७ वैशाख २०८१ शुक्रबार
अर्थ

तरकारी खेतीबाटै आत्मनिर्भर बन्दै महिला

तानसेन नगरपालिका–१०, तेल्घा पाल्पामा तरकारी खेती गर्दै गरेका महिला कृषक । तस्बिरः मुक्तिप्रसाद न्यौपाने

पाल्पा– तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका महिलाहरु तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन्। उनीहरुले विभिन्न समूह समिति बनाएरै तरकारी खेतीमा लागेका हुन्।

वगनासकाली गाउँपालिका– १ चिर्तुङ्गधाराका महिलाहरुले ५० रोपनीमा खुर्सानी खेती सुरु गरेका छन्। महिलाहरुले दुई समूहमा विभिन्न जातका तरकारी खेती गरेका हुन् । गत वर्ष तरकारीको उत्पादनमा वृद्धि भएको र राम्रो आम्दानी भएकोले तरकारी खेतीमा आकर्षित भएको उनीहरुले बताएका छन्। मनकामना कृषक समूहकी अध्यक्ष भगवती बस्यालले तरकारी खेतीले जीविका चलाउन सहयोग पुगेपछि अन्य अन्नबालीभन्दा तरकारी खेति नै राम्रो भएको बताए।

‘गाउँमा विभिन्न जातमा तरकारी लगाइएको छ,’ उनले भनिन्, ‘अहिले गाउँलाई खुर्सानीको पकेट क्षेत्र

बनाउन लागिएको छ। खुर्सानीमा मात्र ५० हजारको लगानी गरिएको छ।’ उनले २÷४ लाख कमाउन युवाहरु वैदेशिक रोजगारमै जानु नपर्ने बताइन्।

सोही स्थानकी कालिका कृषक समूहकी अध्यक्ष नैना पाण्डेले तगवर्ष खुर्सानी बेचेर पचास हजारसम्म कमाई भएको बताईन् । अहिले बृहत रुपमा खेती गरिएको छ । जिल्ला कृषि विकास कार्यालयले पाँच सय ग्राम बिउ दियो । किसान परियोजनाले तरकारि खेती गर्न सिकायो । सामाजिक स्रोत विकास केन्द्रले समूह समिति परिचालनमा सहयोग भयो । अहिले हामी सामूहिक रुपमा तरकारी खेतीमा लागेका छौं, पाण्डेले भनिन् ।

चिर्तुङ्गधारा गोर्सतकी कृषक नुरा राना भन्छिन्, केही वर्षसम्म आर्थिक समस्याले सबै भन्दा बढी पिरोल्थ्यो। घरको खर्च चलाउनेदेखि केटाकेटी पढाउनेसम्मको खर्च धान्न निकै मुस्किल हुन्थ्यो। तर आजकल उनी तरकारी खेतीबाटै राम्रो आम्दानी गरिरहेका छन्। ‘मालिनी जातको काँक्रोको बेमौसमी खेतीबाट घरखर्च चल्न थालेको छ। व्यवसायिक तरकारी खेतीबाट वार्षिक एक लाखसम्म आम्दानी हुने गरेको छ,’ उनले भनिन्।

तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाको चिर्तुङ्गधार, हुँगी, देवीनगर, जल्पा, गल्धा, झडेवा, रिग्नेरह, रामपुर, पिपलडाँडा लगायतका स्थानहरुमा कृषकहरूले व्यवसायिक रुपमै टमाटर खेती गरेका छन् । त्यस्तै साविककै मुझुङ्ग, सोमादी, छहरा र भुवनपोखरीका कृषकहरुले विभिन्न जातका तरकारी खेती गरेका छन् ।

तानसेन नगरपालीका, तेल्घाकी कृषक गौरा गाहाले अहिले तीन हजार पाँच सय बिरुवा टमाटर लगाएकी छिन् । गत वर्ष लगाएको टमाटरबाट राम्रो आम्दानी भएसँगै तरकारी खेती आत्मनिर्भर हुने बाटो बनेको उनले बताईन् । सोही स्थानकी मनकुमारी न्यौपानेले आठ रोपनीमा तरकारी खेती गरेको बताईन् । उनी भन्छिन्, ‘तरकारी खेती सुरु गरे देखि घर खर्च चलाउन, छोराछोरी पढाउन र समूहमा बचत गर्न सकिएको छ । बन्दा, काउली, सिमी, आलु, प्याज, टमाटर, फर्सी लगायतका तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ ।’
जिल्लामा व्यवसायीक रुपमा गर्ने कृषकहरुको संख्या बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । व्यवसायीक कृषकहरुलाई कार्यालयले समय समयमा निशुल्क प्राविधिक परिक्षण, तालिम तथा विउ वितरण गर्ने गरेको वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले बताए । किसान परियोजनाका संयोजक मेनकुमार श्रेष्ठले विभिन्न प्रविधि अन्तर्गत तरकारी खेतीलाई व्यवसायीकता प्रदान गर्न सहयोग गर्दै आएको बताए । उनी भन्छन्, ‘गाउँमा रहेका धेरै महिला तरकारी खेती गरि आत्मनिर्भर भएका छन् । उनीहरुको प्रमुख आम्दानीको स्रोत तरकारी खेती बनेको छ ।’

 

प्रकाशित: १७ चैत्र २०७३ ०९:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App