विकास र सञ्चार आवश्यकता

बुधबार, १६ चैत २०७३, ०९ : ४५ डा. कुन्दन अर्याल

न कुनै ब्यानर थियो। न अतिथि आसन र आयोजक वक्ताहरूको पट्यारलाग्दो ताँती नै लाग्यो। दुईतिर दुई पूर्वप्रधानमन्त्री राखेर केपी ओलीले विकासको डिस्कोर्स सुरु गरेको भनेर प्रशंसामात्र सुनेनन्, अब पनि के नै गरौँला भन्ने प्रकृतिको शंकासमेत सामना गरेँ। अन्त्यमा, उनको टिप्पणी थियो– राजनीति सुध्रिएला र विकास सुरु गरौँला भन्ने हुँदैन। राजनीतिमा सुधार हुँदै जाला, विकासको यात्रा अघि बढाउनुपर्छ । नेपालको आर्थिक विकासलाई गतिशील बनाउने दिशामा अहिलेका लागि थ्रेसहोल्ड संविधानको कार्यान्वयन नै हो । तर राजनीतिलाई ठीक बाटोमा हिँडाउन संविधानको पूर्ण कार्यान्वयन आवश्यक छ भनेरमात्र पुग्दैन । विकासका बहसलाई पनि गति प्रदान गर्नैपर्छ ।

भर्खरै केपी ओलीले फर्सी बुध्दिजीवी भन्ने शब्दावली प्रयोग गरेर हँसाउँदा हँसाउँदै पनि आफ्नो अन्तर्य पोखेका थिए । कदाचित उनले बुध्दिजीवीको भूमिका सम्बन्धमा प्रश्न उठाउने अभिप्रायले त्यस्तो कटाक्ष गरेका थिए । उनले बुध्दिजीवीको एउटा पंक्तिको नामाकरण गरे– फर–सी अर्थात देख्नका लागिमात्र । अव्यावहारिक र सिर्जनशीलताबेगरको बोधो । तर यही साता उनले चार–चार घण्टासम्म विकास र समृध्दिको ध्येयको चर्चा गर्दै काठमाडौंमा देशका गिनेचुनेका सयभन्दा बढी सार्वजनिक बुध्दिजीवीका धारणा सुने ।

आर्थिक विकासको मोडेल, योजना तर्जुमा र कार्यान्वयन सम्बन्धमा भएको लामो छलफलको अन्त्यमा ओलीले घडी हेरेर केवल पाँच मिनेटको मन्तव्य राखे । निचोडमा उनले नेपालको विकासका बाधकहरूमा राजनीति, अस्थिरता, आमजनताको अविकसित चेतनास्तर र बाह्य हस्तक्षेपको गणना त गरे नै । साथै उनले नेपालको आमसञ्चार माध्यमको भूमिकासमेत विकासको प्रयत्नलाई घनिभूत तुल्याउने दिशामा अपेक्षाकृत प्रभावकारी हुन नसकेको धारणा व्यक्त गरे ।

कुनै पनि देशको आर्थिक विकासका निम्ति आमसञ्चार माध्यमको भूमिका के हुन सक्छ भन्ने विषयमा बुझ्न झण्डै सात दशकयता विभिन्न प्रयोग पर्याप्त छन् । दोस्रो विश्वयुद्धलगत्तैदेखि राष्ट्रिय विकासका निम्ति आमसञ्चार माध्यमको भूमिका सम्बन्धमा अमेरिकी नेतृत्वमा बहस सुरु भएको थियो । संयुक्त राज्य अमेरिकाले विकासका निम्ति आमसञ्चारको माध्यम खासगरी टेलिभिजन प्रयोगका सम्बन्धमा हाम्रै छिमेकी भारतसम्मै आएर प्रयोग ग¥यो । दूरदर्शनले कृषिको उन्नति र विस्तारका निम्ति अभिप्रेरणा जगाउने प्रयोग ग¥यो । किसानलाई सिकाइको अवसरसँग जम्काभेट गराउने नारा त्यसबेला खुब चम्कियो।

