मुस्ताङ घारावजोङ र मार्फा-पुन्डी

मङ्गलबार, १५ चैत २०७३, ०९ : ०८ डा. रमेश ढुंगेल

144


हाम्रो अहिलेको मुस्ताङ जिल्ला कुनै बेला लो (ग्लो वा ब्लो) नामको एउटा स्वतन्त्र र बलियो अधिराज्य थियो जसलाई लोबो ग्याल्खाब भनिन्थ्यो। यस भेगको इतिहास निकै चाखलाग्दो छ। केहीअघि गरिएका पुरातात्विक अध्ययन र उत्खननले यो इलाका लगभग सातौँ शताब्दी इसापूर्वदेखि नै मानव सभ्यताको उल्लेखनीय स्थलका रूपमा विकसित भइसकेको जानकारी मिलेको छ। त्यसबेलादेखि झन्डै हजार वर्षसम्म अर्थात् इसाको छैटौँ–सातौँ शताब्दी ताकासम्म यहाँका मानिस खेतीपाती, पशुपालन आदि व्यवसाय गरे पनि प्रायः बसोबास भने शायद सुरक्षाका दृष्टिले मानवनिर्मित गुफामै गर्थे भन्ने पनि पुरातात्विक तथा ऐतिहासिक दुवै अध्ययनका आधारमा स्पष्ट भएको छ।

मुस्ताङ भेगमा आठौँ शताब्दीको मध्यताका यार्–लुङ् सैन्यको साथमा बौद्ध परम्पराको प्रवेश हुँदा शे–रिव नामको स्थानीय राज्यको अस्तित्व त्यस भेगमा थियो, जसको केन्द्र अहिले भग्नावशेषका रूपमा रहेको ठिनी नजिकैको गारावजोङ भन्ने स्थानमा थियो।

अहिलेको मुस्ताङ जिल्लामात्र नभई यसभन्दा पश्चिमका डोल्पा (दोल्–पो), जुम्ला (जुब्–लाङ्), मुगु (मु–कुम्), हुम्ला (हुम्–ला) लि–मि र दार्चुला (दार्–चोग् ला) आदि इलाका र पूर्वका मनाङ, नार, नेश्याङ, न्हुव–री, चुम् आदिसमेत सारा हिमाली क्षेत्र प्राचीनकालमा पश्चिम तिब्बतको बोन परम्परा तथा संस्कृतिको मूलस्थल मानिएको शाङ्–शुङ् अधिराज्यद्वारा अधिनस्थ थियो।  यो अवस्था मध्य तिब्बतको ल्हासाबाट राज्य विस्तारका क्रममा यार–लुङ् शासकले पश्चिमतर्फको सैनिक विजय अभियान नचलाएसम्म मात्र कायम रहन सक्यो।  त्यसकारण आठौँ शताब्दी ताकादेखि नै शाङ्–शुङ्माथि यार्–लुङ् वंशका बौद्ध शासकको अधिकार हुन पुग्यो। यस अर्थमा पश्चिम नेपालको सारा हिमाली इलाका पनि एकपल्ट मध्यतिब्बतको राज्य विस्तारअन्तर्गत पर्न जाँदा मुस्ताङ पनि तिब्बतको विस्तारित बौद्ध साम्राज्यअन्तर्गत हुन पुग्यो। शाङ्–शुङ् इलाकालाई सैन्य परिचालन गरी अधिनस्थ गरेको हुनाले यस भेगलाई त्यस बेलादेखि नै यार–लुंको भाषामा अधीनस्थ गरिएको इलाका अर्थात् ङ–री प्रदेश भन्न थालियो।  त्यसैले अघि पश्चिम तिब्बतको शाङ्–शुङ र पछि ङरी प्रदेशको इतिहाससँग मुस्ताङको इतिहास जोडिन पुग्यो। यसै इलाकामा नेपालको उत्तर–पश्चिम दिशाको सिमानाका पुराङ्, गुगे आदि क्षेत्र र कैलाश, मानसरोवर जस्ता बोन, हिन्दु तथा बौद्धका पवित्र तीर्थस्थल अवस्थित छन्। यसैगरी मुस्ताङ इलाका पनि स्वभावतः बोन, बौद्ध र हिन्दु तीर्थस्थलका रूपमा प्रसिद्ध छ। 

