७ वैशाख २०८१ शुक्रबार
विचार

धर्म, राजनीति र नेपाली कांग्रेस

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्य अवस्था सुनेपछि ओम अस्पताल गएँ। केही दुविधा थियो अस्पताल जाने कि नजाने भनी। शशांकले राजनीतिक जीवनमा देश र नेपालीका लागि कुनै उल्लेख्य काम गरेको मेरो जानकारीमा छैन। कांग्रेस महामन्त्रीको पदलाई नै 'धन्य' ठानी उनलाई अस्पताल भेट्न र दीर्घायुको कामना गर्न जाने मेरो जाँगर थिएन। तर व्यक्तिगत सम्बन्ध पुरानो र खुला थियो उनीसँग। हाम्रा रुचि पनि केही समान थिए। क्रिकेट हेर्ने, बिपीको साहित्य निर्माणको परिवेश र पृष्ठभूमिमाथि बहस गर्ने अनि देशको बिग्रँदो राजनीतिक अवस्थाप्रति केही सुधार गर्न सकिन्छ कि भनी छलफल गर्ने। यिनै कारणले म ओम अस्पतालको कम्पाउन्ड पुगेँ।

अस्पताल परिसरमा खासै भीड थिएन। केही कांग्रेसजन र धेरैजसो सरकारी मान्छेको भीड देखेँ। नेपालको राजनीतिमा को कतिखेर शक्तिमा पुग्छ भनी हिसाबकिताब गर्ने मानिसकै भीड ओम अस्पतालको परिसरमा धेरै देखेँ। राजधानी यस्तै हुन्छन् भनी फ्रेन्च साहित्यकारहरुले २ सय वर्षअगाडिदेखि नै लेख्दै आएका हुन्। नेपालको राजधानी काठमाडौं कसरी अपवाद हुन सक्थ्यो र!  बिपी पुत्र श्रीहर्ष कोइरालासँग ओम अस्पतालमा केहीबेर कुरा गरेँ। उनले २४ घण्टापछि मात्र केही भन्न सकिन्छ, अहिले मुन्नु अर्थात शशांकको अवस्था 'क्रिटिकल' छ भनेपछि मैले अरुसँग कांग्रेस महामन्त्रीको स्वास्थ्य अवस्था बुझ्न जरुरी ठानिन। त्यहाँ उपस्थित धेरै जनाको कुरा सुन्दा डा. शशांकको जीवन यात्रा सकुशल अगाडि बढ्ने कुरामा संशय थियो। तर २४ घण्टा पनि नबित्दै 'चमत्कार' भयो भनी ओम अस्पतालका डाक्टरहरुले नै भने। म जस्तो चमत्कारलाई नमस्कार नगर्ने मानिसलाई नेपालका डाक्टरहरुको यस्तो भनाइले आश्चर्यमा पार्‍यो।  

केही दिनअगाडि डा. शशांकले नेपाललाई हिन्दु राष्ट्र राख्नुपर्छ भनेर बिबिसीमा अन्तर्वार्ता दिएपछि मेरो उनीसँग फोनमा लामै कुराकानी भएको थियो। म उनका सबै दक्षिणपन्थी विचारसँग पूरै असहमत थिए। कांग्रेस महामन्त्रीको जिम्मेवारी र बिपीको विरासत लिने हो भने त्यस्ता अप्रगतिशील र दक्षिणपन्थी विचारबाट आफूलाई रोक्नु नै वेश होला भनेँ। महाधिवेशनको निर्णय पनि स्मरण गराएँ। तर उनले राजतन्त्र, हिन्दु धर्म, संघीयता जस्ता विषयमा सार्वजनिकरूपमा दिइरहेका अभिव्यक्तिप्रति निष्ठा र निरन्तरता दिने विचार नै प्रकट गरे।

