गर्दा जेनरेट गर्ने रेभेन्युको ५ प्रतिशत उसलाई दिने योजना बनाएका छौं।

सगुनले यही वर्ष (सन् २०१७ भित्र) भारत र नेपालमा पाइलट प्रोजेक्टका रुपमा स्मार्ट कार्ड सुरु गर्ने गिरीले बताए। उनले अर्को बर्षको पहिलो तीन महिनाभित्रै रेभेन्यु सेयरिङको काम सुरु गर्ने जानकारी दिए।

सगुनले ३ वटा रेभेन्यु सेयरिङ मोडल बनाएको जनाएको छ। एउटा फेसबुकले गर्ने जस्तो ब्यानर एडभर्टाइजिङ हो। ‘हामी एप्लिकेसन्सको स्टोरीसँग म्याच हुने खालेका एड राख्छौं,' उनले भने, ‘हामीले राख्ने विज्ञापन ज्ञानमा आधारित हुनेछ।’

अर्को कुरा सगुनले सोसियल स्मार्ट कार्डले गिफ्ट कार्डलाई रिप्लेस गर्न खोजको छ । जस्तो अमेरिकामा गिफ्ट कार्डमा १ अर्ब डलर खेर जाने गर्छ ।  साथीभाइ वा आफन्तले दिएको गिफ्ट कार्डको रकम प्रयोग नभइ खेर जान्छ ।

सगुनले त्यस्ता कार्डलाई प्रयोगमा ल्याउन खोजेको छ । व्यक्तिले प्राप्त गरेकाे  गिफ्ट कार्डलाई सगुनको स्मार्ट कार्डले स्क्यान गरिदिन्छ । त्यसमा कुन भेन्डरको कति मूल्यको कार्ड हो, सगुनको लिस्टमा देखाउनेछ । मोवाइलमा हुने डिजिटल कार्ड चौबीसै घन्टा प्रयाेगकर्तासँग हुन्छ। त्यसलाई जुनसुकै समय रिडिम गर्न सकिन्छ।

अर्को अमेरिकामा कुपन मार्केट अर्बौको छ । जस्तो कुनै स्टोरमा गएर कसैले १ सय डलरको सामान किन्यो भने तुरुन्त २० डलरको कुपन दिन्छ । उसले त्यति रकमको कुपन एक साताभित्रै खरिद गर्दा प्रयोग गर्नुपर्छ । अहिले सामान किनेको मान्छे साता दिनभित्रै फेरि किन्न जाँदैन वा जान सक्दैन । त्यसो गर्दा कैयौं कुपन खेर जान्छन् । सगुनको स्मार्ट सोसियल कार्डको डिजाइन त्यस्ता कुपनको स्क्यान गर्ने गरी बनाइएको छ । त्यस्तो कुपन परिवारका सदस्यलाई रिडिम गर्न दिन सकिन्छ ।

अहिले जहाँ बसेर लगानी गरेको भए पनि सगुनको सेयर किनबेच हुन थालेपछि लगानीकर्ताले त्यतिखेर आफू रहेको ठेगानामै प्रतिफल पाउने सगुनका संस्थापक गिरीले जानकारी दिए । उनले सगुनमा लगानी गर्ने सबैले आफ्नो जीवनमा ठूलो परिवर्तन आएको अनुभव गर्ने दाबी गरे।

प्रकाशित: १७ चैत्र २०७३ १०:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App