coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

नेपाल ६ विकेटले पराजित

काठमाडौं- एसिसी इमर्जिङ कपमा आइतबार इमाम उल हकको अविजित शतकप्रेरित पाकिस्तान यु–२३ लाई दीपेश श्रेष्ठ र सुशन भारीलाई डेब्यु गराएको नेपालले ६ विकेटको नतिजा सुम्पिएको छ।

बंगलादेशको कक्सबजारस्थित शेख कमल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। १ सय ८१ रनको लक्ष्य पाकिस्तानले ४५.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो। युवा खेलाडीको वर्चस्व रहेको नेपालका सुनील धमला र शरद भेषावकरबाहेक अन्य ब्याट्सम्यानले पाकिस्तानका बलरसामु खुलेर खेल्न सकेनन्।

कप्तान ज्ञानेन्द्र मल्ल २ रन बनाउँदा पाँचौं ओभरको अन्तिम बलमा पवेलियन फर्किए। उनलाई गुलाम मुदासरले हरिस सोहेलबाट क्याच गराए। त्यसपछि ब्याटिङमा आएका सागर पुनले पनि लामो इनिङ खेल्न सकेनन्। ४ रन बनाएका सागरलाई पनि मुदासरले बोल्ड गरेका थिए। केन्याविरुद्धको दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरीले १४ जोडे। २९ बलमा ३ चौका प्रहार गरेका दीपेन्द्रसिंह बिलाल असिफको बलमा एलबिडब्लु आउट भए। दीपेन्द्रले तेस्रो विकेटका लागि सुनीलसँग २२ रनको साझेदारी गरेका थिए।

त्यसपछि ओपनर सुनील र शरदले नेपालको इनिङ सम्हाल्ने प्रयास गरे। पन्ध्रौं ओभरमा दीपेन्द्रसिंह आउट हुँदा नेपाल ४३–३ को अवस्थामा थियो। चौथो विकेटका लागि ७९ रनको साझेदारी गरेका सुनील र शरदले ३८औं ओभरमा नेपालको स्कोर १ सय २१ बनाएका थिए। ३८औं ओभरको चौथो बलमा सुनील उसमा मिरको बलमा सोहेलबाट क्याच भएपछि नेपालले निरन्तर विकेट गुमायो। १ सय २५ बल खेलेका सुनीलले ३ चौकासहित ४३ रन बनाए। जुन नेपाली ब्याट्सम्यानले बनाएको सबैभन्दा धेरै रन हो।

भेट्रान अलराउन्डर मेहबुब आलम मिरको बलमा एलबिडब्लु आउट भए। मेहबुब डक आउट भएलगत्तै शरद पनि पवेलियन फर्किए। शरदले ५९ बलमा २ चौकासहित ३८ रन बनाए। त्यसपछि आरिफ शेख र विकेटकिपर विनोद भण्डारीले सातौं विकेटका लागि ४० रनको साझेदारी गरे। विनोदले ३२ बलमा २ चौका र १ छक्कासहित २४ रन बनाउँदा आरिफ १८ रनमा अविजित रहे।

पाकिस्तानका मुदासरले १० ओभरमा २६ रन दिएर ५ विकेट लिए। मिरले २ विकेट लिँदा जाफर गोहार र विलाल असिफको नाममा १/१ विकेट रह्यो।

ओपनर इमामले १ सय ३६ बलमा ९ चौकासहित अविजित १ सय ५ रन बनाएपछि पास्तिानले सहज विजय हासिल गर्‍यो। उनले पहिलो विकेटका लगि इमरान बटसँग ६७ रनको साझेदारी गरे। २० रन बनाएका बटलाई सन्दीपले बोल्ड गरेका थिए। लामो समयपछि बलिङ गरका ज्ञानेन्द्रले सोहेललाई १७ रनमा आउट गरे। १० ओभर बलिङ गरेका ज्ञानेन्द्रले ४४ रन दिएर २ विकट लिए। ज्ञानेन्द्रले हुसैन टलटलाई शून्य रनमा पवेलियन फर्काएका थिए। त्यसअघि सन्दीपले मोहम्मद रिजवानलाई दीपेन्द्रसिंहबाट क्याच गराएका थिए।

जितपछि पाकिस्तान २ अंकका साथ समूह ‘बी’ को दोस्रो स्थानमा छ नेपाल तेस्रो स्थानमा छ। प्रतियोगिताको दोस्रो खेलमा नेपालले मंगलबार आयोजक बंगलादेशविरुद्ध खेल्नेछ।

हङकङलाई ८ विकेटले पराजित गरेको बंगालादेश शीर्ष स्थानमा छ। हङकङ अन्तिम स्थानमा छ। टस जितेर ब्याटिङ गरेको हङकङले ३५.१ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन बनाएको थियो। १ सय २६ रनको लक्ष्य बंगलोदशले १६.१ ओभरमा २ विकेट गुमाएर पूरा गरेको थियो।

आइतबारै समूह ‘ए’ मा भारतले श्रीलंकालाई ३५ रनले पराजित गर्दा अफगनिस्तानले मलेसियमाथि १ सय ५५ रनको विजय हासिल गर्‍यो। टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ७ विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो। २ सय ८५ रनको लक्ष्य पछ्याएको मलेसियाले ४५.५ ओभरमा १ सय २९ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

त्यस्तै, टस हारेर ब्याटिङ निम्त्याइएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो। २ सय ८९ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १० बलअघि सबै विकेट गुमाएर २ सय ५३ रन मात्र जोड्न सक्यो।  समूह ‘ए’ मा अफगानिस्तान शीर्ष स्थानमा छ भने समान २ अंक जोडेको भारत दोस्रो स्थानमा छ। श्रीलंका तेस्रो र मलेसिया चौथो स्थानमा छन्।

प्रकाशित: १५ चैत्र २०७३ ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App