काठमाडौं-बौद्ध स्तुपामा मंगलबार विशेष पुजा गरिएको छ । एकदिने ‘प्रज्ञा पारमिता छोगले रिच्छेन ठ्रेङवा च्वेद तथा विश्व शान्ति पुजा’ गरिएको हो। प्राणीजगत्मा हुने द्वेष, रिस, मोह, पापलाई कम गर्नुका साथै प्राकृतिक विपत्ति रोक्नका लागि उक्त पुजा आयोजना गरिएको हो।
कान्यिङ सेडुपलिङ गुम्बा (सेतो गुम्बा) बौद्धको आयोजनामा भएको सो विशेष धार्मिक पुजामा गुम्बाका तीनजना रिम्पोचेहरुले धर्मपाठ गरेका थिए । मानवजगत्मा प्राणीको उद्धारका लागि गरिएको एकदिने विशेष पुजामा छ्योकी निमा रिम्पोचे, छ्योक्लिङ रिम्पोचे र याङसि उर्गेन टुल्कु रिम्पोचेले धार्मिक प्रवचन समेत गरेका थिए ।
स्तुपाभित्र भएको प्रज्ञा पारमिता छोगले रिच्छेन ठ्रेङवा च्वेद पुजामा छ्योकि निमा रिम्पोचेले विश्वजगत्मा भइरहेका विभिन्न किसिमका अप्रिय घटनाहरुको दुष्प्रभावलाई धार्मिक पुजाले न्यूनिकरण गर्ने बताए । धर्मले मानवजीवनलाई सभ्य र शालिन बनाउने भएकाले प्राणीजगत्को कल्याणमा लाग्न रिम्पोचेले भक्तजनलाई धर्मनादेशन गरेका थिए ।
औंसी तिथिमा गरिने उक्त पुजाले अन्योलमा रहेका दिवंगत आत्माहरुले समेत सही बाटो पहिल्याउने छोगले रिच्छेन ठ्रेङवा च्वेद धार्मिक पुस्तकमा उल्लेख छ ।
एकैपटक तीन रिम्पोचेहरुलाई दर्शन गर्न नपाउने कारणले बौद्ध धर्मावलम्बी मात्रै नभएर अन्य धर्मावलम्बीहरु समेत धार्मिक पुजामा सहभागी भएको स्थानीय सोनाम लामाले बताए ।
धार्मिक पुजामा युरोप र अमेरिकाका भिक्षुभिक्षुणीहरुको समेत सहभागिता रहेको थियो । स्वदेशी र विदेशी भिक्षुभिक्षुणीका साथ उपासकउपासिकाहरु गरी करीब नौ सयजनाको सहभागिता रहेको थियो । पुजामा सर्वसाधारणको पनि बाक्लो भिड थियो ।
सेतो गुम्बाले पहिलो पटक बौद्धस्तुपामा पुजा आयोजना गरिएको हो । यसअघि प्रत्येक वर्ष गुम्बा परिसरमा पुजा आयोजना हुँदै आएको थियो । पुजाको अवसरमा पहिलो पटक नै २५ जना भिक्षुणीहरुले एक हातमा डमरु अर्को हातमा काङलिङ (मानवअस्तु) बजाएर छ्याम् च्योइ नाच प्रस्तुत गरेका थिए । उक्त छ्याम् च्योइ बौद्धधर्मको विशेष पुजामा मात्रै प्रस्तुत गरिन्छ । बौद्धधर्मको सुरुवातमा भिक्षुले मात्रै गर्ने उक्त छ्याम अहिले भिक्षुणीहरुले पनि गर्न थालेका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक ध्यानबहादुर मोक्तानले उक्त पुजा र छ्यामबाट सम्भावित अप्रिय घटनाको अन्त्य गराउनुका साथै दिवंगत भएर भट्किएको आत्मालाई सही बाटोमा डो¥याउने बताए। बौद्धमा गरिएको विशेष पुजाले शुभमंगलसँगै वरपर भड्किएका जीवजन्तुको आत्माले समेत शान्ति पाउने बुद्ध धर्मशास्त्रमा उल्लेख रहेको मोक्तानले बताए । उनका अनुसार सामान्य भाषामा उक्त पुजालाई च्वेद पुजा भन्ने गरिएको छ । यसरी गरिने पुजामा रिम्पोचेहरुको उपस्थिति अनिवार्य हुने मोक्तानको भनाइ छ । बौद्धमा भने छरितो ढंगबाट एकदिने पुजा गरिएको हो । उनले भने, ‘ बुद्ध धर्ममा निर्वाण प्राप्तिका लागि पनि च्वेद पुजा गरिन्छ ।’
नेपालमा मात्रै नभएर विश्वभरि नै प्राकृतिक विपत्ति, हत्याहिंसालगायतका दुःखद घटनाहरु हुने भएकाले यसबाट मुक्तिका लागि बौद्धमा एकदिने प्रज्ञा पारमिता छोगले रिच्छेन ठ्रेङवा च्वेद पुजा गरिएको तामाङ बौद्ध महासंघका महासचिव सुन्दर योञ्जनले बताए ।
सो एकदिने पुजामा विभिन्न प्रतिष्ठित व्यक्तित्व, समाजसेवीका साथै नेपाली चलचित्रका महानायक राजेश हमाल समेत रिम्पोचेको दर्शनका लागि पुगेका थिए ।
विश्वशान्तिका लागि औंसी तिथिमा गरिने ‘प्रज्ञा पारमिता छोगले रिच्छेन ठ्रेङवा च्वेद पुजा’ ले अन्योलमा रहेका दिवंगत आत्माहरुले समेत सही बाटो पहिल्याउने छोगले रिच्छेन ठ्रेङवा च्वेद धार्मिक पुस्तकमा उल्लेख छ ।
प्रकाशित: १६ चैत्र २०७३ ०३:१५ बुधबार