मुस्ताङ भेगमा आठौँ शताब्दीको मध्यताका यार्–लुङ् सैन्यको साथमा बौद्ध परम्पराको प्रवेश हुँदा शे–रिव नामको स्थानीय राज्यको अस्तित्व त्यस भेगमा थियो, जसको केन्द्र अहिले भग्नावशेषका रूपमा रहेको ठिनी नजिकैको गारावजोङ भन्ने स्थानमा थियो। शेरिव भन्ने स्थानीय राज्य बोन परम्परावादी शाङ्–शुङ्अन्तर्गत भएको हुनाले त्यहाँ प्राचीन प्राकृतिक झाँक्री प्रथाको व्यापकता थियो। त्यसैले अहिलेका लो–गेकार, मुक्तिनाथ, छुक, तिरी, कुछाव तेर ङ, नार्साङ् (ङरीका साङगे) वा नरिजोवो गोम्पा तथा गुरु साङ्फुग जस्ता माथिल्लोदेखि तल्लो मुस्ताङको थाक इलाकाको पनि तल्लो भेगसम्म नै बोन वा झाँक्री प्रथाको बलियो ठाउँ भएको हुनाले बौद्ध परम्परा र यार–लुंको भोट शासन एकैसाथ जस्तो कायम गर्न निकै जोडका साथ युद्ध भएका थिए त्यस भेगमा। त्यस क्रममा बौद्ध तान्त्रिक र सैनिक दुवैथरी खटिएका थिए। लोपोन पेमाज्युङ्नेका धार्मिक र तान्त्रिक पराक्रमका पुराना लेखोट र त्यस भेगमा भएका अहिलेसम्म प्रचलित प्राचीन सांस्कृतिक परम्परा तथा यहाँ उल्लेख गरिएका ठाउँ र तीर्थस्थलमा अहिले कायम बौद्ध परम्पराले त्यस युगको ऐतिहासिक घटनालाई जीवन्तरूपमा सम्झाइरहेका छन्। अघि बोनको अत्यन्त महŒवपूर्ण केन्द्रको रूपमा रहेको र पछि त्यत्तिकै महŒवको बौद्ध केन्द्र बनेको गाराव जोङ् नजिकैको कुछाव तेर–ङको धार्मिक–सांस्कृतिक महत्ता र गाराव जोङ्को सामरिक तथा शासन केन्द्र रूपको महत्ता यस प्रसंगमा स्मरणीय हुन्छ। 

