८ वैशाख २०८१ शनिबार
विचार

ओलीको मिथ्याकलन र नयाँ शक्ति

जैनेन्द्र जीवन

गत जेठ ३० गते 'नयाँ शक्ति नेपाल' (नशने) दलको उदघाटन समारोहमा मन्तव्य दिँदै प्रधान मन्त्री केपी शर्मा ओलीले सो पार्टीले आफ्नोबाहेक अरु दललाई धक्का दिने कुरा बताए। उन्को आशय र सम्भवतः इच्छा पनि नयाँ दलले आफ्नो प्रतिस्पर्धी दल नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता/कार्यकर्ताको ठूलै पंक्ति आफूमा लैजानेछ/लैजाओस् भन्ने थियो। सांगठनिकरूपले चुस्त भएकै कारण अरुभन्दा आफ्नो दल मजबूत र अविभाज्य छ भन्ने मनोगत आकलन पनि प्रतिबिम्बित हुन्थ्योे स्पष्टवक्ता ओलीको सो अभिव्यक्तिमा। हो, पहिले जत्तिको नभए पनि एमाले अरु दलभन्दा संगठित र चुस्त छ आज पनि, तर त्यसै कारणबाट मजबुत र अविभाज्यचाहिँ छैन। कुनै बेला कठोर अनुशासनका लागि कहलिएको सो दल २०५४ सालमा एकफेर उर्ध्व विभाजन भइसकेको त हुँदै हो, शीर्ष नेताहरुका झगडा र गुटबन्दीले आज पनि फुटेकै बराबर छ। प्रजातन्त्रोत्तर नेपालका सबै दल टुटफुटको शृंखलाबाट गुजि्रएका छन्। वैचारिक भिन्नता, नेतृत्व खासगरी शीर्ष नेतृत्वका सत्ता वा संगठन हत्याउने स्वार्थ, महत्वाकांक्षा र अहंका टक्कर, जसको असर तल्लो तहसम्म पुग्छ– फुटका प्रमुख कारण हुन्। दस वर्षयता भने जातीय/क्षेत्रीय दलहरुको उदयका कारणले पनि प्रमुख दलहरु चोइटिएका, कमजोर बनेका छन् नफुटे पनि। लोकतन्त्र र दल दुवै परिपक्व भइनसकेको स्थिति, त्यसमा पनि लम्बिएको र अन्योलमय बनेको हाम्रो जस्तो संक्रमण कालमा यो स्थिति स्वाभाविकै भए तापनि नेपाली कांग्रेस, नेकपा एमाले जस्ता ठूला दलचाहिँ फुटेपछि पुनः एक भएका पनि छन्। सैद्धान्तिक आधार र चुनावी 'कन्स्टिच्युएन्सी' एउटै भएका उनीहरु दुवैथरीले फुटको परिणामस्वरूप चुनावी पराजय भोग्नुपरेको, दुवै कमजोर बनेका, नेतृत्वले हण्डर खाएका र कार्यकर्ता निराश बनेका हुँदा पुनर्एकता खाँचो परेको हो। यद्यपि त्यसपछि पनि फुटकालीन विभाजनको केही धङधङीदेखि नयाँ नयाँ गुटबन्दी देखापर्न भने छाडेका छैनन्।

पछिल्लो चरणमा आएर धेरै टुक्रा भएको तर केही वर्षअघि एकफेर सबभन्दा ठूलो दल बनेको माओवादीमा भने एकता भए पनि कांग्रेस–एमालेको स्तरको एकता हुन सकेको छैन। मूलतः द्वन्द्वकालमा आफूहरुले गरेका फौजदारी अपराधलाई लिएर प्रचलित कानुनअनुसार कडा कारबाही नहोस् र सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै अर्थात सजाय नहुने गरी वा कम हुने गरी, तिनको टुंगो लागोस् भनेर दबाब दिने प्रयोजनले उनीहरुमध्येका केही घटक भर्खरै एक भएका छन्। सबभन्दा ठूलो घटक एमाओवादीको अगुवाइमा एकता भएपछि बनेको दल माओवादी केन्द्रमा दुई दल (विप्लब माओवादी र वैद्य माओवादी) भने समावेश हुन मानेनन्, वैचारिक भिन्नताका कारण देखाउँदै। एउटा भंगालो त नशने स्वयं भइहाल्यो। कुनै चमत्कार भएमाबाहेक जसको अब माओवादी केन्द्रसँग पुनर्एकता हुने सम्भावना छैन। नशनेको केन्द्रीय तहमा केही सीमित गैरमाओवादीहरु रहे पनि स्थानीय तहलगायत पूरै दलमा पूर्व एमाओवादी कार्यकर्ताकै वर्चस्व छ। यसैले पनि वैद्य वा विप्लव माओवादी जस्ता उग्रवामपन्थी दलका पंक्तिलाई तान्न नसके पनि नशनेले माओवादी मोर्चाबाट भने भविष्यमा थोरै भए पनि कार्यकर्ता तानिरहन सक्ने सम्भावना नकार्न सकिन्न। नशनेले त्यसरी कार्यकर्ता आफूतिर तान्ने भनेको मूलतः वैचारिक विसर्जन/विचलनको पथमा रहेका कम्युनिस्ट नामधारी दलहरुबाटै हो। अतः एमाले मात्र त्यसबाट अछुतो रहन सक्दैन जसको चर्चा हामी तल गर्नेछौँ।

