७ वैशाख २०८१ शुक्रबार
समाज

तेब्बर विद्युत महसुल असुल्दै सपिङ मल

ललितपुर- एक युनिट बिजुलीको दर कति होला? नेपाल विद्युत प्राधिकरणले निर्धारण गरेअनुसार प्रतियुनिट कुल १२ रुपैयाँ ९० पैसा। तर काठमाडौंका चर्चित  ठूला सपिङ मलहरुले व्यापारीसँग प्रतियुनिट ३० रुपैयाँको दरले विद्युत महसुल असुलिरहेका छन्।

काठमाडौंका ठूल्ठूला सपिङ मलहरुले व्यापारीहरुबाट निर्धारित दरभन्दा निकै बढी प्रतियुनिट २१ देखि ३० रुपैयाँसम्म रकम असुल्ने गरेका छन्। ती मलहरुले हरेक व्यापारी पसलमा सवामिटर जडान गरिदिएका छन्। जसको गणणाका आधारमा एक युनिटबराबर ३० रुपैयाँ रकम असुल गरिएको गुनासो व्यापारीहरुले गरेका छन्। 

एउटा सपिङ मलमा व्यावसाय गरिरहेका ऋषिराम चौलागाईंले मलहरुले निर्धारित दरभन्दा निकै बढी महसुल असुलिरहेकाले व्यापारीहरु मर्कामा परेको बताए। उनले महसुलवापत चर्को रकम तिर्नुपरेको बारे मल सञ्चालकसँग कुरा गर्दा सञ्चालकहरुले पसल नै  छाड्न चेतावनी दिनेगरेको दुखेसो पोखे।

मल सञ्चालकहरुले भने विद्युतको दर पहिल्यै नै जानकारी गराएर मात्र सटर भाडामा दिने गरिएको  बताए। ललितपुर मलका प्रमुख नेपाल डंगोलले व्यापारीहरुले तोकिएको महसुल दर तिर्ने शर्तमा नै सटर  भाडामा लिनेगरेको दाबी गरे।

काठमाडौं मलका सञ्चालक राजु गोर्खालीले सटरको भाडा र विद्युत महसुल कार्य मलको आन्तरिक विषय भएको बताए। ती मलहरुमा विद्युत महसुलको दर मात्र नभएर सटरको भाडा पनि अचाक्ली बढाइएको छ। तीन महिनाअघि ३० हजार रहेको सटरको भाडालाई मल सञ्चालकहरुले बढाएर ९० हजार रुपैयाँमा पुर्‍याएको एकजना व्यापारीले गुनासो गरे। सटरको महँगो भाडाले गर्दा आम्दानीभन्दा तिरो नै बढी हुनेगरेको व्यापारीहरुको भनाइ छ। सटरको भाडा अचानक बढाइएपछि काठमाडौं मलमा व्यापार गर्दैआएका २५ जनाभन्दा बढी व्यापारीहरु सटर छाडेका छन्।

मलका सञ्चालकहरुले नेपाल विद्युत प्राधिकरणबाट विद्युत प्रवाह नभएको बेला जेनरेटर चलाएर विद्युत आपूर्ति गर्नुपरेको हुँदा विद्युतको महसुल दर बढाउनुपरेको बताए। 

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अकिारीले प्राधिकरणले भवन सञ्चालकसँग एकमुष्ठ रकम बुझ्दै आएकोले विद्युतको निर्धारित दरभन्दा बढी असुल भइरहेको बारे आफूहरुलाई थाहा नहुने बताए। उनले सपिङ मलहरुमा अनुगमन थालिने र बढी महसुल लिइएको पाइएमा कारवाही गरिने जानकारी पनि दिए।

क्याप्सनः विद्युत प्राधिकरणले निर्धारण गरेको दरभन्दा दोब्बर विद्युत महसुल उठाइएको रसिद।

प्रकाशित: १५ चैत्र २०७३ ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App