कांग्रेस कार्यकर्ताले शशांकका विचारलाई ग्रहण गरेरै महामन्त्री पदमा आसिन गरेका हुन् कि बिपी पुत्र कांग्रेस पार्टीको चुनावमा हार्नुहुँदैन भनी भावनामा महामन्त्रीको जिम्मेवारी दिएका हुन् बुझ्न गाह्रो छ। मलाई अरुभन्दा पनि बिपी कोइरालाको विरासत अगाडि बढाउने छोराबाट नेपाल हिन्दु राष्ट्र राख्नुपर्छ भन्ने भनाइले आश्चर्यचकित पार्‍यो। यो त पिताजी कृष्णप्रसाद र बिपी परिवारको प्रगतिशील विचारलाई 'फुलस्टोप' लगाएको जस्तो अनुभव भयो। बिपीले २०३६ सालको जनमत संग्रहको समयमा नेपाललाई हिन्दु राष्ट्र राख्नुपर्छ भन्ने कुरा झेलीमात्र हो भनी धर्म र राज्यलाई मिसाउन नहुने मत कैयन् लेख र विचारबाट अभियानका रूपमा अगाडि बढाउनुभएको थियो।

राजनीतिमा धर्म मिसाउँदा जनता र देशले कस्तो सास्ती र वेदना भोग्नुपर्छ भन्ने उदाहरण आज विश्व रंगमंचको राजनीतिमा देखिन्छ। अरवका सबै राष्ट्र अहिले गृहयुद्धको चपेटामा छन्। सबै राष्ट्रमा अरबी भाषा बोलिन्छ अनि इश्लामलाई मुख्य धर्म मानिन्छ। तर पनि त्यहाँ युद्ध छ धर्मकै कारण।  युरोप धर्म युद्धको छायाँमा त्रसित छ। अमेरिकी जनताको सोच र मत इश्लाम विरोधी भावनाले निर्माण हुँदैछ अहिले। आगामी राष्ट्रपतिको निर्वाचनमा इश्लाम धर्मप्रति घृणा गर्ने समूहले 'ह्वाइट हाउस' कब्जा गर्ने सम्भावना बढेर गएको छ। अमेरिकी चुनावी अभियानको सम्भावित परिणामबाट अरव र मुश्लिम जगतमात्र होइन, विश्व त्रसित छ। धर्मबाट राजनीतिमा विजय पाइन्छ भन्ने सोच विकसित गर्दा त्यसको मूल्य मानव सभ्यताको नरसंहारबाट चुकाउनुपर्ने हुन्छ। नेपाल पनि त्यसमा कसरी अपवाद होला र? 

हो, नेपालको सनातन हिन्दु धर्मको 'डायनामिक्स' उपभोगवादी र भौतिकवादी छैन। यसको केन्द्रीय दर्शनमा व्यक्तिको असल आचरणबाट मात्र मोक्ष प्राप्ति गर्न सकिन्छ भन्ने विश्वास गरिएको छ। नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने कांग्रेस नेताहरुको भनाइसँग त्यतिखेर बहस र छलफल गर्न सकिन्छ जब उनीहरु देशको राजनीतिमा बिग्रँदो नैतिक आचरणलाई हिन्दु राष्ट्र निर्माणले मार्गदर्शन गर्न सक्छ भनी अगाडि आउँछन्। यसरी सनातन धर्मको रक्षा गर्न कांग्रेसका प्रभावशाली मानिस अगाडि आएका हुन् भने यसलाई नकारात्मकरूपमा लिनुपर्दैन। तर त्यस्ता पात्रसँग सनातन धर्म के हो र यसको रक्षा कसरी र केका लागि भन्ने ज्ञान कम्तीमा हुनुपर्‍यो। यतिको ज्ञान भएपछि राज्यको धर्म हुनुपर्छ  कि पर्दैन भन्ने ज्ञान स्वतः आफैँ हुन्छ।

राजनीतिलाई धर्मसँग जोड्ने फेसन अहिले विश्वभर छ। अमेरिका, युरोप, मध्यपूर्व, एशिया र अफ्रिकी राजनीति धर्म, रंग र जातबाट अहिले अगाडि बढिरहेको छ। झण्डै नेपालमा पनि अहिले त्यही अनुभव गरिँदैछ।  विश्वभर धर्म र जातिबाट संगठित भई उठेका राजनीतिक आन्दोलनले जनसमर्थन पनि पाइरहेका छन्। खासगरी २१ औँ शताब्दीका युवाहरु नै धार्मिक कट्टरताबाट सामाजिक, आर्थिक र राजनीतिक समस्याको समाधान खोज्न 'क्रेजी' भइरहेको अवस्था छ। यद्यपि ती युवासँग धर्मको ज्ञान न्यून छ तर कट्टरता भने बढी छ।  के नेपाल पनि त्यो अवस्थामा पुगेको हो? के अब नेपालको राजनीति पनि इश्लामको झैं मौलवी, चर्चका पादरीझैँ पशुपतिको भट्ट पुजारीले चलाउन ठीक हुन्छ? 

