७ वैशाख २०८१ शुक्रबार
समाज

उपभोक्ताको स्वास्थ्य जोखिममा

ललितपुर- काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले चापागाउँमा वितरण गरेको पानी ट्यांकीमा जथाभावी औषधि हाल्ने गरेको पाइएको छ। चापागाउँ, सातदोबाटो र सुनाकोठी क्षेत्रका उपभोक्ताको धारामा जडान भएको पुरानो टयांकीमा बिनामापन किटाणु मार्ने औषधि (ब्लिचिङ पाउडर) प्रयोग गरेको स्थानीयले बताएका छन्।

टंयाकीबाट प्रवाह भइरहेको पानीमा औषधिको गन्ध आउन थालेपछि स्थानीयले १५ दिनअघि केयुकेएलका अधिकारीसमक्ष गुनासोसमेत राखेका थिए। तर स्थानीयको स्वास्थ्यलाई वास्तै नगरी अहिले पनि खानेपानीको ट्यांकीमा औषधि प्रयोग गर्ने गरेको चापागाउँका स्थानीय मनिष महर्जनले जानकारी दिए। 'धारा मार्फत् आउने पानीमा औषधिको गन्ध आएपछि हामीले केयूकेएलमा निवेदन पनि दिएका थियौँ,' उनले भने, 'तर केयूकेएलले औषधिप्रयोग गर्न छाडेको छैन।'  उनका अनुसार पानीलाई शुद्ध बनाउने नाममा बढी औषधिप्रयोग गरिएकाले स्थानीयमा टाउको दुख्ने र रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य सम्बन्धी समस्या देखिएका छन्।

उक्त पानी ट्याङ्कीबाट चापागाउँ, ठेचो, झरुवारासी, धापाखेल, सातदोबाटो सुनाकोठी लगायत पाटनका बासिन्दाले पानी उपभोग गर्दै आएका छन्।

पानीमा ब्लिचिङ पाउडर बढी प्रयोग गर्दा यसले स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्यकर्मी बताउँछन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. खेम कार्कीका अनुसार ब्लिचिङ पाउडर बढी भएको पानीको निरन्तर उपभोगले छाला, रुघाखोकी, जण्डिस, आँखा पाक्ने रोग लाग्ने र रगतमा समेत असर पार्न सक्छ। 'एक चिया चम्चा ब्लिचिङ पाउडर ५ ग्रामको हुन्छ,' उनले भने, क्लोरिन र ब्लिचिङ हालेको आधा घण्टापछि मात्र पानीको प्रयोग गर्दा उचित मानिन्छ।'

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसबारे मापदण्ड पनि तयार गरेको छ। जारी भएको मापदण्ड २०६२ मा पिउने पानी सुरक्षित पार्न ब्लिचिङ पाउडर प्रयोग गर्ने विधिमा हजार लिटर पानीमा २.५ ग्राम र १ लिटरमा ३ थोपा क्लोरिन र ब्लिचिङ झोल राख्नुपर्ने प्रावधान तोकिएको छ।

यता जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका ल्याब टेक्निसियन अधिकृत शंकर पौडेलले यस्तो पाउडर बढी मिसिएको पानीले झाडापखाला, आउँ, टाइफाइड, हेपाटाइटिस ए र ई (जन्डिस) जस्ता रोगहरु लाग्नसक्ने बताए। 'गर्मी महिनामा पानी प्रयोगमा संयमता अपनाउनुपर्छ,' उनले भने, 'यस्तो मौसममा सरुवा रोग बढी लाग्ने भएकोले पानी सही तरीकाले शुद्धिकरण गरेर मात्र पिउनुपर्छ।'

