८ वैशाख २०८१ शनिबार
अर्थ

भारतमा लोकप्रिय नेपाली कत्थाको निर्यात स्वात्तै घट्यो

काठमाडौं- भारतीय पान पारखीको रोजाइमा पर्ने नेपाली कत्थाको उत्पादन निराशाजनक अवस्थामा पुगेको छ। नेपालबाट भारतमा बर्सेनि करोडौं रुपैयाँको निर्यात हुँदै आएको कत्था पछिल्ला वर्षमा भने घट्दै गएको छ।

सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्षमा नेपालबाट झन्डै २४ करोड रुपैयाँको कत्था भारत निर्यात भएको छ। अघिल्लो आर्थिक वर्षमा भने यसको निर्यात ५६ करोडभन्दा धेरैको छ।

अघिल्लो आर्थिक वर्षमा ५६ करोडभन्दा धेरैको निर्यात भएको कत्था गत वर्ष जम्मा २४ करोडको मात्र।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार गत आर्थिक वर्ष ०७२/७३ मा नेपालबाट विभिन्न शीर्षकमा २३ करोड ८६ लाख ५२ हजार रुपैयाँभन्दा धेरैको कत्था निर्यात भएको थियो। तयारी, अर्धतयारी, तरल कत्था लगायत विभिन्न प्रकारमा भारतमा कत्था निर्यात भएको हो।

नेपालको स्थानीय उत्पादन कत्था भारतको बजारमा निर्यात हुँदै आएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्णराज बजगाईंले बताए। 'नेपालबाट पान मसलाको रुपमा प्रयोग गरिने कत्था भारतमा निर्यात हँुदै आएको छ,' बजगाईंले भने, 'तथ्यांक हेर्ने हो भने निर्यातको अवस्था भने घट्दै गएको छ।'

कत्था भनेको खयर नामको बिरुवाबाट बन्ने एक प्रकारको पान मसला हो। जसलाई पान, गुट्खा, पान मसला जस्ता मसलाहरूमा प्रयोग गरिन्छ। भारतमा लोकप्रिय पानमा प्रयोग गर्न नेपालबाट बर्सेनि करोडौं रुपैयाँको कत्था निर्यात हुँदै आएको बजगाईंको भनाइ छ।

भारतमा निकै मन पराइएको नेपाली कत्थाको निर्यात गत आर्थिक वर्षमा निकै घटेको छ। तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्ष ०७१/७२ मा नेपालबाट विभिन्न शीर्षकमा ५६ करोडभन्दा धेरैको कत्था निर्यात भएको थियो। खयर बिरुवाको फँडानी, कच्चा पदार्थको अभाव र अन्य विभिन्न कारणले उद्योग बन्द हुँदा कत्थाको निर्यात घट्दै गएको हो।

नेपालबाट कत्था, 'अनफिनिस्ड खयर कत्था', 'लिक्विड कत्था' र खयर कत्था शीर्षकमा भारतमा निर्यात भइरहेको छ। यीमध्ये सबैभन्दा धेरै कत्था शीर्षकमा निर्यात भएको छ। त्यसपछि खयर कत्था, लिक्विड कत्था र अनिफिनिस्ड खयर कत्था निर्यात भएको तथ्यांकमा उल्लेख छ।

केन्द्रको तथ्यांक अनुसार गत वर्ष दुई लाख ६२ हजार सात सय १० किलो कत्था १६ करोड ६९ लाख ६१ हजार रुपैयाँको निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको भन्दा झन्डै ३७ करोड ४६ लाखले कमी हो। तथ्यांक अनुसार आर्थिक वर्ष ०७१/७२ मा ५४ करोड एक लाख ५० हजार रुपैयाँ बराबरको कत्था निर्यात भएको थियो। त्यसैगरी, आर्थिक वर्ष ०७०/७१ मा ४८ करोड ७४ लाख ६३ हजारको मात्र निकासी भएको देखिन्छ।

मुलुकबाट भारतमा निर्यात हुने खयर कत्था पनि हरेक वर्ष घट्दै गएको छ। आर्थिक वर्ष ०६८/६९ मा देशबाट ८५ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको निकासी भएको खयर कत्था ०६९/७० मा आउँदा ६१ करोड ४ लाख १९ हजारमा झरेको थियो। गत आर्थिक वर्षमा भने यसको निर्यात निराशाजनक अवस्थामा पुगेको छ। केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार गत आर्थिक वर्षमा खयर कत्था जम्मा ६ करोड १५ लाख ९१ हजार रुपैयाँको मात्र निर्यात भएको छ।

गत आर्थिक वर्षमा 'अनफिनिस्ड खयर कत्था' शीर्षकमा ५० लाख रुपैयाँको निर्यात भएको छ। जबकि यही शीर्षकमा आर्थिक वर्ष ०६८/६९ मा पाँच करोड आठ लाख ८० हजार रुपैयाँको निकासी भएको थियो। आर्थिक वर्ष ०६९/७० मा यो तीन करोड १९ लाख ४५ हजार रुपैयाँको मात्रै निकासी भएको थियो। त्यसैगरी, आर्थिक वर्ष ०७०/७१ मा स्वात्तै घटेर जम्मा ४१ लाख ५३ हजार रुपैयाँको मात्र निर्यात भएको तथ्यांकमा उल्लेख छ।

नेपालबाट निर्यात हुने अर्को प्रकारको कत्था 'लिक्विड कत्था' हो। यसको निर्यात पनि अरुको जस्तै निराशाजनक अवस्थामा पुगेको तथ्यांकले देखाउँछ। गत आर्थिक वर्षको तथ्यांक अुनसार मुलुकबाट ५१ लाख २७ हजार बराबरको लिक्विड कत्था निर्यात भएको छ। यसको निर्यात ०७१/७२ मा एक करोड ९३ लाख ३४ हजार र ०७०/७१ मा ११ करोड ३२ लाख ९१ हजार रुपैयाँको निर्यात भएको तथ्यांकमा उल्लेख छ।

हरेक वर्ष कत्था उत्पादनलाई चाहिने कच्चा पदार्थको अभावले निर्यातलाई असर गरेको छ। पछिल्लो एक दशकको अवधिमा कत्था उत्पादन गर्ने केही उद्योग बन्द भइसकेका छन्। केही पूर्ण सञ्चालन हुन सकेका छैनन्। माओवादी द्वन्द्वका कारण धेरै उद्योग बन्द हुन पुगेका थिए। कत्था उत्पादनको लागि खयर बिरुवा आवश्यक पर्छ। खयर बिरुवा नै फँडानी भएको कारण कच्चा पदार्थ अभाव भएको व्यवसायीको भनाइ छ।   

प्रकाशित: १७ चैत्र २०७३ ०५:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App