७ वैशाख २०८१ शुक्रबार
अर्थ

सेयर कारोबार रकममा कीर्तिमान

काठमाडौं- सेयरबजार मापक नेप्से घटे पनि कारोबार रकमका आधारमा बुधबार कीर्तिमान कायम भएको छ। यसअघि साउनमा नेप्से कीर्तिमान १८८१.४५ बिन्दुतर्फ लागेका बेला कारोबार रकमले पनि कीर्तिमान कायम गरेको थियो।

'त्यसबेला सेयर कारोबार दुई अर्ब ३८ करोड भएर रेकर्ड तोडेको थियो', स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष अञ्जनराज पौडेलले भने, 'बुधबार उक्त रेकर्ड तोड्दै दुई अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।'

लगानीकर्ताले बजार घटेको समयमा सेयर खरिद गर्न थाल्दा कारोबार रकम बढेको ब्रोकरको भनाइ छ। 'यसअघि उच्च अंकमा पुगेका बेला सेयर बिक्री गरेर बसेका लगानीकर्ता पुनः सेयर खरिद गर्न थालेका कारण कारोबार रकम बढेको हो', पौडेलले भने, 'सेयरबजार उचाइमा पुगेका बेला सेयर बिक्री गरेर रकम जोहो गर्ने र घटेका बेला खरिद गर्न थाल्दा कारोबार रकम बढ्छ।' ओभर डाफ्ट (ओडी) कर्जा वा नगद नै लगानीकर्ताले मौजुदा रकम (ब्याकअप) राख्ने गरेको र सेयर बजार घट्दा उक्त रकमले सेयर खरिद गर्ने गरेकाले पनि कारोबार रकमले रेकर्ड कायम गरेको उनको भनाइ छ।

बैंकको ब्याज बढेका कारण साधारण बचत र कल डिपोजिटमा राखेका लगानीकर्ताले सेयर खरिद गर्न थाल्दा पनि कारोबार रकम बढेको विश्लेषक बताउँछन्।

लगानीकर्ता थप नयाँ साधारण सेयर (एफपिओ) र हकप्रद सेयरतर्फ अकार्षित हुँदा दोस्रो बजार प्रभावित भएको थियो। तर, चुक्ता पुँजी वृद्धि गर्ने समयसीमा नजिकिँदै जाँदा ठूलो रकमको एफपिओ र हकप्रद आउने क्रममा कमी आएकाले दोस्रो बजारको कारोबार बढेको पूर्वअध्यक्ष पौडेलले बताए। 'एफपिओमा लगानी गर्दा मनग्गे फाइदा हुने सम्भावना देखेर त्यता गएका लगानीकर्ताले मागेजति सेयर नपाएर दोस्रो बजारबाट किन्न थालेका कारण पनि कारोबार रकम नयाँ उचाइमा पुगेको हो', उनले भने, 'पछिल्लो समय संस्थागत लगानीकर्ताले सेयर खरिद गर्न थालेका छन्। यसले पनि कारोबार रकम बढेको हो।'

कारोबार रकमले नयाँ उचाइ छुँदा नेप्से परिसूचक भने २२.३३ विन्दुले तल झरेर १५८८.२९ विन्दुमा अडिएको छ।

कारोबार रकम नयाँ उचाइमा पुगेका बेला सूचक दोहोरो अंकले तल झर्नुलाई लगानीकर्ताहरू 'करेक्सन' भएको बताउँछन्। बुधबार सेयर बजारमा निकै उतारचढाव देखियो।

१४९ कम्पनीको ५० लाख ६१ हजार ६ सय ९९ कित्ता सेयर कारोबार भएको छ। ट्रेडिङबाहेक बाँकी सबै उपसूचक तल झरेका छन्। सबैभन्दा धेरै बिमा समूहको सूचक १५२.३२ विन्दुले झरेको छ। यसैगरी, जलविद्युत् समूहको सूचक ७३.९९ विन्दु र होटल समूहको सूचक ६६.२७ अंकले झरेका छन्। वाणिज्य बैंक समूहको सूचक पनि २०.०५ अंकले ओरालो लागेको छ। कारोबार रकममा नेपाल बंगलादेश बैंकको संस्थापक बढी भएको छ। बंगलादेश बैंकको संस्थापक सेयर ३८ करोड रुपैयाँभन्दा धेरैको किनबेच भएको छ। दोस्रो स्थानमा पनि बंगलादेश बैंककै साधारण सेयर करिब २१ करोडको कारोबार भएको छ।

प्रकाशित: १७ चैत्र २०७३ ०१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App