यारलुङको आठौँ शताब्दीको पूर्वार्द्धमा भएको तिब्बती विस्तारका कारण शाङ्–शुङ् र शेरिबको राजनीतिक अवसान भए पनि त्यहाँका भाषा–संस्कृति र परम्परा भने राजनीतिक परिवर्तनसँगै तुरुन्त नासिने अवस्थामा थिएनन्। त्यसैले अहिले पनि यी दुवै भाषा र संस्कृतिको प्रभाव यस क्षेत्रमा छँदैछ। शे–क्ये नामले चिनिने भाषा र केही फरक चालचलन भएका कतिपय बस्ती र मानिस तल्लो मुस्ताङको बाह्रगाउँ इलाकामा अहिले पनि छन् र थागका तामाङ थकालीकै भाषा र संस्कृति पनि शेरिब संस्कृतिसँग धेरै मिल्दोजुल्दो भएको कुरा यस प्रसंगमा उल्लेखनीय छ। यतिमात्र नभई कुनै बेला तामाङ थकाली अर्थात् थाग्–पा र बाह्र गाउँका प्राचीन समुदाय शेरिब–पालाई संयुक्तरूपमा सम्बोधन गर्ने चलन थियो र यसो गर्दा 'थाग–शे' भनेर सामूहिक नाम प्रयोग भएका उदाहरण पनि धेरै नै पाइएका छन्। नवौं–दशौँ शताब्दीतिर आइपुग्दा उपल्लो र तल्लो लो नामले शेरिबको ऐतिहासिक नामलाई छोप्दै गयो। पछि यस भेगमा जुम्ला, पर्वत आदि अलिक शक्तिशाली राज्य देखापरेपछि यो नाम पूरै लोपजस्तै हुन पुग्यो। यदाकदा शास्त्रीय र जीवनी साहित्यका स्रोतमा विद्वान् लामा भिक्षुहरू र बोन परम्पराका गुरुहरूले भने यसनामलाई लो–मुस्ताङको नजिकको वा अन्तर्गतको प्रदेशका रूपमा अठारौँ शताब्दीसम्म पनि प्रयोग गर्दै गरेका उल्लेख भने पाइएका छन्।   

शाङ्–शुङ् र शेरिबको राजनीतिक अस्तिŒव मेटिएपछि मुस्ताङ भेग ङरीको गुगेअन्तर्गत लो प्रदेशका रूपमा प्रसिद्ध भयो।  त्यसो हुँदा लो अर्थात् मुस्ताङ प्रदेश माथिल्लो र तल्लो अर्थात् लो–तोए र लो–मे नामले प्रसिद्ध भएको देखिन्छ।  त्यसबेला पनि गारावजोङ् तल्लो लो अर्थात् तल्लो मुस्ताङको मूल केन्द्रकै रूपमा रह्यो। उता मार्–युल (लद्दाख) र माङ–युल (गुङ–थाङ) बीच फैलिएको ङरी प्रदेशमा पनि दशौँ शताब्दीमा आएर केन्द्रीय तिब्बतको यारलुङ वंशको शासन नराम्रो किसिमले पतन हुन पुग्दा केही शक्ति स्वतन्त्र अस्तित्व कायम गर्न सफल भए जसमध्ये गुगे एक थियो। वस, अघि शाङ्–शुङ् जस्तै लो अर्थात् मुस्ताङसमेत पश्चिम नेपालका हिमाली बस्ती सबै ङरीको गुगेअन्तर्गत भए। अघि तिब्बतको यारलुङअन्तर्गत हुँदा नै लोको तल्लो भाग अर्थात् तल्लो मुस्ताङको थाग भेगमा ङरी प्रदेशका रक्षकका रूपमा उर्गेन रिम्पोछे (पद्मसम्भव)को बोनलाई परास्त गर्ने पौरखको र उपस्थितिको सम्मानस्वरूप कोवाङ नजिकैको नारीजोङ (ङरीजोङ)मा चेनरेशिग अर्थात् ङरी जोबो (हिजोआज नारीजोबो वा नार–साङ्), गुरु साङ्फुगमा, गारव जोङ नजिकैको डाँडोमा (पछि यसलाई कुछव् तेर–ङ अर्थात् गुरुरिम्बोछेका पाँच प्रतिनिधि रत्न भएको तीर्थ मानियो) र मुक्तिनाथ अर्थात् छुलामेवरमा आर्य–अवलोकेतेश्वर वा फग्प चेनरेशिग र गुरुरिम्पोछेको संयुक्त स्थलका रूपमा मान्यता भइसकेको थियो।  त्यसैगरी माथिल्लो लो–मुस्ताङको लो–गेकार क्षेत्रमा गुरु रिम्बोछेको तिब्बतमा बोनलाई परास्त गरेको पहिलो महŒवपूर्ण धार्मिक पौरखको तीर्थ क्षेत्रका रूपमा मान्यता र ख्याति चलेको थियो।

