७ वैशाख २०८१ शुक्रबार
राजनीति

उम्मेदवार छान्दै एमाले

काठमाडौं- प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तह चुनावका लागि आन्तरिक तयारी सुरु गरेको छ। १५ दिने मेची–काली राष्ट्रिय अभियानबाट फर्केलगत्तै बसेकोे स्थायी कमिटी बैठकले स्थानीय तहका उम्मेदवार छनोट मापदण्ड निर्धारण गरिसकेको छ। एमालेले अबका सबै गतिविधि चुनाव केन्द्रित गर्ने भएको छ।

पार्टीले स्थानीय तहअनुसार आफ्नो सबै पार्टी संरचना निर्माण गर्न तल्ला कमिटीहरूलाई निर्देशनसमेत दिइसकेको एमालेका सचिव प्रदीप ज्ञवालीले बताए। 'देशभरका कमिटीलाई स्थानीय तहको संरचनाअनुसार ढाल्न निर्देशन दिइसकेका छौं', ज्ञवालीले भने, 'एक साताभित्र सबै संगठन निर्माण हुनेछन्।'

त्यसैगरी स्थानीय तहका चुनावी मुद्दा तथा कार्यक्रम, सम्भावित उम्मेदवारका बारेमा छलफल र स्थानीय स्तरमा तालमेल गर्नुपर्ने भए सो विषयमा तल्ला कमिटीबाट आवश्यक जानकारी मागिएको पनि ज्ञवालीले बताए। स्थानीय तहको चुनावका लागि वडा अध्यक्ष र सदस्यहरू स्थानीय कमिटीको सिफारिसमा जिल्ला कमिटीले, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका मेयर, उपमेयर जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटी र महानगरपालिका तथा उपमहानगरपालिकाका मेयर, उपमेयर केन्द्रबाट तोकिने पार्टीले जनाएको छ।

स्थानीय तहको उम्मेदवार हुन पार्टीले निर्धारण गरेको मापदण्डमा अनुशासित, पार्टी र जनताप्रति प्रतिबद्धलाई पहिलो प्राथमिकतामा राखिएको छ।  त्यसैगरी स्थानीय विकासका विषयमा दख्खल भएको, कुनै कारबाहीमा नपरेको र समावेशी सिद्धान्त बुझेको कार्यकर्ता प्राथमिकतामा पर्नेछन्। 'चैत अन्तिम र वैशाख पहिलो सातासम्म स्थानीय तहको उम्मेदवार तोकिसकिन्छ', ज्ञवालीले भने। ज्ञवालीले पार्टीले जिते के कस्तो कार्यक्रम सञ्चलान गर्छ भनेर केन्द्रबाट घोषणापत्र जारी गर्न लागेको पनि उनले बताए।

मधेसी मोर्चालाई देखाएर सत्तारूढ दलहरू अझै चुनावबाट भाग्न खोजिरहेको नेता ज्ञवालीले बताए। समयमै चुनाव गराउने विषयमा सरकार ढुलमुल रहेको एमालेको निष्कर्ष छ। 'स्थानीय तह जसरी गठन भएको छ त्यो हाम्रो अजेन्डा हो र स्थानीय तह चुनावको मिति पनि हाम्रै दबाबका कारण तोकिएको हो,' सचिव ज्ञवालीले भने, 'सरकारमा चुनाव गराउने दृढइच्छाशक्तिको कमी र ढुलमुले प्रवृत्तिका कारण अन्योल भए पनि चुनावबाट भाग्न सक्ने अवस्थामा सरकार छैन र भाग्न पनि दिँदैनौं।'

अहिले मधेसी मोर्चा चुनावका लागि खासै सुरक्षा चुनौती नरहेको पनि एमालेको निष्कर्ष छ। मधेसी मोर्चाभन्दा दोस्रो संविधानसभाको चुनावको समयमा बढी सुरक्षा चुनौती रहेको एमाले विश्लेषण छ। 'त्यस समयमा लडाकु रहेको दल विभाजिन भएर बनेको शक्तिले चुनाव बहिष्कारको घोषणामात्रै नभएर  सकेसम्म रोक्न प्रयास गरेको थियो', ज्ञवालीले भने।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्धारित समयमा स्थानीय चुनाव नहुने हो भने अन्य पनि प्रदेश र केन्द्रको चुनाव पनि समयमै हुन नसक्ने बताएका छन्। 'अहिले जुन विषयहरू देखाएर चुनाव नगराउने भनिँदैछ। स्थानीय तहको चुनाव हुन सकेन भने त्यही कुरा छिप्पिएर अन्य चुनाव पनि नहुने अवस्था आउँछ', ओलीले भने, '२/४ जनाको जिद्दी पुरा गर्न चुनाव रोक्न सकिँदैन।'

प्रकाशित: १५ चैत्र २०७३ ०३:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App