८ वैशाख २०८१ शनिबार
समाज

मुग्लिन–नारायणगढ सडक विस्तार: दुई वर्षमा आधामात्रै काम

चितवन- सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको नारायणगढ–मुग्लिन सडक विस्तार सुस्त गतिमा अगाडि बढेको छ । सन् २०१५ अप्रिलमा भएको सम्झौताअनुसार यतिखेरसम्म लगभग काम सकिनुपर्ने भए पनि आधाभन्दा बढी बाँकी छ ।

निर्माण अवधि आठ महिना थपेर सन् २०१७ डिसेम्बरसम्म पु¥याइए पनि अहिलेको कामको प्रगति हेर्दा उक्त समयमा निर्माण पूरा हुन गाह्रो छ । नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालका अनुसार अहिलेसम्म ४१ प्रतिशतमात्रै काम पूरा भएको छ । बाँकी ५९ प्रतिशत काम आठ महिनाभित्र पूरा गर्ने लक्ष्य राखेर निर्माण कम्पनीले काम गरिरहेको उनले बताए ।

दुई वर्षमा ४१ प्रतिशत काम भएको ठाउँमा आठ महिनामा बाँकी काम पूरा हुन सक्ने पत्यारिलो आधार देखिएको छैन । सडकलाई तीन खण्ड बनाएर फरक–फरक निर्माण कम्पनीलाई कामको जिम्मा दिइएको छ । सबैभन्दा धेरै काम बीचको खण्ड अर्थात् दासढुंगा–सिमलताल क्षेत्रमा भएको सूचना अधिकारी खनालले जानकारी दिए । सोही खण्डमा निर्माण कार्य गर्दै आएका व्यवसायीका प्रतिनिधि आठ महिनामा काम सक्न गाह्रो हुने बताउँछन् ।

निरन्तर सास्ती

नारायणगढ–मुग्लिन सडक खण्ड राजधानी र पर्यटकीय सहर पोखरालाई पूर्वी र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो । उक्त  खण्ड हुँदै दिनमा लगभग १० हजार यात्रु बस र मालवाहक ट्रक आउजाउ  गर्छन् । घन्टौंको जाम, खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्राले सास्ती र दिक्दारी थपेको छ ।

चैत १२ गते शनिबार पोखरा छोरी भेट्न गएका वीरगन्जका शिवदयाल भगत सोमबार घर फर्कंदै थिए । बिहान पौने ६ बजे पोखरामा ना४ख ७७१४ नम्बरको यात्रु बस चढेका उनी साढे आठ बजे मुग्लिन आएका थिए । नारायणगढ पुग्दा लगभग साढे ११ बज्दै थियो । ‘जाँदा रात्री बस चढेर गएका कारण जाममा परेको ख्याल भएन । तर, आउँदा निकै दिक्दारी महसुस भयो,’ उनले भने, ‘तीन ठाउँमा जाममा परियो । धुलो र खाल्डाले गर्दा गाडी नचढौं झैं भयो ।’

लु२ख २४९ नम्बरको बस सोमबार बिहान ६ बजे भैरहवाका लागि कलंकीबाट छुटेको थियो । मुग्लिन आउँदा साढे नौ बजे भएको थियो । मुग्लिनबाट लगभग २५ किलोमिटर दूरी पार गरेर जुगेडी  पुग्दा १२ बज्न लाग्दै थियो । ‘यो त अझ चाँडो भएको हो । हिजो आइतबार मात्रै हामी काठमाडौं गएका हौं । जाने बेलामा एउटै जाममा डेढ घन्टासम्म कुर्नुप¥यो । बिहान अलि राहत हुन्छ । दिउँसो जाम धेरै हुन्छ,’ लु२ख २४९ का चालक विजयकुमार चौधरीले भने । पहिरो गएका बेलामा दिनभर जाममा बसेको अनुभवसमेत बटुलेका उनी विस्तारको काम नहुँदा ४५ मिनेटमै सडक छिचोलेको सुनाउँछन् ।

विस्तारको काम सकिएला भन्ने आशा गरेको बेलामा खासै प्रगति भएको देख्न नपाएका उनको दिक्दारी झनै बढेको छ । मंगलबारबाट सडक दिनहुँ ६ घन्टा बन्द हुन थालेको छ । ‘काठमाडौंबाट बिहान सबेरै नहिँडे अब नारायणगढ आउन दिनभर नै लाग्ने बेला आयोे । पाँच–छ बजे हिँड्दा काठमाडौंमा कुनै जाम परेन भने मात्रै १० बजे मुग्लिन आइन्छ । अचेल कलंकीबाट थानकोट नागढुंगा आउनै घन्टौं लाग्छ’, चालक चौधरीले भने ।

किन ढिलासुस्ती ?

सम्झौता भएर काम सुरु भएसँगै देशमा विनाशकारी भूकम्पको चपेटामा प¥यो । भूकम्पपछि भारतको अघोषित नाकाबन्दीले इन्धन संकट भयो । गत वर्ष वर्षा पनि अत्यधिक भएका कारण काम सोचेअनुरुप नभएको सम्बन्धित अधिकारी बताउँछन् । आयोजना प्रमुख चन्द्रनारायण यादव गत वर्षातमा पाँच वर्षयताकै सर्वाधिक वर्षा हुँदा पहिरोले काम गर्न कठिन भएको बताउँछन् ।

‘भूकम्प, नाकाबन्दी र वर्षाले परिस्थिति प्रतिकूल हुँदा नै लक्ष्य भेट्टाउन गाह्रो भएको हो । चाहेर पनि काम गर्न सक्ने अवस्था थिएन । अब भने कामले गति लिने सम्भावना छ,’ आयोजनाका परामर्शदाता आवासीय इन्जिनियर विप्लव कार्कीले भने । यो बेलामा लगभग ७८ प्रतिशत काम पूरा हुनुपर्नेमा ४१ प्रतिशतको हाराहारीमा भएको उनले बताए ।