पछि दशौँ र बाह्रौं शताब्दीको बीचमा बोनको विद्रोहका कारण तिब्बतको यारलुङ साम्राज्यको अवसानसँगै बुद्धधर्म र बौद्ध परम्परा पनि छिन्नभिन्न भई पतनको अवस्थामा पुग्दा यस लो क्षेत्रमा र बोनका पुराना अरू महŒवपूर्ण केन्द्रमा बोनको पुनरोत्थानको युग आयो। त्यसबेला तल्लो लो अर्थात् मुक्ति क्षेत्रको पाग्लिङ (हालको कागबेनी नजिकको पिगलिङ)मा तिब्बतको चाङ इलाकाको येरु प्रदेशका प्रसिद्ध बोन गुरुले एउटा ठूलो बोन शिक्षा केन्द्र स्थापना गरे जसमा पाँच सय ४३ जनासम्म विद्यार्थी पुगेका र तीमध्ये शेरिब क्षेत्रका मात्र दुई सय ४६ जना भएको उल्लेख यी बोन गुरुको जीवनीमा उल्लेख छ।  त्यसबेला यो पागलिङलगायत तिन्युग् (तिरी), छुलामेवर (मुक्तिनाथ), कुछाव तेर–ङ (ठिनी) र प्राचीन शेरिबअन्तर्गत पर्ने अरु चेलेप (चैले) र त्यसदेखि दक्षिणका छुक, ते, ताङवे, ढाग कार जोङ (धागाजोङ्) आदि बस्ती र कोमाङ (कोवाङ) तर्फका ङरीजोङ, नाब्रुंग जोङ आदि पनि बोनका केन्द्रमा पुनः परिणत हुन पुगेका थिए। शासन र यस भेगको मूल सभ्यताको केन्द्र भने ठिनी र कुछावतेर–ङ नजिकको प्राचीन गाराव जोङ नै थियो। 

त्यसो भए पनि ११औँ शताब्दीदेखि नै तिब्बतका बौद्ध परम्पराका योगी लामा मिलारेपा, लामा साङगे, टुल्कु लात्योए मारपो, रिनछेनसाङ्पो, लामा रोङ्–गोम, महापण्डित शाक्य श्रीभद्र (कश्मीरका), विद्वान् पण्डित जयानन्द (सिंजाका), लो–मुस्ताङकैै अन्तर्राष्ट्रिय ख्याति र सम्मान पाएका लामा पण्डितजस्तै ठोफू लोचावा, लोचावा शेरव रिञ्छेन, ङरीका  महापण्डित मानिएका पेनछेन पेमावाङ–ग्याल जस्ताका देनले बौद्ध परम्पराले पनि आफ्नो स्थान बनाउन हर प्रयास बाँकी राखेको थिएन। यसै बेला डि–गुङ काग्यु सम्प्रदायको कैलाश–मानसरोवर इलाकामा स्थापित ग्याङ–ढाग गोम्पाअन्तर्गत एउटा बौद्ध गोम्पा बोनको केन्द्रमध्येको छुलामेवर वा मुक्तिनाथ क्षेत्रमा नै स्थापना गर्ने कामसमेत भएको थियो।  योगी लामा मिलारेपा स्वयं अघिको ङरी जोङ वा ङरी जोबोको स्थानमा आएर त्यसलाई पुनः बौद्ध परम्परामा फिर्ता ल्याउने काममा संलग्न भएका थिए। एकप्रकारले बोन र बौद्धबीच प्रतिस्पर्धाजस्तो स्थिति थियो ङरीका बोनको प्रभावका विशेष र मुख्य केन्द्रहरूमा।