पछि सन् साठीको दशकको अन्त्यतिर एसियाबाटै विकासका लागि पत्रकारिताको अभियान सुरु गरियो । तेस्रो विश्वका जनताको सञ्चार आवश्यकतालाई अनुभूत गर्दै विकास पत्रकारितालाई अघि बढाउनुपर्छ भन्ने अवधाणा अघि सारियो । तर जनताले विकासका ठेकेदार कहलिएका शासक वर्गले तय गरेका सन्देश एकोहोरो सुन्नुपर्छ भन्ने मान्यताले विकास पत्रकारिताको समेत बदनाम ग¥यो । विकासका लागि जिब्रो होइन, हात चलाउ भन्ने पञ्चायती शासकले समेत विकासका लागि सञ्चारको नारा अघि सारे ।

पञ्चायतले अघि सारेको विकासका लागि सञ्चार भन्ने नारा खोक्रो थियो । प्रभावकारी सञ्चार आमजनताको अभिव्यक्तिको अधिकार स्थापनाबिना सम्भव हुँदैन् । दूरदृष्टिसहितको राजनीतिक नेतृत्व, सक्षम र इमानदार विकास प्रशासक वा व्यवस्थापक अनि सचेत आमजनसमुदाय जस्ता विकासका तीन महत्वपूर्ण बाहकबीच संवाद कायम गर्न आमसञ्चार माध्यम नै चाहिन्छ । तर सबै आमसञ्चार माध्यमले त्यो महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दैनन् । अखबार, रेडियो, टेलिभिजन वा अनलाइन माध्यमका अन्तर्वस्तु नै हुन जसले जनतालाई अभिव्यक्तिको मौका प्रदान गरेका पनि हुन सक्छन्, जनताको स्वरलाई पन्छाएका पनि हुन सक्छ । त्यसैले आर्थिक विकासको चिन्ता गर्दा आमसञ्चार साधनहरूको सुसञ्चालन विषयलाई पनि आत्मसात गर्न जरुरी हुन्छ ।

विकासका कतिपय अध्येतालाई लाग्छ– आमसञ्चार आर्थिक विकासको मेरुदण्ड नै हो । कतिपयको विचारमा आर्थिक विकाससँगै आमसञ्चारका विभिन्न माध्यमको स्वतः विस्तार हुन्छ । तर कतिपयलाई लाग्छ, आमसञ्चारका माध्यमको आर्थिक विकाससँग कुनै लिनु÷दिनु छैन । तेस्रो, धारणा आजको संसारमा कमजोर भइसकेको छ । दोस्रो धारणा पछ्याउने हो भने वर्खापछि सबैतिर हरियो पलाएझैं आर्थिक विकाससँगै मूलतः विज्ञापन र प्रायोजनमा आधारित बजारमुखी पत्रकारिता मौलाउँछ । राजनीतिक तथा आर्थिक उदारीकरणसँगै विकसित हुँदै जाने पत्रकारिता सहरकेन्द्रित राजनीतिक बहसका निम्ति प्रभावकारी माध्यम हो । तर राष्ट्रिय विकासको प्रयत्नलाई सशक्त बनाउन पहिलो धारणाअनुसार सोच्ने हो आमसञ्चार माध्यमको तागतको फल आधारभूत तहका जनताबीच कसरी वितरण गर्ने भन्ने विषयमा विमर्श गर्नुपर्छ।

सञ्चार आवश्यकता गाँस, बास र कपास जत्तिकै महत्वपूर्ण मानवीय आवश्यकता हो । राष्ट्रिय समस्याहरू वा आर्थिक विकासका बाधकहरू सम्बन्धमा जति बढी मानिस जानकार हुन्छन्, समाधानका निम्ति उति बढी मानिस अग्रसर हुन्छन् । आफ्नै जीवनमा रूपान्तरण गर्ने अनि आफ्नै वरिपरिको वातावरणउपर अफ्नो नियन्त्रण बढाउने नाममा भएका सरकारी प्रयासबारे जनताले आफ्नो मत राख्नुपर्छ । आफ्नै जीवनको स्तरोन्नति गर्ने नाममा हुने गतिविधिबारे आफूले मत सबैलाई सुनाउने अधिकार जनताले पाउनुपर्छ ।  अमत्र्य सेन आममानिसका अस्वतन्त्रताका स्रोतहरूको अन्त्यलाई नै विकास ठान्छन् । उनको विचारमा आर्थिक समृध्दिले मानिसलाई स्वतन्त्रताको उपभोग गर्ने मौका दिन्छ । तर उनी राजनीतिक अधिकारको अभावलाई पनि अविकाससँग जोडेर अस्वतन्त्रताको उत्तिकै डरलाग्दो स्रोतका रूपमा व्याख्या गर्छन् । त्यसैले अबको सन्दर्भमा विकासका लागि सञ्चार भनेको आधारभूत तहका जनताले विकास माग्ने, आफ्नो विकासका बारेमा व्याख्या गर्ने र विकासका प्रशासकहरूसँग बहस गर्न मौका प्रदान गर्ने सञ्चारमाध्यम भन्ने बुझिनुपर्छ ।