काम भइरहेका तीन खण्डमध्ये बीचको खण्ड दासढुंगा–सिमलताल खण्डमा ५० प्रतिशतभन्दा धेरै काम भएको छ । आँपटारीदेखि दासढुंगा र सिमलतालदेखि मुग्लिनसम्मको काम निकै सुस्त देखिन्छ । आँपटारी–दासढुंगा खण्डमा ३५ प्रतिशत र सिमलताल–मुग्लिन खण्डमा ३८ प्रतिशत काम पूरा भएको सूचना अधिकारी खनालले जनाए ।

‘हामीले अरु खण्डका निर्माण कम्पनीले भन्दा केही पहिल्यै काम सुरु ग¥यौं । भूकम्प आएका बेला पनि काम रोकेनौं । काम गर्ने मान्छे र उपकरण पनि धेरै छन् । त्यसैले धेरै काम भएको हो’, दासढुंगा–सिमलताल खण्डमा काम गर्दै आएको उडहिल लामा जेभीका कन्ट्रयाक्टर म्यानेजर रवीन्द्र श्रेष्ठले भने । उक्त खण्डमा निर्माण पुरा हुने अवधि आउँदो नोभेम्बरलाई तोकिएको छ तर त्यो समयमा पूरा भने नहुने श्रेष्ठले बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले उपलब्ध गराएको विवरण अनुसार  सरकारी, निर्माण व्यवसायीसमेतबाट दक्ष र अर्धदक्ष गरेर ८ सय २७ जनाले काम गरिरहेका छन् । १७ जना विज्ञ तथा वरिष्ठ इन्जिनियर निर्माण कार्यमा खटिएका छन् । सडक विभागका दुईजना, सडक निर्माण अनुगमनको जिम्मा पाएको परामर्शदाताका नौजना वरिष्ठ इन्जिनियर तथा विज्ञ निर्माण क्षेत्रमा परिचालित छन् ।

यस्तै १ सय ६६ यन्त्र उपकरण आयोजनामा प्रयोग भएका छन् । तीमध्ये ६१ उपकरण सिमलताल–मुग्लिन खण्डमा छन् । त्यस्तै दासढुंगा– सिमलताल खण्डमा ५५ र ४१ वटा यन्त्र उपकरण आँपटारी–दासढुंगा खण्डमा छन् ।

दैनिक ६ घन्टा बन्द, विकल्प रोज्न अपिल

नारायणगढ–मुग्लिन सडक मंगलबारदेखि दैनिक ६ घन्टा बन्द भएको छ । बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म गाडी चल्न पूर्ण रुपमा बन्द गरिएको नारायणगढ–मुग्लिन सडक आयोजना कार्यालयले जनाएको छ । एम्बुलेन्सजस्ता अत्यावश्यक सेवाका गाडी विशेष व्यवस्था गरेर सञ्चालन हुनेछन् ।

सडक विस्तारका क्रममा पहाड काट्नेजस्ता जोखिमपूर्ण काम हुने भएका कारण यातायात ठप्प पार्नुपर्ने अवस्था आएको आयोजना प्रमुख चन्द्रनारायण यादवले बताए । यसअघि सो सडक बिहान साढे १० बजेदेखि दिउँसो तीन बजेसम्म दैनिक साढे चार घन्टा बन्द हुन्थ्यो ।

आयोजनाले यात्रु र चालकलाई वैकल्पिक मार्ग रोज्न सुझाव दिएको छ । काठमाडौंबाट पूर्व जाने गाडीलाई वैकल्पिक मार्ग केही छोटो पनि हुन्छ । काठमाडौंबाट पूर्व जाने गाडीले बनेपा हुँदै बर्दिवास निस्कने बिपी मार्ग प्रयोग गर्न सक्छन् । यसो गर्दा १ सय ७७ किलोमिटर दूरी कम हुन्छ । तर, बीपी मार्ग साना गाडी र केही मात्रामा मझौला गाडीका लागि मात्रै उपयुक्त छ । नौबिसे, पालुङ हुँदै हेटौंडा निस्कने बाटो त्रिभुवन राजपथ नारायणगढ–मुग्लिन रुटभन्दा १ सय आठ किलोमिटर छोटो पर्छ । तर, त्रिभुवन राजपथ १० मिटरभन्दा कम लम्बाइका गाडी र कम भार बोक्ने ट्रकका लागि मात्रै उपयोगी भएको सडक आयोजनाले जानकारी दिएको छ ।

त्यस्तै साना गाडी काठमाडौंबाट बल्खु हुँदै हेटौंडा निस्कन पनि सक्छन् । यसो गर्दा १ सय ४६ किलोमिटर कम दूरी हुन्छ । तर, वैकल्पिक बाटा जिर्ण र कम फराकिलो भएका कारण साना गाडीको रोजाइमा पनि पर्दैनन् ।

पश्चिम जाने गाडी मुग्लिनबाट पोखरा हुँदै सिद्धार्थ राजमार्ग प्रयोग गरेर बुटवल निस्कन सक्छन् तर यो बाटो लामो छ र ७१ किलोमिटर दूरी बढी पर्छ । यो बाटो पनि साना र मझौला गाडीका लागि मात्रै उपयुक्त छ । केही मात्रामा ठूला गाडी पनि चल्न सक्ने अवस्था रहेको आयोजना कार्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित: १६ चैत्र २०७३ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App