तर, केयूकेएलका कर्मचारीले भने छोक्रासहितको ब्लिचिङ हालेर तुरुन्तै धारा खुलाउने गरेका कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको हो।  केयूकेएलसँग खानेपानी परीक्षण गर्ने छुट्टै ल्याब पनि छ। तर कर्मचारीहरुले अनुमानका आधारमा पाउडर मिसाउने गरेका कारण मात्रा बढी भई पानी तीतो हुने चापागाउँका श्याम श्रेष्ठले जानकारी दिए।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ललितपुरका प्रमुख भुवनचन्› श्रेष्ठले खानेपानीको शुद्धता हेर्ने शाखालाई अनुगमन लागि निर्देशन दिने बताए। 'सकेसम्म जिल्लाका अधिकांश पानी ट्यांकीहरुको अनुगमन गरिरहेका हुन्छौँ,' उनले भने, ' अहिले स्थानीयबाट प्राप्त गुनासाका आधारमा विभिन्न क्षेत्रमा पनि अनुगमन थाल्नेछौँ।'

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ललितपुरका शाखा प्रमुख विश्वराज जोशीले यसबारे थप अनुगमन गर्ने र पानीमा मात्राभन्दा बढी पाउडरको प्रयोग भएको पाइएमा त्यसको मात्रा मिलाएर प्रयोग गरिने जानकारी दिए।

परीक्षणबिनै पानी बिक्री

त्यस्तै, ललितपुरको सिद्धिपुरस्थित विष्णुटोल हुँदै बग्ने गोदावरी खोलाको पानी परीक्षण र स्विकृतिबिनै बिक्रीवितरण भइरहेको स्थानीयले गुनासो गरेका छन्। खोलाको पानी थुनेर सुर्यविनायक वाटर सप्लायर्सले ३ महिनादेखि बिक्री गर्दै आएको सिद्धिपुरका स्थानीय दीपक तिमिल्सिनाले बताए। 'खोलाको पानीलाई सङ्लो बनाएर ट्याङ्करबाट बिक्रीवितरण गरिँदै आएको छ,' उनले भने, 'यसतर्फ कुनै पनि निकायले चासो दिएको छैन।’

उनका अनुसार अहिले खेालाबाट  निकालिएको पानी ललितपुर र काठमाडौंमा बिक्री हुँदै आएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय ललितपुरका प्रमुख भुवनचन्› श्रेष्ठले यसबारे बुझ्ने बताए। 'यसरी अशुद्ध पानीको व्यापार गर्नेलाई कारवाही गछौँ,' उनले भने, 'केही समयअघि यसरी पानीको व्यापार गर्ने केही व्यापारीलाई कारवाही पनि गरेका थियौँ।'

चुहेरै सकिन्छ पानी

केयूकेएलले वितरण गरेको खानेपानीको पाइप ठाउँठाउँमा फुटेर चुहिँदा दिनहुँ हजारौं लिटर पानी खेर गइरहेको ललितपुरका स्थानीयले बताएका छन्। 'फुटेका पाइपलाई मर्मतसम्भार नगर्दा दैनिक हजारौं लिटर पानी खेर गइरहेको छ,' पाटन मंगलबजारका स्थानीय सरोज शाक्यले भने, 'पाइप फुटेर धारामा पानी नआउँदा महँगो मूल्यमा पानी किन्नुपरेको छ।' उनका अनुसार पाटन लुकुसी, चक्रबहिल, सुन्धारा टोलको धारामा पानी नआएको २ वर्ष भइसकेको छ। त्यस्तै महालक्ष्मीस्थान,  धापाखेल, खुमलटार, एकान्तकुना, बुङमतीमा, चापागाँउ लगायतका स्थानमा बेलाबेलामा पानी चुहिएको स्थानीयको भनाइ छ। ललितपुरमा दैनिक ५ करोड लिटर पानीको माग भए पनि केयूकेएलले डेढ करोड लिटरभन्दा बढी वितरण गर्न सकेको छैन। यद्यपि अहिले मेलम्चीको पानीको पाइप बिछ्याउने क्रममा फुटेका पाइप मर्मत पनि भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ।

प्रकाशित: १७ चैत्र २०७३ ०३:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App