८ वैशाख २०८१ शनिबार
खेल

पोर्चुगलको उपाधि कथा

पेरिस- उनी चिच्याइरहेका थिए। छातीको धड्कन बढिरहेको थियो। खुट्टा काँपिरहेका थिए। क्रिस्टियानो रोनाल्डोको मुटु यसरी कहिल्यैं धड्किएको थिएन। उनले शीर निहुर्‍याए। भूइँमा थचक्क बसे। खेलमा यस्तो हुन्छ भनेर उनले कहिल्यै कल्पनै गरेका थिएनन्, सायद। कप्तानको आर्मब्यान्ड साथीको हातमा बाँधिदिए। गहभरि आँसु बनाएका रोनाल्डो मैदानमा सुते। स्टेचरमा राखेर लकर रुममा लैजानुपरेको थियो, उनलाई।

त्यति बेला स्टेड डे फ्रान्समा युरोपियन च्याम्पियनसिप फाइनलको मात्र २४ मिनेट बितेको थियो। विश्व फुटबल स्टारमध्येका एक रोनाल्डोले आधा घन्टा नबित्दै मैदान छाड्नुपर्‍यो। पूरै खेलले अर्कै मोड लियो।

पोर्चुगल नेतृत्वविहीन बन्यो, यन्त्रबिनाको गाडी जस्तो। तर टोलीले हरेश खाएन, आफूलाई कमजोर ठानेन। बरु खेलथप समयसम्म लम्ब्याउन सफल भयो। रोनाल्डो खुट्टा खोच्याउँदै बेन्चवरिपरि घुमिरहे। १ सय ९ औं मिनेटमा वैकल्पिक खेलाडी इडरले गोल गरेर फ्रान्सलाई स्तब्ध बनाए। पोर्चुगलले पहिलोपटक ठूलो प्रतियोगिताको उपाधि जित्यो।

‘हामीले भनेका थियौं, उनकै लागि पनि जित्नेछौं,’ रोनाल्डोलक्षित गर्दै पोर्चुगलका रक्षक पेपेले भने, ‘र, हामी त्यसमा सफल पनि भयौं।’

यस प्रतियोगितामा पोर्चुगलको यात्रा अनौठो रह्यो। समूह चरणमा टोलीले एउटै खेल जितेनन्। समूह ‘एफ’ को तेस्रो स्थानमा थियो। हंगेरी र आइसल्यान्डभन्दा पछाडि। तर पहिलोपटक युरोमा २४ टोली समावेश गरिएकाले समूहमा तस्रो भए पनि उत्कृष्ट चारभित्र रहेर अन्तिम १६ मा प्रवेश गर्‍यो।

तर इटाली, स्पेन, इङ्ल्यान्ड, फ्रान्स र जर्मनी भएको समूहमा नभई पोर्चुगल अर्को समूहमा पर्‍यो। रिकार्डो क्वारेस्माले थप ३० मिनेट सकिन ३ मिनेट बाँकी छँदा गोल गरेपछि पोर्चुगलले क्रोएसियालाई १–० ले हरायो। अन्तिम ८ मा पोल्यान्डलाई सुटआउटमा ६–४ ले पाखा लगाउँदै सेमिफाइनल पक्का गर्‍यो। प्रतियोगितामा पोर्चुगलले निर्धारित ९० मिनेटको समयमा जित निकालेको वेल्सविरुद्ध मात्र हो। टोलीले वेल्सलाई २–० ले हराउँदै फाइनलमा स्थान बनायो।

पोर्चुगलले खेलेको ७ सय २० मिनेटमध्ये ७३ मिनेटमात्र पोर्चुगलले अग्रता लिएको थियो। तर नतिजा आश्चर्यजनक निस्कियो। रोनाल्डोबिना पनि पोर्चुगल लर्बराएन।

‘यो हलिउड सिनेमाजस्तो भयो,’ पोर्चुगलका जोस फोन्टेले भने, ‘हामीले इतिहासमा आफ्नो नाम दर्ज गर्‍यौं।’

खेलमा अन्तिम सिठी बजेपछि पोर्चुगलका खेलाडी खुसी मनाइरहँदा फ्रान्सका खेलाडी घाँसे मैदानमा थचक्क बसे। फ्रान्स नोभेम्बरमा भएको आतंककारी हमला र कामदारको हड्ताल बिर्साउने प्रयासमा रहेको फ्रान्स प्रतियोगिताको सफलतासँगै उपाधिका रमाउन चाहन्थ्यो। तर नियतिलाई त्यो संयोजन मान्य भएन।