यसै समयताका अर्थात् १०औँ–११औँ शताब्दीताका स्थानीय बोन र बौद्ध दुवैको विरोधी शक्ति ग्वार्लोक तुर्क वा स्थानीय तिब्बती बोलीमा सोग्पो वा होर्–पोको आक्रमण र अधिकार सारा पश्चिम तिब्बत र वर्तमान नेपालको पश्चिमी हिमाली इलाकामा भयो। यस शक्तिले कर्णाली र गण्डकी इलाकाका सबैजसो हिमाली र पहाडी इलाका अधीनस्थ गर्‍यो। यससँग एक्लै मुकाबिला गर्ने तिब्बतमा कुनै अर्को बलियो शक्ति नभएकाले तिब्बती बोलीमा याचे वा खाचे भनिने नागराजको नामले चिनिने खस समुदायका लडाकु नायकलाई पश्चिम तिब्बतका स्थानीय शासक र जनताले आफ्नो सहायताका निम्ति आउन आह्वान गरेको हुनाले काश्मीर–काश्गरतिरबाटै यो शक्ति पश्चिम तिब्बत हुँदै प्रवेश गर्‍यो। तुर्क, मंगोल वा सोग्पो–होरजस्तै निर्भिक घोडचडी लडाकु थिए, यी खस याचे पनि। यिनले बौद्ध र बोन दुवैको संरक्षण र सोग्पो वा होरको थिचोमिचोविरूद्ध स्थानीयलाई सघाउने सर्तमा काम गरे। बिस्तारै अर्थात् १२औं शताब्दीमा आइपुग्दा तिब्बतको सारा ङरी इलाका नेपालको पश्चिम हिमालयसमेत तथा कुमाउँ–गढवाललाई पनि अधिनस्थ गर्‍यो।

सोग्पो वा ग्वार्लोक तुर्क वा वा मंगोल होरपोलाई काबुमा राखिदिए यी खस याचे योद्धाले। ११औँ शताब्दीमा लो–मुस्ताङमा आउने औतारी तान्त्रिक लामा लात्योए मारपोले याचेपा वा खस सैन्यको साथमा ग्वार्लोक तुर्क सोग्पोविरुद्ध तान्त्रिक अनुष्ठान गर्दै धनुकाँड प्रयोग गरेर ढुंगासमेत छेड्ने गरी उपल्लो गण्डकी भेगमा युद्ध गरेको चर्चा मारलुङ्पा लामाको जीवनीमा उल्लेख भएकाले तल्लो मुस्ताङ वा अघिको शेरिबदेखिको प्रसिद्ध किल्ला स्वरूपको बस्ती गारावजोङलाई यस्ता आक्रमणकारी सोग्पो वा होरहरूले आफ्नो कब्जामा लिन सफल भएका थिए भन्न सकिन्छ। ११औँ शताब्दीका स्थानीय सोग्पो सरदार शासक भारादान्दुरले सारा कर्णाली र गण्डकी प्रदेशका हिमाली खण्ड अधिनस्थ गरेको चर्चा मारलुङ्पाको जीवनीमा वर्णित छ। त्यसैगरी अर्का सोग्पो सरदार ख्यिरिग्निद भन्ने किर्गिस्थान तर्फबाट आक्रमण गर्दै उपल्लो कालीगण्डकी इलाकामा आइपुगेको चर्चा पनि पाइएको छ। त्यस्तै काश्मीरका खस पण्डित कल्हणको कृति राजतरंगिणीमा वर्णित यसै समयताकाका काश्मीरका खसराजा जयापीड र अरमुदीको गण्डकी भेगको युद्धको घटनाले पनि अरमुदीलाई अर्का सोग्पो सरदारकै रूपमा अप्रत्यक्षरूपमा परिचय दिएको छ।