नशने गठनपछाडिका 'डाइनामिक्स' (जस्तै– त्यसका संयोजक/नेता बाबुराम भट्टराईलाई कहिल्यै दलको सर्वोच्च नेता बन्न नदिने माओवादीका आजीवन सर्वशक्तिमान नेता प्रचण्डको खेल वा दिल्लीमा आम आदमी पार्टीको चामत्कारिक उदयबाट मिलेको प्रेरणा आदि) जेसुकै भए पनि उसले अरु कुनै कम्युुनिस्ट दलले आजसम्म गर्न नसकेको काम गरेकै हो। सर्वहाराको अधिनायकत्वको लक्ष्य लिएर एक दलीय कम्युनिस्ट सत्ता स्थापना गर्ने भन्दै १० वर्षसम्म चलेको क्रूर हिंसात्मक विद्रोहको पनि वैचारिक अगुवाइ गरेको सो घटकले आफूलाई कम्युनिस्ट, मार्क्सवादी आदि केही नभनी 'वाम लोकतान्त्रिक दल' मा सफलपूर्वक रूपान्तरण गर्नु सानो कुरा होइन। त्यो काम एमालेले आजसम्म गर्न सकेको छैन। बाबुराम र उनका अनुयायीहरुमा कमसेकम एउटा कुराको त इमान्दारी र स्पष्टता देखियो, त्यो के भने जुन 'ब्रान्ड' (कम्युनिस्ट नामको) आजको दुनियामा चल्दैन त्यो ब्रान्ड झुण्ड्याइराख्ने अथवा जुन सिद्धान्त/विचार लागु गर्नु नै छैन वा लागु गर्न सम्भवै छैन त्यो सिद्धान्त रटिरहने काम छैन। उनीहरुले आफ्नो 'फोकस' तीव्र आर्थिक विकासमा हुने बताएका छन्। समुन्नत समाजवाद भन्ने शब्द प्रयोग गरेका छन् आफ्नो अर्थराजनीतिक दिशा स्पष्ट पार्न। जसले आजसम्मका काल्पनिक समाजवाद, गरिबीमात्र बाँड्ने समाजवादहरुभन्दा भिन्न समाजवादको अर्थ बुझाउँछ। तीव्र आर्थिक विकास गरेपछि (जुन पुँजीवादी अर्थनीति नअपनाइ सम्भवै छैन) उच्चस्तरको सामाजिक सुरक्षा व्यवस्था गर्छु भन्नु त राम्रै कुरा हो। आजको संसारमा यो सवालमा कसैको विमति, विवाद छँदै छैन। केवल सामाजिक सुरक्षाको व्यवस्था गर्दा उत्पादक शक्तिहरुलाई कसरी हतोत्साही वा शिथिल नबनाइ गर्ने भन्ने 'मोडालिटी' मा देश र दलबीच मात्रात्मक अन्तर र विमति छ।

