७ वैशाख २०८१ शुक्रबार
खेल

विश्वकप आफैँ गर्ने तयारीमा फिफा

मस्को– विश्व फुटबलको सर्वोच्च निकाय फिफाकी महासचिव फातमा सामौराले २०२६ देखि विश्वकप आयोजनाको जिम्मेवारीबाट स्थानीय आयोजक कमिटीलाई मुक्त गर्दै सबै काम फिफाले सम्हाल्ने बताएकी छिन्।

‘२०२६ को विश्वकप हामी आफैँ आयोजना गर्नेछौं,’ रूसको भेदोमोस्टी आर्थिक दैनिकमा बुधबार छापिएको अन्तर्वार्तामा सामौराले भनेकी छिन् । अहिले जुन देशमा विश्वकप हुने हो, त्यहाँको स्थानीय कमिटीले विश्वकप आयोजना गर्नुपर्ने व्यवस्था २०१८ देखि २०२२ को बीचमा परिवर्तन गरिने उनले बताइन् । उनका अनुसार आगामी दुई संस्करण भने पुरानै तरिकामा हुनेछन्।

‘हामी यो महंगो र कठिन आयोजना तरिकालाई धेरै तन्काउन चाहन्नौं । हामी आफैँ एउटा स्थायी व्यावसायिक टिम बनाएर सबै प्रतियोगिता आयोजना, स्थानीय व्यवस्थापनलगायतका सबै काम गर्न चाहन्छौं,’ उनले भनिन् ।

स्थानीय आयोजक कमिटीलाई नै सबै जिम्मेवारी थोपर्दा विगतमा पूर्वाधार निर्माणलगायतका काममा ढिलाइ भएको प्रसंग कोट्याउँदै सामौराले विश्वकपको टिकट बिक्री पनि फिफा आफैँले गर्ने विषयमा सोचिरहेको बताइन् ।

विश्वकपको आगामी संस्करण रूसले २०१८ मा मस्को, सेन्ट पिट्सबर्ग र सोचीलगायतका ११ सहरमा गर्नेछ भने त्यसको चार वर्षपछिको संस्करण कतारले गर्नेछ ।
 

प्रकाशित: १७ चैत्र २०७३ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App