तेस्रो पुस्ताको अधिकारका रूपमा परिचित विकासको अधिकार बहालीका निम्ति सञ्चारको महत्वपूर्ण भूमिका हुन्छ । आज नेपालमै पनि आमसञ्चार माध्यम राजनीतिक वा सार्वजनिक सम्वादका निम्ति अपरिहार्य औजारका रूपमा स्थापित भइसकेको छ । ठूला र सहरकेन्द्रित आमसञ्चार माध्यम देशको आर्थिक उन्नतिसँगै अझ विकसित हुँदै जानेछन् । साथै आर्थिक विकास अघि बढाउन यस्ता आमसञ्चार माध्यमले प्रभावकारी भूमिका निर्वाह गरिरहनेछन । तर विकासको फल उपभोग गर्ने जनताको संख्या बढाउन यतिले मात्र पुग्दैन । किनकि विकास यस्ता आमसञ्चार माध्यमले विस्तार गर्ने सञ्चार मानचित्रबाट बाहिर परेका दुर्गम र असहज ठाउँका अल्पसाक्षर वा निरक्षर अनि क्रयशक्ति कम भएका आधारभूत तहका जनताका निम्ति चाहिएको छ । आफ्ना सञ्चार आवश्यकता पूरा गर्न नपाएका जनताले विकासको फल पनि उपभोग गर्न सक्दैनन् । साना र स्थानीय स्तरका मूलधारका वैकल्पिक अखबार, रेडियो वा टेलिभिजनले आममानिसका सञ्चार आवश्यकता पूरा गर्न सक्छन् । त्यसैले आधारभूत तहका जनताको वाणी अभिव्यक्त गर्न मूलतः उपभोक्तावादी संस्कृतिको बाहक बन्न बाध्य सहरकेन्द्रित आमसञ्चार माध्यमका अतिरिक्त स्थानीय माध्यमहरूको समेत सशक्त उपस्थिति खोज्नुपर्छ । हामीले परिकल्पना गर्ने समाजवादउन्मुख नेपालमा आमसञ्चार प्रणाली पनि त्यही अनुकूल हुनुपर्छ । विकासका निम्ति गरिने नीतिगत व्यवस्थाभित्र पर्नुपर्ने एउटा क्षेत्र यो हो ।

युध्दउन्माद विरोधी कवि एवं नाटककार वर्तोल्ल व्रेख्त भन्थे– रेडियोलाई वितरणको साधनबाट सञ्चारको साधनमा परिणत गर्नुपर्छ । रेडियो प्रसारणको सुरुवातकै दशकमा उनले त्यसबेलाको यो नयाँ मिडियालाई पनि शक्तिमा हुनेहरूको उपदेश आमजनतामा वितरण गर्ने साधनका रूपमा प्रयोग गरिने शंका व्यक्त गरेका थिए । पन्धौं शताब्दीको मध्यमा छापा यन्त्रको आविष्कार भएयता आमसञ्चारको दायरालाई फराकिलो पार्दै लैजाने अनेक माध्यमको विकास भइसकेको छ । आज हाम्रा लागि दूरसञ्चार र कम्प्युटरको समिश्रणबाट उत्पन्न अनलाइन माध्यम न्यु मिडियाका रूपमा सुपरिचित छ । तर व्रेख्तको चिन्ता आज पनि उत्तिकै सान्दर्भिक छ । उनको आशय आमसञ्चारका कुनै पनि माध्यमका तागत जनताको दैन्दिनको जीवनमा सकारात्मक परिवर्तनका निम्ति कति प्रभावकारी भइरहेको छ भन्ने आकलन गरिरहनुपर्छ भन्ने नै थियो ।