प्रतियोगिताको अन्त्यमा आइपुग्दा एक आयोजकको तर्फबाट हेर्दा फ्रान्स सफल रह्यो। प्रतियोगितामा निर्विवाद ढंगले चल्यो। सुरक्षा संयन्त्र धेरै हदसम्म सफल रह्यो। कुनै ठूला दुर्घटना भएन तर उपाधि घरमा राख्न नसक्नु नै फ्रान्सका लागि निराशजनक रह्यो।

खेलमा फ्रान्सले थुप्रै गोल अवसर बनायो। आन्द्रे–पिइर्रे गिग्नाकले गरेको प्रहार बायाँ बारमा लागेर फर्कियो। त्यस्तै सेमिफाइनलमा जर्मनीविरुद्ध जस्तो फ्रान्सका प्रयास सफल हुन सकेन। फ्रान्सका स्टार एन्टोनी ग्रिजम्यान (प्रतियोगितामा सबैभन्दा धेरै ६ गोल)ले पेनाल्टी बक्सबाट गरेको हेड गोलमा परिणत हुन सकेन। जुन फ्रान्सलाई गोलका लागि सबैभन्दा राम्रो अवसर थियो।

‘फुटबल निकै निर्दयी हुन सक्ने रहेछ,’ फ्रान्सका कप्तान तथा गोलकिपर ह्युगो लोरिसले भने, ‘योभन्दा दुःखद क्षण के हुनसक्छ।’

ठूलो प्रतियोगितामा देशलाई उपाधि जिताउने अन्तिम खेलमा रोनाल्डोले भने धेरै योगदान गर्न पाएनन्। ८ मिनेट बित्न नपाउँदै दिमित्री पायेटको ट्याकलमा रोनाल्डोको बायाँ खुट्टामा चोट लाग्यो। उनी कक््रयाककुक्रुक्क पर्दै मैदानमा लडे। रेफ्रीले कुनै फाउल लिएनन्। केहीबेरको प्राथमिक उपचारपछि रोनाल्डो पुनः मैदानमा छिरे। तर, उनी पहिलो हाफको अन्यसम्मपनि मैदानमा टिक्न सकेनन्। अन्ततः मैदान छाडे।

१२ वर्षअघि घरेलु मैदान लिस्वनमा ग्रिससँग अप्रत्यासित हार बेहोरेपछि रोनाल्डो मैदानमा खुब रोएका थिए। त्यसपछि उनले देशका लागि जिताउने प्रयास गरिरहे। र, अन्ततः आइतबार राति पोर्चुगलले पहिलोपटक ठूलो उपाधि जित्न सफल भयो।

‘यो दुर्भाग्य रह्यो। मैले चाहेजस्तो फाइनल हुन सकेन। तर म धेरै धेरै खु

खुसी छु,’ रोनाल्डोले भने, ‘म यी खेलाडी र प्रशिक्षकको रणनीतिप्रति सधैँ विश्वस्त थिएँ।पोर्चुगिज जनताप्रति र जसले हामीमा विश्वास व्यक्त गरेका थिए उनीहरूप्रति यो ट्रफी समर्पित गर्न चाहन्छु।’

प्रशिक्षक फर्नान्डो सान्तोसले २०१४ मा पोर्चुगलको जिम्मेवारी सम्हालेका थिए। र, आफ्नो पहिलो खेलमै यही रंगशालामा फ्रान्ससँगको मैत्रीपूर्ण खेलमा पराजित भएका थिए। सान्तोसले आफ्ना खेलाडीलाई भनेका थिए, 'यही रंगशालामा हाम्रो लक्ष्य पुरा हुनेछ।'

सान्तोसको रणनीति एकपछि अर्को गर्दै सफल भयो। फ्रान्सको आक्रमण विस्तारै निस्तेज हदै गयो। उनले ७९औं मिनेटमा इडरलाई मैदान छिराए। एकरुपको प्रदर्शन गर्न नसकेको भनेर इडरले चर्को आलोचना खेपिरहेका थिए। उनै इडरले उपाधिका लागि निर्णायक गोल गरे। करिब २५ यार्ड टाढाबाट हानेको उनको प्रहारलोरिसले बचाउन सकेनन्।

‘हामीलाई थाहा थियो कि हामी जतिबेला पनि उनीहरूलाई निराश बनाउन सक्छौं,’ इडरले भने, ‘त्यो, भयो पनि।’

अन्ततः फ्रान्सले दोस्रो स्थानमा चित्त बुझाउनुपर्‍यो। पोर्चुगलका खेलाडी खुसी मनाउन व्यस्त रहे। उपाधि लिने बेला उपकप्तान नानीले आर्मब्यान्ड रोनाल्डोलाई फिर्ता गरे र रोनाल्डो उपाधि उचाले।

प्रकाशित: २८ असार २०७३ ०३:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App