यस्ता घटनाले खस र सोग्पोबीच पश्चिम तिब्बत र नेपालको हिमालयमा शक्तिका निम्ति संघर्ष भएको र खसको विजय भई स्थानीय बोन–झाँक्री तथा बौद्धहरूको उद्दार याचे खसबाट भएको थियो भन्ने कुरा राम्रैसँग बुझ्न सकिन्छ। यसै क्रममा सिञ्जा राजधानीबाट शासन गर्ने अत्यन्त शक्तिशाली याचे खससम्राट क्राचल्लदेव (तिब्बातिमा ढाग्–पा दे) ले पश्चिममा गढवाल र स्पिती, लद्दाखदेखि पूर्वमा गुङ्थाङ–क्यिरोङ इलाकासम्म हिमालवारी र पारिको (ट्रान्स हिमालयन) साम्राज्य खडा गरेपछि उत्तर–दक्षिण व्यापार र सामरिक महŒवका मूल नाकाका किल्लाहरूमा आफ्ना निकट अधिकारीलाई स्थानीय शासकका रूपमा नियुक्त गर्दा तल्लो मुस्ताङको खसान्त इलाकाको किल्लामा आफ्नै एक छोरा राजकुमारलाई पठाएको चर्चा ङरी ग्याल–रव (ङरीको राजवंशको इतिहास) मा भएको पाइएको छ। यसरी ठिनीको गारावजोङको किल्लामा सोग्पोलाई हटाई शासन गर्ने कुशल खस सम्राट क्राचल्लका थिए र क्राचल्लले उक्त इलाका अधिनस्थ गरेका हुनाले र त्यस नाकाको आर्थिक, सामरिक तथा अन्य विविध महŒव पनि त्यत्तिकै हुनाले आफ्नै छोरालाई नै स्थानीय शासकमा नियुक्ति गरेका हुन् भनेर बुझ्न सकिन्छ।

यसपछि लो मुस्ताङ राज्य स्वतन्त्र हुनुअघि १३औँ शताब्दीपछि  गुङथाङका राजा बुमदेगोनले एउटा छुट्टै किल्ला (रवग्याल नामको) तल्लो मुस्ताङमा बनाएको र शेरिब इलाका र तामाङ थकाली रहेको सीमान्त क्षेत्रसम्म शासन कायम गरेको चर्चा गुङथाङ् दुङ–रव (राजवंशको इतिहास) मा वर्णित छ। अर्को महŒवपूर्ण अति पुरानो किल्ला त्यस भेगमा अर्को नभएको हुनाले यो किल्ला पनि गरवजोङकै हुनुपर्छ भन्ने सहज अनुमान हुन्छ। यो जोङ वा किल्लाको नाम दुङ–रवमा रवग्याल हुनु र खास प्रचलित नाम पनि ग–रव हुनुले यी दुवै नाम एकै किल्लाको हो कि भन्ने अनुमान पनि हुन्छ।

पछि उत्तरमा लो–मुस्ताङ, दक्षिणमा पर्वत (ढु) र पश्चिममा जुम्ला राज्य शक्तिशाली भएको समयमा पनि गरवजोङको महŒव अझै अधिक रहेको देखिन्छ।  जुम्लाविरुद्ध पर्वत र डोटीसमेत मिलेर मुस्ताङले लडाइँ गर्दा र अरु धेरैपटक गरवजोङमा लडाइँ भएका थिए। पछिल्लाकालमा भने कागबेनीको किल्लामा पनि लडाइँ भएको उल्लेख पाइन्छ।   