एमालेको कुरा गर्नुपर्दा, त्यसका स्व. नेता मदन भण्डारीमा प्रचण्डको जस्तो 'करिश्मा' र बाबुरामको जस्तो अन्तर्दृष्टि दुवै थियो। त्यसैले उनले परम्परागत साम्यवादी स्कुलिङबाट जन्मे/हुर्केको दल एमालेलाई केही समयपछि लोकतान्त्रिक समाजवादी दलमा रूपान्तरित गर्ने ध्येयको साम्यवादी प्रयोगको नयाँ व्याख्या प्रतिपादन गर्न सकेेका थिए, जनताको बहुदलीय जनवाद (जबज) नाम दिएर। उनले त्यस बखत त्यो काम गरेका थिए जुन बखत विश्वबाट साम्यवाद सदाका लागि समाप्त हुँदै गरेको तर नेपालमा भने भर्खरै सशक्तरूपमा स्थापित हुँदै गरेको अवस्था थियो। यस्तो विडम्बना र चुनौतीपूर्ण अवस्थामा प्रतिपादन गर्नुपरेको त्यो व्याख्या केही अस्पष्ट र अपूरो जरुर थियो। त्यसो किनकि आत्मविश्वास र पार्टी पंक्तिउपर आफ्नो दरो नियन्त्रण भए तापनि पार्टी पंक्तिलाई जबज स्वीकार्य नहोला कि, अझ विद्रोह पो होला कि भन्ने भय उनमा पनि थियो। एमालेमा रहेको 'क्रान्तिकारी' धार जति पार्टी विभाजनपछि फुटेको दल मालेमा गएको र एमालेको 'व्यावहारिक राजनीति' र 'सैद्धान्तिक विचलन' बाट असन्तुष्ट त्यो धारका नेता/कार्यकर्ता एक एक गरेर माओवादीमा गएकै हुन्। त्यसैलेे सुरुमै सम्पूर्णतामा प्रस्तुत नगरी परीक्षणबाट सिक्दै, समयक्रममा जबजलाई अपडेट, परिमार्जन र स्पष्ट गर्दै लाने र एवं रीतले एमालेलाई अन्ततोगत्वा सामाजिक लोकतान्त्रिक दल बनाउने योजना थियो उनको। तर पार्टीको पाँचौं महाधिवेशन २०४९ बाट जबजलाई पार्टीको कार्यदिशाका रूपमा पारित गराएको एक वर्षमै भएको उनको असामयिक मृत्युपछि त्यो काम अधुरै रह्यो। किनकि उनी जत्तिको कल्पनाशील, आत्मविश्वासयुक्त र पार्टी पंक्तिउपर नियन्त्रण भएका नेता एमालेमा भएनन् त्यो काम गर्न। कुनै जमानाको कहलिएको 'ब्रेक थ्रु' जबज अब त त्यसै पनि म्याद गुज्रेको औषधि भइसक्यो। आमनेपाली जनतालाई जबजमा कुनै दिलचस्पी छैन।

सैद्धान्तिक सुधारका कुरामा नशनेले यसरी एमालेलाई पछाडि पारेकैले अरु दलबाट भन्दा बरु एमालेबाटै नशनेमा कार्यकर्ता आउन सक्ने सम्भावना छ। हो, आजका मितिमा त्यो स्थिति बिल्कुलै छैन तर एमालेमा वैचारिक आकर्षण रहेर, बढेर कार्यकर्ता त्यहाँ टाँस्सिएर बसेका होइनन्। सत्ता संरचनामा एमालेको 'नेटवर्किङ' अरु कुनै पनि दलको भन्दा दरो छ, बारम्बार सत्तामा गइरहने पार्टी हो, चुस्त संगठन भएको, सबभन्दा धेरै गैसस चलाइआएको र व्यापार व्यवसाय गरिआएको पार्टी हो भनेर हो। त्यतिमात्र होइन, आफ्ना कार्यकर्तालाई, चाहे ती अपराध जगतका डन नै किन नहुन्, अत्यधिक संरक्षण गर्ने पार्टी पनि हो एमाले े। एउटा 'कम्युनिस्ट' पार्टीका बारेमा भन्दा, सुन्दा अचम्म लागे पनि सत्य यही हो। नशनेले काम कस्तो गर्ला थाहा छैन तर वाचा त कमसेकम स्वच्छ राजनीतिको गरेको छ। यस्तोमा, एमालेमा कार्यकर्ता अड्ने भनेको अवसर/संरक्षणका लागि हो, विचारका लागि होइन। जुन त्यसै पनि नाममा मात्र बाँकी छ, विश्वास, आचरण र व्यवहारमा बाँकी नरहेको त दशकौं भइसक्यो तर यस्तो स्थिति सधैँ रहिरहने छैन। अवसर नपाउने वा अरुको तुलनामा कम पाउने, पाएको ठान्नेहरु छाडेर जाने नै छन्। किनकि जत्तिसुकै चुस्त र सक्षम दलले पनि सबैलाई अवसर, त्यो पनि सधैँ र उत्तिकै त दिनै सक्दैन। त्यस्तै, पार्टीको कम्युनिस्ट नाम फेरेर अब यसलाई सामाजिक प्रजातान्त्रिक पार्टी बनाउँ भन्ने जमात पनि नशने केही बलियो भइआएको खण्डमा त्यसतर्फ आकर्षित हुन सक्नेछ।

