८ वैशाख २०८१ शनिबार
अर्थ

प्लटिङ धेरै, किनबेच कम

झापा-खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने क्रम बर्सेनि उच्च भए पनि झापामा जग्गा कारोबारमा भने पूरै गिरावट आएको छ। बैंकहरुले लगानीयोग्य रकम अभाव भएको कारण देखाउँदै कर्जा प्रवाहमा कडाइ गरेपछि  झापामा दुई महिनायता घरजग्गा कारोबार ह्वात्तै घटेको हो ।

केही महिना अघिसम्म उच्च कारोबार भइरहेको जग्गाको किनबेच फागुनयता प्रायः ठप्प छ । फागुन र चैत महिनामा घरजग्गा कारोबार घटेको जिल्ला मालपोत कार्यालयले जनाएको छ । कारोबार घटेपछि राजश्व संकलन दर पनि घटेको छ । गत वर्षको तुलनामा यस वर्ष कार्यालयको राजस्व बढेको छ । तर, यो  डेढ  महिनामा कारोबारमा धेरै कमी आएको प्रमुख मालपोत अधिकृत रोशनशंकर घिमिरेले बताए । उनका अनुसार यो महिनामा मालपोतको राजस्व नै ४० प्रतिशतभन्दा बढी घटेको छ ।

मालपोत कार्यालय तथा व्यवसायीका अनुसार पहिल्यै कारोबार सुरु भएका धेरै जमिनको रजिस्ट्रेसन पासको काम पनि यसबीचमा रोकिएको छ । जसका कारण अघिल्लो वर्षहरुको तुलनामा यसपटक कारोबार सुस्त बनेको हो । गत वर्ष २३ हजार आठ त रजिस्टे«सन पास भएको थियो । राजस्व पनि  १४ करोड ३८ लाख २४ हजार ६ सय ७५ रुपैयाँ संकलन भएको थियो । साउनयताको सात महिनामा मात्रै २५ हजार ६ सय ७९ वटा लिखत रजिस्टे«सन  पास भएको थियो । यसपटक साउनयताको अवधिमा १७ हजार ६ सय १७ वटा जग्गा मात्रै खरिद बिक्री भएको छ  ।

जग्गा कारोबार सुस्त नहुँदा दैनिक कम्तीमा एक सय ५० वटा  लिखत आउने गरेको थियो । तर, अहिले बढीमा ५० वटासम्म मात्र पास भइरहेको छ ।  बैंकबाट कर्जा प्रवाह नभएपछि बैना कारोबारमै समेत ठूलो गिरावट आइसकेको घरजग्गा व्यवसायी बताउँछन् । बैंकले ठूला कारोबारीलाई ऋण लगानी नगरेपछि  घरजग्गा कारोबारमा मन्दी आएको जग्गा व्यवसायी टहलदास ओलीले बताए । उनका अनुसार  विदेश कमाउन गएकाले पठाएको पैसाले सानोतिनो जग्गामा कारोबार भएको छ । तर, ठूला प्लटिङका घरजग्गावालालाई बैंकले लगानी नगरेकाले मन्दी आएको ओलीले जानकारी दिए । घरजग्गा कारोबारमा ४० प्रतिशत गिरावट आएको उनले दाबी गरे ।

जग्गा कारोबार रोकिँदा ठूलै पुँजी जाम भएको सम्बद्धहरु बताउँछन् । ‘बैंकिङ कारोबार नै नभएपछि  जग्गा खरिद बिक्री गर्ने कुरा भएन,’ नेपाल लेखापढी व्यवसायी एसोसिएसन इकाइ समिति भद्रपुरका सचिव महेन्द्र खतिवडाले भने ‘बैंकले लगानी रोकेपछि  कारोबार ठप्प भएको छ ।’ कारोबार घटेको प्रष्ट  संकेत जिल्ला र दमकको मालपोतको तथ्यांकले पनि देखाउँछ । मालपोत कार्यालय दमकमा  बैंकको दृष्टिबन्धकबापत पछिल्लो डेढ महिनामा १० लाख रुपैयाँ राजस्व  घटेको छ । माघ महिनामा १८ लाख ५९ हजार  रुपैयाँ राजस्व संकलन भएको दमकमा फागुनमा आठ लाख ६७ हजार नौ सय ८० रुपैयाँ मात्र उठेको मालपोत अधिकृत दयाकृष्ण ढकालले जानकारी दिए । चैत ९ गतेसम्म दुई लाख ८२ हजार एक सय रुपैयाँ मात्र राजस्व संकलन भएको छ । 

कारोबारमा गिरावट आए पनि जिल्लामा प्लटिङ धन्दा भने उही रुपमा जारी छ । तत्कालीन गर्भनर युवराज खतिवडाको कार्यकालमा नेपाल राष्ट्र बैंकले कडाइ थालेपछि थोरै मत्थर भएको खेतीयोग्य जमिन प्लटिङको क्रम अहिले फेरि उच्च भएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार पछिल्लो दशकमा मात्रै  जिल्लाको तीन हजार हेक्टरभन्दा बढी  खेतीयोग्य जमिन प्लटिङ भइसकेको छ । ‘त्यसमध्ये एक हजारभन्दा बढी हेक्टर जमिन अब पूर्णतः कंक्रिट भइसकेको छ,’ जिल्ला कृषि कार्यालयका प्राविधिक शालिकराम भट्टराईले भने, ‘बाँकी दुई हजार हेक्टरमा पनि खेतीपाती हुन अब कठिन छ ।’

खेती भइरहेको जमिनलाई खण्डिकरण गर्ने र प्लटिङका नाममा ढुंगा, बालुवा खन्याउने अनि घरसमेत निर्माण नहुने हुँदा धेरै जमिन निष्क्रिय बनेको छ । भूउपयोग नीतिले खेतीयोग्य जमिनलाई आवासीय रुपमा प्रयोग गर्न नपाइने भने पनि झापामा यो क्रम रोकिएको छैन । राष्ट्रिय भूउपयोग नीति २०६९ ले जमिनलाई कृषि, आवासीय, व्यवसायिक, औद्योगिक, वन क्षेत्र र सार्वजनिक उपयोगको क्षेत्र भनेर वर्गीकरण गरेको छ । यस्तै आवश्यकता अनुसार तोकिएका अन्य क्षेत्रसमेत भनि उल्लेख गरेको छ । तर जिल्ला र स्थानीय तहमा कार्यान्वयनको थालनी नगरिदा जमिन निष्क्रिय राखिने क्रम रोकिएको छैन । यस नीतिको कार्यान्वयनका लागि जिल्ला र स्थानीय तहमा समेत भूउपयोग नीति कार्यान्वयन समिति गठनको व्यवस्था छ । तर, जिल्ला तहमा यो ऐन कार्यान्वयन भएको छैन । न कसैले चासो नै व्यक्त गरेको छ ।

प्रकाशित: १६ चैत्र २०७३ ०४:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App