coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

देवस्थलको अतिक्रमण हटाइयो

काठमाडौं-बसन्तपुर दरबार क्षेत्रको पश्चिमपट्टि (गद्दी बैठकसँगै)को सत्तल (भगवती मन्दिर) मा अतिक्रमण गरेर सञ्चालनमा ल्याइएको व्यापारिक पसल हटाइएको छ। इन्द्रजात्राको अवसरमा देवता राख्ने सत्तलमा एक स्थानीयले अतिक्रमण गरेर पसल राख्दैआएका थिए।

स्थानीयको चौतर्फी विरोधपछि गुठी संस्थान काठमाडौंले पत्राचार गरेर पसल हटाउन आदेश दिएको थियो। गुठी संस्थानको निर्देशनसँगै बसन्तपुरका स्थानीय बासिन्दा, पुरातत्व विभाग र प्रहरीको संयुक्त टोलीले पसल हटाएको हो । गुठी संस्थान काठमाडौंका कामु प्रमुख लेखनाथ सापकोटाले कडेलचोक भगवती गुठीलाई पत्रचार गरेर सत्तलमा  रहेको पसल तुरुन्त बन्द गरेर सत्तललाई पहिलाकै अवस्थामा ल्याउन निर्देशन दिएको थियो ।

उक्त सतलमा इन्द्रजात्राको समयमा एक सातासम्म भगवतीको मूर्ति समेत राख्ने परम्परा रहेको छ  । गत वर्षको भूकम्पमा सत्तलमा सामान्य क्षति पुगेको थियो । सत्तलको मर्मत सम्भार गरेर संरक्षण समेत गरिने भन्दै गुठीले कलात्मक ढोका हाल्न थालेको छ ।

सम्पदा संरक्षण संर्घष समितिका गणपतिलाल श्रेष्ठले स्थानीयको दबाबले नै सतललाई अतिक्रमण हुनबाट जोगाएको बताए ।‘स्थानीयले निरन्तर दबाब दिएपछि व्यापारिक अखाडा बन्नबाट सत्तल जोएिको हो,’ उनले भने,‘सम्पदालाई कुनै व्यक्तिले मागीखाने भाँडो बनाउन पाउँदैनन् ।’ कँडेलचोक भगवती गुठीले  स्थानीय व्यापारी हरिकृष्ण तण्डुकारलाई व्यापारिक प्रयोजनका लागि भाडामा सत्तल उपलब्ध गराएको थियो ।  फागुनको अन्तिम सातादेखि सत्तलमा ढोका लगाउने काम सम्पन्न भएसँगै सत्तलमा किनारा पसल सञ्चालनमा ल्याइएको थियो ।

सम्पदा संरक्षण संर्घष समितिका श्रेष्ठले सत्तललाई पुरानै संरचनामा ल्याइएको बताए । ‘अतिक्रमण गरेर सञ्चालित पसललाई हटाएका छौं,’ उनले भने,‘सत्तललाई अब व्यापारिक प्रयोजनका लागि प्रयोग हुन दिन्नौं।’

यसअघि कँडेल गुठीले उक्त सत्तल हेरचाह गर्दै आएको थियो । सोही कँडेल गुठीले नै ढोका लगाएको स्थानीयले बताए । स्थानीयले विश्वसम्पदा सूचीमा सूचीकृत बसन्तपुर दरबार क्षेत्रमा जथाभावी  बनाइएका ढोका समेत  हटाइदिएका छन् ।

बसन्तपुर क्षेत्रमा आउने विदेशी पर्यटकले एक हजार शुल्क तिर्दै आएका छन् । जसमा  सात सय ५० रुपैयाँ महानगरपालिका कार्यालय र दुई सय ५० रुपैयाँ हेरचार गर्ने अड्डाले पाउँदै आएका छन् ।

बसन्तपुर क्षेत्रमा पुरातत्व विभागको दरबार हेरचार अड्डा र काठमाडौं महानगरपालिको हनुमानढोका दरबार संरक्षण कार्यक्रम गरी दुईवटा संस्थाले राजस्व उठाउने तथा संरक्षणको जिम्मा लिँदैआएका छन् । तर, सम्पदा क्षेत्रको अतिक्रम हुँदा भने यी दुवै निकाय मौन बसेको भन्दै स्थानीयले लगातार विरोध गर्दैआएका थिए ।

 

प्रकाशित: १६ चैत्र २०७३ ०३:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App