७ वैशाख २०८१ शुक्रबार
खेल

पोर्चुगलबाट जन्मिए अर्को हिरो

पेरिस- युरोपियन च्याम्पियनसिपमा आइतबार पोर्चुगलका लागि इडरले निर्णायक गोल गरेपछि फुटबलले अर्को हिरो जन्माएको छ।

मार्चमा भएको खेलमा पोर्चुगिज समर्थकले इडर मैदान प्रवेश गर्दा उनलाई नराम्रो मान्छे भन्दै गिज्याएका थिए। उनै इडरले आइतबार युरो २०१६ को फाइनलमा थप ३० मिनेट सकिन ११ मिनेट बाँकी छँदा निर्णायक गोल गरेपछि पोर्चुगल प्रशिक्षक फर्नान्डो सान्तोसले भने, ‘कुरुप बच्चा नै सुन्दर भएर निस्कियो।’

पछिल्लो दशक पोर्चुगल टोलीमा क्रिस्टियानो रोनाल्डोको दबदबा रह्यो। तीनपटकका फिफा विश्व वर्ष खेलाडी भइसकेका रोनाल्डो फाइनलको सुरुमै घाइते भए। त्यही खेलमा गुइना–बिसाउमा जन्मिएका २८ वर्षे इडरको निर्णायक गोलमा पोर्चुगलले फ्रान्सलाई हराउँदै उपाधि जितेपछि उनी समाचारका हेडलाइन बने।

इडरले गत सिजन इङ्लिस प्रिमियर लिग क्लब स्वान्सी सिटीबाट १३ खेल खेले तर कुनै गोल गरेनन्। त्यसपछि उनी लोनमा फ्रेन्च क्लब लिले गए।

‘टोलीमा मेरो नाम समावेस भएदेखि नै मलाई विश्वास थियो कि सान्तोसलाई मेरो क्षमताबारे राम्रो ज्ञान छ,’ इडरले भने, ‘उनले आज म माथि विश्वास राखे र मैले पनि आफूलाई प्रमाणित गरेँ। म धेरै खुसी छु।’

युरो टोली घोषणा हुने अन्तिमसम्म पनि उनको नाम पर्नेमा शंका थियो। २९ अन्तर्राष्ट्रिय खेलमा उनको यो चौथो गोल हो। पोर्चुगिज टोलीमा युरोप बाहिर जन्मिएका ५ खेलाडीमध्ये इडर एक हुन्। उनी बाहेक डानिलो (गुइना–बिसाउ), पेपे (ब्राजिल), नानी (कोप भार्डे) र विलियम कार्भाल्हो (एंगोला) युरोप बाहिर जन्मिएका खेलाडी हुन्।

पूरा नाम इडरजिटो एन्टोनियो मासेडो लोपेजले पोर्चुगलका कुनै पनि  तीन ठूला क्लबबाट खेलेका छैनन्।

टोउरिजेन्जबाट आफ्नो खेलजीवन सुरु गरेका इडर एकेडेमिका कोइम्ब्रा गए। चारवर्ष एकेडेमिकामा बिताएपछि उनी ब्रागा गए। तीन वर्ष ब्रागामा बिताएपछि इडर स्वान्सी पुगेे। यसै सिजन उनी लिले आएका हुन्।

इडरले २०१४ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए। त्यसयता टोलीमा उनी सधैँ छायाँमा छन्।

आइतबार खेल अतिरिक्त समयमा जाने जस्तो भएपछि शारीरिक रूपमा बलिया खेलाडी आवश्यकता परेपछि प्रशिक्षक सान्तोसले इडरलाई ७९ औं मिनेटमा मात्र मैदान छिराए।

‘मलाई राम्रो थाहा थियो कि इडरले बल नियन्त्रण राख्न सक्छन् र एयर बलमा उनले फ्रान्सेली खेलाडीलाई समस्यामा पार्न सक्छन्,’ प्रशिक्षक सान्तोसले भने, ‘मैदान प्रवेश गर्ने बेला उनले आज गोल गर्छु भनेका थिए र उनले गरे पनि। उनी बधाईका पात्र हुन्। नराम्रो मान्छे एउटा हिरोका रूपमा उदाए।’

प्रकाशित: २८ असार २०७३ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App