१६औँ शताब्दी ताकादेखि भने गरवजोङबाट यस भेगमा स्थानीय शासक भई काम गर्ने थिङ थरका परिवार देखिएका छन्।  यी थिङ थरका गरवजोङ्का राजखान्दानमा सुरु–सुरुमा तीनजना मूल थिङ भाइ हर्ताकर्ता भएका कारण यस स्थानीय राज्यलाई तीन थिङ्को गाउँ वा राज्य भनेर बुझाउने क्रममा स्थानीय भाषामा सुम–पही युल अर्थात् तीन थिङहरूको राज्य वा प्रदेश भन्दाभन्दै सुम्प–गरवजोङ भन्ने चलन चलेको देखिन्छ।  गरब जोङका राजखान्दानका पूर्वज तीनजना मूल थिङ वा थिन थरका आधारमा थिनबाट अपभ्रंश हुँदैपछि ठिनी नाम हुन पुगेको देखिन्छ। पुराना लेखोटमा थिन गरव–जोङ लेखिएको पाइन्छ भनेपछि ठिनी गरव जोङ्। यस महŒवपूर्ण प्रदेशका थिङ वंशका पहिलो स्थानीय राजाका रूपमा ग्यलथङ मिग्चेन दखिन्छन् जसका छोरा ग्यल थोकरचेन हुन्। ग्यल थोकरचेनका मामाको रूपमा राजा पुन्ड्रेरपुनरे (उच्चारणमा पुन्डे) देखिन्छन् जो पुन्डी वा पछि म्हरफग (मार्फा) तर्फका राजा बनाइएका देखिन्छन्। उनको शासन इलाका पश्चिमतर्फको सेरखुङ र स्योङ, बोङ, पोङ, थल्चे, शिशिगङ, लम्बुग्य, गुम्ली थाङ, कुसुमथाङ, पुंडेग्युङ हुँदै दमाङको फाँटतर्फ थियो। उनलाई ठिनी गरवजोङका राजासँगको सम्झौताअनुरुप सेर्खुङ, स्योङतिरबाट झर्ने मूल पानीको स्रोतको मालिक वा राजा मानिएको थियो। त्यही पानीले त्यस भेगको मूल घट्ट चल्थ्यो। जुम्लातर्फबाट आक्रमण आदिको सूचना र पहिलो सुरक्षाको जिम्मेवारी पनि थियो पुन्डे राजा र उनका जनतामा। सम्झौताअनुरूप राजा थोकरचेनको विवाह मामा पुन्डेकी छोरीसँग भएको थियो। त्यही सम्झौताअनुरूप दुवै राजपरिवारबीच दोहोरो बिहेवारी गर्नु अनिवार्य थियो अर्थात् दुवैतर्फका चेली एकअर्कोतर्फ दिनैपर्ने सर्त थियो।

यी पुन्डे राजाको पहिलेको आवास अहिलेको मार्फाको स्याउबारी भएको दमाङ भन्ने पुरानो बस्तीको ठाउँभन्दा पनि माथि पुन्डे ग्युङ भन्ने ठाउँमा थियो। यिनै राजाका नामबाट अहिलेको मार्फाको पुरानो नाम पुन्डी र त्यहाँका मानिसलाई पुन्तन, पुन्याल वा पुनेलसमेत भनिन्थ्यो। कुनै–कुनै लेखोटमा यस प्रदेशलाई पुङि्ठ वा पुङ्ठे पनि लेखिएको पाइएको छ। तिब्बती लिखतमा पुनख्रे हुँदा बोलीमा पुङ्ठे हुने र ख लोप गरी रकार मात्र उच्चारण हुँदाचाहिँ पुनरे हुन्छ। कुनै लेखोटमा पुनरे राजा भनेको कारण पनि यही तिब्बती र नेपाली लिखत र उच्चारणमा यताउता गरी युतावात अर्को भाषामा फेरि–फेरि उतार भइरहँदा पुन्ड्रे राजाको नामका विभिन्न रूप लेखोटमा देखिएको हुनुपर्छ। स्थानीय परम्परामा यी पुन्डी राजालाई सलिराजा पनि भन्ने गरेको देखिन्छ र त्यस परिवारलाई प्याफोवे। अहिले त्यो प्याफोवे परिवार हिराचन थरभित्र परेको पाइएको छ।