अनि ओलीले संकेत, आकलन वा चाहना गरेजस्तो कांग्रेसबाट नशनेमा जाने त झनै सम्भावना छैन किनकि जतिसुकै कमजोरी भए पनि, कार्यकर्ताका मूल्यांकन, कदर केही नभए पनि कांग्रेसको नाम र इतिहास भिन्न छ। त्यो छाडेर ३० वर्षसम्मन पञ्चायतमा त नगएका कार्यकर्ता पंक्ति नशनेमा जाने छैनन्। कांग्रेसीहरुको 'स्कुलिङ' या छँंदै छैन या भिन्न छ। वर्गीय र व्यक्तिगत चरित्र एवं आचरण भिन्न छ। सामाजिक बनोट/मनोविज्ञान भिन्न छ। दलको संरचना र 'ओरिएन्टेसन' भिन्न छ। यी भिन्नताले गर्दा उनीहरु नशनेमा जान सक्ने छैनन्। असन्तुष्टिका बाबजुद जातिवादी दलमा जान नसक्ने महेश कर्मोचा नशनेमा जानु र मधेसी क्षेत्रीयतावादी दलमा जान नसक्ने सुरेन्द्र चौधरीले नशनेको उद्घाटन सत्रमा उपस्थित भई बोल्नु (उनी गइसकेका समाचार आएको छैन) अपवाद हो, कांग्रेसको धार होइन।

नशनेको सबभन्दा कमजोर पक्ष भनेको त्यस 'वान म्यान' दलका सर्वेसर्वा बाबुराम भट्टराई कल्पनाशीलता, प्राज्ञिक अब्बलता, अन्तदर्ृृष्टि, विकास र अर्थराजनीतिको सुझबुझ, 'पपुलिस्ट' हत्कण्डा जस्ता गुणका जति धनी छन् त्यति सांगठनिक नेतृत्वको गुणका धनी छैनन्। जुन कमीका कारण नै उनी माओवादीमा सधैँ प्रचण्डको सहायकका रूपमा बसिरहन बाध्य थिए। यी पंक्ति लेखिरहँदा (असार २६ गते) उनीहरु दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछन् तर संगठन शक्ति, संगठन कौशलमा सुधार नगरिकन त चुनाव जितिँदैन। चुनाव नजितीकन सरकारमा गइँदैन। सरकारमा नगइकन विकास गर्न सकिँदैन भने यस्तोमा कसरी गर्नेछन् त उनले आफ्नो आर्थिक विकासको नारा पूरा? यक्ष प्रश्न यो छ। त्यस्तै, उनको हिंसात्मक विद्रोहको अतीत र त्यसबापत पश्चाताप गर्न इन्कार गर्ने हठले पनि नशनेलाई एउटा गैरसाम्यवादी र विकासकेन्द्रित दलका रूपमा स्थापित र स्वीकार्य हुन कठिन हुनेछ, खासगरी मध्यम वर्गमाझ। भोटब्यांकको लोभमा विनाशकारी पहिचानको राजनीतिप्रतिको समर्थन उनको अर्को गम्भीर भूल हो जसलाई धेरैले रुचाएका छैनन्।

यी सब कमजोरीका बाबजुद उनले केचाहिँ सही बुझे भने अब साम्यवाद, मार्क्सवाद, माओवाद, वर्ग संघर्ष, वर्ग विहीनता जस्ता सपना वा नाराबाट मान्छेलाई लोभ्याउन सकिन्न। जसरी हिजो लोभ्याइएको थियो, गरिबी, बेरोजगारी, सामाजिक राजनीतिक विभेद, कुशासनले पीडित मानिसको ठूलो समूहलाई। अझ कैंयौं वर्षदेखि माओवादीका सक्कली रूप देखेका र तिनले बाँडेका सपनाका वास्तविकता बुझेका जनता त माओवादी नामको कुनै पनि संगठनप्रति अब कहिल्यै आकर्षित हुने छैनन्। त्यो बुझेकैले उनले नशने गठनको 'बोल्ड' निर्णय गरेका हुन्। कम्युनिस्ट क्रान्तिकारिताबाट आर्थिक विकास र लोकतन्त्रको लक्ष्यमा पुग्न नसकिने रहेछ भन्ने बुझेपछि आफ्नो समयमा त्यस्तै प्रयोग गर्न जबज नामको पहिलो पाइला चालेेका थिए मदन भण्डारीले। उनको विरासत बोकेको दाबी गर्ने केपी ओली भने नशनेले एमालेबाहेक अरुलाई धक्का दिन्छ भन्ने आत्मरतिमै मस्त छन् यतिखेर।

प्रकाशित: २८ असार २०७३ ०७:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App