पश्चिममा विज्ञान र विचारले विजय प्राप्त गर्‍यो र धर्म राज्यबाट पृथक हो भन्ने मान्यता स्थापित भयो केही शताब्दीअगाडि। तर दुर्भाग्य, अहिले नेताहरु असफल भए र तिनका कारण व्यवस्था पनि असफल हुँदैछन्। यस्तो भ्याकुममा धार्मिक कट्टरताले सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक समस्याको सम्बोधन खोजिँदैछ  ती देशमा। काल मार्क्सले 'धर्म अफिम हो' त्यसै भनेका होइनन्। धर्मका नाममा कुनै पनि बेला विज्ञान र विचारमाथि कब्जा गर्न सक्छ भनी उनले बेलैमा सतर्क गराएकामात्र होलान्। 

कुनै धर्म आफैँभित्रको कट्टरताले समाप्त हुन्छ भने कुनै धर्म आफैँभित्रको निष्त्रि्कयताले निभ्छ। इश्लाम धर्म आफैँभित्रको कट्टरता र द्वन्द्वले गर्दा मासिन्छ भनी इतिहासकारहरु अनुमान गर्छन्। यस्तै अनुमान धेरै शताब्दीअगाडि बौद्ध धर्मबारे पनि गरिएको थियो। बौद्ध धर्म आफैँभित्रको अन्तरद्वन्द्व र निष्त्रि्कयताले मृत हुने मानिन्थ्यो । डाँडा र पाखाहरुमा तुल र धूप बालेर बसेको बौद्ध धर्मलाई नेपाल र भारतमा अहिले देख्दा यो सत्य प्रमाणित भएको देखिन्छ। बौद्ध गुम्बाहरुमा सीमित यसको सक्रियता पश्चिमा सेलिवे्रटीहरुका लागिमात्र आकर्षक हुँदै गएको छ। कुनै पनि सभ्यता र धर्म नष्ट गर्नु छ भने त्यहाँ सेलिव्रेटीको आकर्षण होस् भन्ने कामना गर्नु भनी समाजशास्त्री भन्छन्। यस अर्थमा हिन्दु धर्म मासिने धर्म होइन, यसमा सेलिव्रेटीको खासै आकर्षण छैन। अझ सनातन धर्म त धेरै उचाइको छ। 

हिन्दु धर्मलाई सनातन धर्म पनि भनिन्छ। यो धर्मले अन्य धर्मबाट प्रहार खेप्यो र आफैँभित्रको विसंगतिलाई बडो सुस्त गतिमा सुधार पनि गर्दै गयो र अझै एक अरब आफ्ना समर्थक अंगालेर बसेको छ। यो धर्म तलवार वा बन्दुक बोकेर आर्यावर्तबाट कहिले पनि बाहिर जान रुचाएन। आफ्नै भूमिमा पनि यो धर्ममाथि बौद्धमार्गीले, इश्लामले र क्रिश्चियनले आक्रमण गरे तर पनि नष्ट पार्न सकेनन्। किनकि यी प्रतिस्पर्धी धर्मवादी र आततायीहरुको आक्रमणबाट पनि यो धर्म र सभ्यता नष्ट हुन सकेनन्।  यत्रो विपरित समय र परिस्थितिमा पनि जुधेर अगाडि बढेको हिन्दु धर्म बुझ्ने सामर्थ्य भएको भए नेपाली कांग्रेसका नेताहरुले हामी जोगाउँछौं भनी कराइरहनु पर्दैनथ्यो।

भारतबाट आश्रवस्थलको खोजीमा आएको हिन्दु धर्मले नेपालको पहाड र कन्दरामा आफ्नो नयाँ स्वरूप र चरित्र विकसित गर्न सक्यो। उदार, खुला र लोकतान्त्रिक चरित्र भयो नेपालमा हिन्दु धर्मको। बिपीले नेपाली जनतालाई यही बुझाउन नेपाल हिन्दु राष्ट्र भन्नु झेलीमात्र हो भन्नुभयो। एकथरीलाई लाग्न सक्छ, नेपालको राजनीति नैतिकरूपले धेरै नै तल झर्‍यो तसर्थ धार्मिक राज्य हुँदा नैतिकरूपले देशलाई माथि उठाउन सकिन्छ भन्ने। यस्तो दृष्टिकोण राख्नेलाई अन्यथा भन्न मिल्दैन तर भन्ने पात्र कस्ता छन् भनी समाजमा सहज प्रश्न उठ्न सक्छ। यस अर्थमा हिन्दु धर्मलाई यसका विरोधी भन्दा पनि कट्टर समर्थकहरुबाट भविष्यमा खतरा आउन सक्छ।

