१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुकीलुकी भ्रूण हत्याः नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

काठमाडौं– व्यवस्थापिका संसद्को महिला बालबालिका तथा ज्येष्ठ नागरिक समितिले लिंग पहिचान गरी भ्रूण हत्या गर्ने कार्य नियन्त्रण गर्न अस्पताल क्षेत्रमा कानुनी कारबाही हुने सूचना राख्न निर्देशन दिएको छ । 

कानुनले भ्रुण पहिचान गर्न प्रतिबन्ध लगाए पनि यस्तो कार्य रोकिएको छैन । लुकीलुकी यस्ता कार्य भए÷गराएको पाइएको भन्दै संसदीय समितिले स्वाथ्य मन्त्रालयलाई सरकारी र निजी अस्पताल परिसरमा यस्तो सूचना सर्वसाधरणले देखिने गरी राख्न निर्देशन दिएको हो । 

मुलुकी ऐनमा गर्भपतन गराउने उद्देश्यले लिंग पहिचान गरेको पाइए ६ महिनादेखि २ वर्ष कैद सजाय हुने व्यवस्था छ । कारबाहीको व्यवस्था भए पनि लिंग पहिचान गरी भ्रूण हत्या गर्ने क्रम बढ्दै गएको छ । गर्भपतन गर्ने÷गराउनेको मिलेमतोमा गोप्य ढंगले यस्तो काम बढ्दै गएको, उजुरी नपर्ने भएकाले अपराधी कानुनको दायरामा बिरलै आएको निष्कर्षपछि समितिले मंगलबार यस्तो निर्देशन दिएको हो ।

समितिमा भएको छलफलमा सांसदले भ्रूण पहिचान गर्ने डाक्टरलाई संसदीय समितिले अनुसन्धान गरी काराबाही गर्न निर्देशन दिनुपर्ने माग गरेका थिए । गोप्य रुपमा यस्ता कार्य हुने भएकाले सचेतनाका लागि बोर्ड राख्न समितिले निर्देशन दिएको सभापति रञ्जुकुमारी झाले बताइन् । 

केन्द्रीय बालकल्याण समितिको सर्वेक्षणअनुसार भ्रूण पहिचान गरी गर्भपतन गराउनेमा पढे–लेखेकादेखि निरक्षरसम्म, आर्थिक रूपमा सम्पन्नदेखि विपन्नसम्म र समाजमा प्रतिष्ठितदेखि सर्वसाधारणसम्म छन् ।

राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा चार वर्षसम्मका बालकको संख्या १३ लाख १४ हजार ९ सय ५७ छ भने बालिकाको संख्या १२ लाख ५३ हजार ६ छ । 

आर्थिक वर्ष २०७२÷०७३ मा उपत्यकाका अस्पतालमा जन्मिएका शिशुको तथ्यांक अध्ययन गर्दा प्रसूतिगृह थापाथलीमा ८ हजार ७ सय ७२ बालक र  ७ हजार ५ सय ५३ बालिका जन्मिएका थिए । पाटन अस्पताल ललितपुरमा जन्मिएकामध्ये बालक ३ हजार २ सय ७७ र बालिका २ हजार ९ सय ३ जना थिए । भक्तपुर अस्पतालमा जन्मिएकामध्ये ६ सय ४० बालक तथा ५ सय ६१ बालिका थिए ।

ओम अस्पताल चाबहिलमा जन्मिएकामध्ये बालक ६ सय ३७ र बालिका ५ सय २७ जना थिए । खासगरी भ्रूण पहिचार गरी छोरी भए जन्म नदिने देखिएपछि समितिले यस्तो निर्देशन दिएको हाे।

प्रकाशित: १५ चैत्र २०७३ १५:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App