७ वैशाख २०८१ शुक्रबार
समाज

भारतीय सेनाध्यक्षलाई मानार्थ महारथी

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष बिपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरेकी छन्। राष्ट्रपति भण्डारीले रावतलाई बुधबार नेपाली सेनाको महारथीको दर्ज्यानी चिह्न, खड्ग तथा प्रमाणपत्र प्रदान गरेकी हुन्।

नेपाल–भारतबीचको सांस्कृतिक, धार्मिक एवं ऐतिहासिक सम्बन्धका साथै मित्रवत् सैनिक सम्बन्धको निरन्तरतास्वरूप दशकौंदेखि नेपाली सेनाका प्रधानसेनापतिलाई भारतीय सेनाको मानार्थ महारथी तथा भारतीय सेनाका प्रमुखलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहिआएको छ।

यस्तै बुधबार रक्षामन्त्री बालकृष्ण खाँड र जनरल रावतबीच सिंहदरबारमा भेटवार्ता भएको छ। भेटमा रक्षामन्त्री खाँडले नेपाली भूमिका भारतविरोधी गतिविधि हुन नदिने जनाएको रक्षा मन्त्रालयले जनाएको छ। भेट आपसी हितका विषयमा केन्द्रित थियो। भेटमा भारतीय राजदूत मञ्जिव सिंह पनि थिए।

सैनिक मुख्यालय जंगी अड्डामा जनरल रावतले नेपाली सेनालाई सातवटा घोडा उपहार दिएका छन्। रावतले उन्नत प्रजातिका सातवटा घोडा हस्तानान्तरण गरेका हुन्।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार स्टालिन लाइट ब्रेड प्रजातिको एउटा तथा ब्रोड मारे, गेल्ड र डंकी स्टालिन प्रजातिका दुईदुई  घोडा नेपाली सेनाले प्राप्त गरेको हो।

जंगीअड्डामा दुई देशका महारथीले भेटवार्ता गरेका थिए। भेटमा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।

प्रकाशित: १७ चैत्र २०७३ ०२:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App