नेपाली समाज सांस्कृतिक र नैतिक दृष्टिकोणले 'कोलाप्स' को अवस्थामा छ। यो सत्य कुरा हो। यसको कारण नेपाली राजनीति हो। समाजको सांस्कृतिक र नैतिक अवस्था माथि उठाउन सनातन धर्म राजधर्म हुनुपर्छ भन्ने पवित्र सोचलाई त्यस अर्थमा खराब भन्न सकिन्न। राजनीतिकरूपले नयाँ ढंगको नैतिक राज्य नेपालमा कसरी निर्माण गर्ने? यो चिन्तन र बहसको विषय हुनसक्छ। अर्को अर्थमा नेपालको राजनीतिमा नैतिकताको अंश केही भए पनि कसरी स्थापित गराउने? के त्यो बाटो धर्मराज्यबाट मात्र सम्भव हो?

हिन्दु धर्मले व्यक्तिलाई महत्व दिँदैन। व्यक्तिको कर्म हिसाबकिताब गर्छ। असल कर्म गर अनि जन्म र मृत्युको चक्रबाट मोक्ष प्राप्त गर्नेछौ भन्छ। संसार मायाँ हो।  यहाँ दुःख छ, यसबाट मुक्ति पाउन आफ्नो आत्मालाई परमात्मासँग जोड्ने कर्म गर, यही हो सनातन हिन्दु धर्म भन्छ।। मनुष्यको एकमात्र ध्येय मोक्ष प्राप्त गर्नु हो भनी सनातन हिन्दु धर्मले किटान गरेको छ। अब हिन्दु धर्मका नेपाली अनुयायीहरुसँग माथिका विचार कत्तिको मिल्छ? अझ नेपालको संसद्मा सुविधा र भोगमाथि सांसदहरुको जुन गिद्धे दृष्टि छ त्यसलाई रोक्न यी हिन्दु राष्ट्र हुनुपर्छ भन्नेहरुले के अभियान चलाए?

सनातन हिन्दु धर्म भन्छ, प्रत्येक व्यक्तिभित्र परमात्माको अंश हुन्छ। जो न कहिले मर्छ न नास हुन्छ जसलाई हामी आत्मा भन्छौँ। आत्मा प्रकृतिसँग अर्थात मायाँसँग मिल्छ र जीवन–मृत्युको चक्रमा निरन्तर फस्छ। यही फसेको आत्मालाई परमात्मासँग जोड्ने माध्यम असल कर्म हो, योग हो। आत्मा तबसम्म प्रकृतिमा कष्ट र यातना पाइरहन्छ जबसम्म मोक्ष प्राप्त गर्दैन। प्रकृति अर्थात मायाँबाट मुक्त हुन असल कर्म गर्नुपर्छ। नेपाल हिन्दु राष्ट्र बन्छ यदि यसका अभियन्ता मायाँ र भोगबाट मुक्त भई राजनीतिमा असल कर्म गर्न थाल्छन् भने। यही हो हिन्दु धर्मको केन्द्रीय दर्शन। हिन्दु धर्मका अनेकन् भगवानका इमेज, पूजापाठ, कर्मकाण्ड, यज्ञ र उपासना सबै यही केन्द्रीय दर्शनबाट निर्देशित छ। 

अब नेपालका राजनीतिज्ञहरुले सनातन हिन्दु धर्मको रक्षा गर्न पनि असल कर्म गर्नुबाहेक अरु के विकल्प छ? सनातन हिन्दु धर्मको वैचारिक यात्रालाई दूषित र कुण्ठित होइन, शुद्ध र पवित्र पार्ने कर्म नेताहरुबाट होस्, अझ खासगरी नयाँ जीवन पाएका कांग्रेस महामन्त्रीले नै त्यसको अभियान सुरु गरुन्, नेपाली समाज धन्य हुनेछ। 

प्रकाशित: २८ असार २०७३ ०७:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App