पुन्डे राजाका सन्तति प्याफोवे वा सलिराजाको रानीको समेत नाम भएको करिब एक सय ५० वर्षअघि लेखिएको नौ वंश पुस्ताको नामयुक्त र सलिराजासम्बन्धी सुरुदेखिका गीतको टिपोटसमेत भएको एउटा कागज र ६२ वर्षअघि बाँधिएको सलिराजा वा प्याफोवे परिवारको परम्परागत सामाजिक अधिकार र मर्यादा विषयको स्थानीय चिख्याव सुब्बाले प्रमाणित गरेको एक टिपोट पनि प्राप्त हुनाले यो पुरानो स्थानीय राजपरम्पराका बारेमा थप जानकारी भएको हो। यस परिवारका महिलासमेतले पतिको अनुपस्थितिमा राज परम्पराकै जस्तोगरी आफ्नो अधिकार क्षेत्रको स्थानीय प्रशासनको र सामाजिक सांस्कृतिक काम चलाउने गरेका ऐतिहासिक लेखोट पनि पाइएका छन्। यस पुन्डे राजपरिवारका केही व्यक्ति घर ज्वाइँका रूपमा ठिनीमा गएर बसेको कुरा पुन्डे राजपरिवारका एक वा दुई घर अहिले पनि ठिनीमा समेत भेटिएका हुनाले यस इतिहासको राम्रैसँग पुष्टि भएको छ। धेरै पुस्तासम्म गरवजोङ वा ठिनी सुम्पोका थिङ राजवंश र पुन्ड्रे राजघरानाबीच मामा–फुपू चेलाचेली विवाह गर्नैपर्ने परम्पराका कारण छोरा सन्ततिको अभावका समयमा घर ज्वाइँ अर्थात् स्थानीय प्रचलित माग्पा परम्पराअन्तर्गत दुवैतर्फबाट यताउता बसाइँ सर्ने सम्भावना त हुन्थ्यो नै।     

ठिनी राजाकी एक छोरी निमारानीलाई भने तामाङ थकाली परिवारका हंसराजा भन्नेलाई दिएको कुरा पुराना केही टिपोटमा देखिएको छ, जसलाई 'थावा खुवछेन् राजा' पनि भन्ने चलन थियो। यो खुवछेन र थावा भनेको दूर र सीमान्त इलाकाको राजा भनेकोमात्र हो। यसै थावा शब्दबाट पछि थाक र थकाली शब्द वा समुदायको नाम बन्न पुगेको देखिन्छ। यसरी अहिलेको हाम्रो मानवीय समुदाय र स्थानीय संस्कृतिको चासोको युगमा यस्ता ऐतिहासिक जानकारीले वास्तविकता बुझ्न र त्यसैअनुरूप सच्चा र सकारात्मक बाटो पहिल्याउन मद्दत गर्ला भन्ने अपेक्षा गर्न सकिएला।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

आमा बन्दै प्रियंका

आमा बन्दै प्रियंका

अमेरिकी गायक निक जोनाससँग डेट गरिरहेकी बलिउड नायिका प्रियंका चोपडा आमा बन्ने भएकी छन् । उनी वास्तविक जीवनमा नभई निर्माण...

‘मै जस्तो भैरे’

‘मै जस्तो भैरे’

सहायक कलाकारका रुपमा फिल्मी करियर सुरु गरेका नायक दयाहाङ राईले प्रमुख भूमिकामा अभिनय गर्दासम्म विभिन्न चरित्र निर्वाह गरिसकेका छन् ।

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजकुमारी फकाउँदै सलोन र बिनोद

राजपरिवारको झल्को दिने गरी फिल्म ‘सुश्री सम्पत्ति’को गीत ‘हुकुम’को छायांकन गरिएको छ । पत्रकार सुब्रतराज आचार्यको निर्देशनमा बनिरहेको फिल्मको गीतको...

रुसी थिएटरमा ‘हिचकी’

रुसी थिएटरमा ‘हिचकी’

गत मार्च २३ मा रिलिज बलिउड नायिका रानी मुखर्जीको फिल्म ‘हिच्की’को चर्चा अहिले पनि दर्शकमाझ उस्तै छ । ...