लोकप्रिय सामान्य ज्ञान सिर्जना गर्न सक्ने आमसञ्चार माध्यमको तागतका कारण आफ्नो पक्षमा लोकमत निर्माण गर्न चाहनेहरू यसप्रति आकर्षित हुन्छन् । राजनीतिक शक्तिहरू त्यही कारण आजको युगमा आमसञ्चार माध्यमसँगको समन्वयबिना राजनीतिक सफलता असम्भव छ भन्ने निष्कर्षमा पुग्छन्। हुन त सामाजिक सञ्जाललाई वैकल्पिक माध्यमका रूपमा प्रचारित गरिएको पाइन्छ । तर यो माध्यम अहिलेसम्म वैकल्पिक होइन, सहायक माध्यमका रूपमा मात्र छ । संस्थागत मिडियाकै हाराहारीमा आमसञ्चारको चरित्र प्रदर्शन गर्न सक्नु र परम्परागत माध्यमभन्दा द्रुत हुन सक्नु सामाजिक सञ्जालका विशेषता हुन् । तर व्यक्तिको नियन्त्रणमा रहेकै वा संस्थागत नभएकै कारण सूचना प्रसारका दृष्टिले भने यसको विश्वसनीयता आमसञ्चार माध्यमको हराहारीमा पुग्न सकेको छैन । लोकमत निर्माण गर्ने तागतजस्तै गरी मिडियाको अर्को शक्ति आवाज वा स्वार्थलाई स्थान दिएर वा पन्छाएर अभिव्यक्त हुने गर्छ। त्यसैगरी राजनीतिक वा आर्थिक शक्तिमा हुनेहरू स्रोत प्रयोग गरेर मिडियाको तागतलाई आफ्नो तागतमा परिणत गर्छन् ।

राष्ट्रिय विकासको प्रयत्नमा आमसञ्चार माध्यमको भूमिकाको खोजी गर्दैगर्दा हाम्रो वस्तुगत अवस्थाको अवलोकन गरिनु उपयुक्त हुन्छ । भर्खरै काठमाडौस्थित सेन्टर फर मिडिया रिसर्च नेपाल नामक स्ांस्थाले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सुदूरपश्चिमाञ्चल क्षेत्रका जनतामाझ छापा माध्यमको पहुँच जम्मा १० प्रतिशत छ । यस क्षेत्रका केवल २० प्रतिशत जनता टेलिभिजन हेर्छन् । यहाँका ४८ प्रतिशत बासिन्दा रेडियो सुन्छन् । तर यही तथ्यांकलाई अर्को तरिकाबाट हेर्ने हो भने दुःखद् आश्चर्य लाग्छ– के सुदूरपश्चिमका ५२ प्रतिशत मानिस कुनै पनि सञ्चारमाध्यमको वृत्तभन्दा पनि बाहिर छन् ? यो तथ्यांकले देशभरिकै आमसञ्चार नक्शाको झलक प्रस्तुत गरेको छ । आधारभूत तहका जनतालाई गरिबीको कुचक्रबाट मुक्त गरी समृध्दिको संसारमा पु¥याउने विकास बहस गर्दैगर्दा यो यथार्थ पनि सादृष्य हुन जरुरी छ ।

 

 








यसमा तपाईको मत

अन्य समाचार

एभरेष्ट बैंकको वार्षिकोत्सवमा  कार्यक्रम

एभरेष्ट बैंकको वार्षिकोत्सवमा कार्यक्रम

एभरेष्ट बैंकले आफ्नो २५ औं वार्षिकोत्सव सुदूर पश्चिम प्रदेशमा बिबिध कार्यक्रम गरी मनाईएको छ । ...

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याकमा

बिस्कुट तथा कन्फेक्सनरी उत्पादन तथा बिक्री–वितरण गरिहेको  नेबिको प्रालिले नेबिको सुगर फ्री डाइजेस्टिभ गिफ्ट फेमेली प्याक सार्वजनिक गरेको छ ।

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

Ncell Footer Ad