१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

मगरको अग्रता कायम

काठमाडौं– रामे मगरले रोयल नेपाल गल्फ क्लबमा बुधबार ३ ओभर ७१ स्कोर गरे पनि सूर्य नेपाल काठमाडौं ओपन गल्फ प्रतियोगिताको दोस्रो दिनसम्म अग्रता कायम राखेका छन्।

पहिलो दिन ७ अन्डर ६१ खेलेका रामे बुधबार ३६ होलको समाप्तिमा ४ अन्डर १ सय ३२ स्कोरका साथ निकट प्रतिद्वन्द्वी सूर्यप्रसाद शर्माभन्दा दुई स्ट्रोकले अघि छन्।

सूर्य नेपाल गल्फ टुरअन्तर्गत सिजनको पाँचौं प्रतियोगितामा सूर्यप्रसादले बुधबार ३ अन्डर ६५ खेलेका थिए । उनी २ अन्डर १ सय ३४ स्कोरका साथ दोस्रो स्थानमा छन् । बुधबार ३ ओभर ७१ खेलेका सञ्जय लामा र ५ ओभर ७३ खेलेका भुवन नगरकोटी समान २ ओभर १ सय ३८ स्कोरसहित संयुक्त रूपमा तेस्रो स्थानमा छन् ।

बुधबार दोस्रो दिन ३ ओभर ७१ खेलेका नेपाल नम्बर एक व्यावसायिक गल्फर शिवराम श्रेष्ठ समग्रमा ३ ओभर १ सय ३९ स्कोरसहित पाँचौं स्थानमा छन् । यसै गरी विकास अधिकारी (७१), धनबहादुर थापा (७१) र कृष्णमान राजवाहक (७२) समान ४ ओभर १ सय ४० स्कोरसहित संयुक्त रूपमा छैटौं स्थानमा छन् ।

२ ओभर ७० खेलेका पशुपति शर्मा, ५ ओभर ७३ खेलेका यलम्बरसिंह अधिकारी र रवि खड्का (७०) समान ६ ओभर १ सय ४२ स्कोरका साथ संयुक्त रूपमा नवौं स्थानमा छन् ।

बुधबार ३६ होलको खेल सकिँदा १७ ओभर १ सय ५३ सम्मको स्कोर गर्नेलाई कट (आगामी ३६ होलको खेलका लागि छनोट) गर्दा २२ व्यावसायिक तथा ६ एमेच्योर खेलाडीले सफलता हासिल गरे ।

एमेच्योरतर्फ वसन्तराज गुरुङले ५ ओभर ७३ खेल्दै दोस्रो दिन पनि अग्रता जोगाए । समग्रमा ८ ओभर १ सय ४४ स्कोरका साथ उनी दोस्रो स्थानका शुक्रबहादुर राईभन्दा दुई स्ट्रोकले अघि छन् । शुक्रबहादुरले बुधबार ६ ओभर ७४ खेलेका थिए । यसै गरी ३ ओभर ७१ खेलेका टंकबहादुर कार्की १२ ओभर १ सय ४८ स्कोरका साथ तेस्रो स्थानमा छन् । एमेच्योरतर्फ कटमा सफलता हासिल गर्ने अन्य खेलाडीमा फुन्सोक एन लामा, तेन्जिङ छिरिङ र विपिन तामाङ छन् ।

२९ व्यावसायिक र ११ एमेच्योर गरी कुल ४० खेलाडी सहभागी रहेको प्रतियोगिताको विजेताले ८५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताको भागमा ५८ हजार रुपैयाँ पर्नेछ । यसै गरी तेस्रो हुनेले ४५ हजार रुपैयाँ पाउनेछ । कटमा सफलता हासिल गर्ने सबै व्यावसायिक खेलाडी नगद पुरस्कारको भागीदार बन्नेछन् ।

प्रकाशित: १७ चैत्र २०७३ ०४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App