८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवार छान्न गाउँ पसे दल

गोरखा- स्थानीय तहको चुनाव नजिकिँदै गर्दा गोरखामा राजनीतिक दलहरू उम्मेदवार खोज्न गाउँ पसेका छन्। केन्द्रदेखि जिल्ला स्तरका नेताकार्यकर्ता भर्खरै पुनर्संरचना भएको गाउँपालिका, नगरपालिका र वडा केन्द्रित कार्यक्रममा खटिएका हुन्।

राजनीतिक दलले वडादेखि गाउँपालिका र नगरपालिकाको तहसम्म पार्टी गठन, सम्भावित उक्मेदवार, जनताका अपेक्षा बुझ्ने गरेका छन्।

नौ गाउँपालिका र दुई नगरपालिका रहेको यहाँ ९४ वटा वडा छन्। सबै वडामा वडाध्यक्षसहित पाँच जना उम्मेदवार उठाउनुपर्छ। गाउँपालिका र नगरपालिकामा प्रमुख–उप्रमुखसहित २२ जना उम्मेदवार चयन गर्नुपर्ने प्रावधान रहेको निर्वाचन कार्यालयले जनाएको छ। एउटा दलले वडादेखि गाउँ र नगरपालिकासम्म उम्मेदवार सबै पदमा उठाउने हो भने चार सय ९२ जना तयार गर्नुपर्छ। यीमध्ये ४० प्रतिशत महिला हुनुपर्नेछ।

उम्मेदवार उठाउन र छनोट गर्न दलहरू हानथाप गर्दै कार्यक्रम गरिरहेका छन्। सक्रिय कार्यकर्ता रहेको ठाउँमा पहिलेदेखि राजनीतिक दलमा आबद्धलाई टिकट दिने, केही ठाउँ निस्त्रि्कय तर सर्वमान्य खोज्ने, अन्य पार्टीको भन्दा आफ्नो उम्मेदवार बलियो छान्ने क्रममा दलहरु गाउँ पसेका हुन्।

ठूलो संख्यामा उम्मेदवार छनोट गर्नुपर्ने भएकाले जिल्ला र केन्द्रीय नेता गाउँगाउँमा पुगेका छन्। गाउँ, नगर र प्रदेशको तहमा आफ्नो उम्मेदवारी परेका बेला सहयोग पुग्ने धेयले आफू निकटका व्यक्तिलाई टिकट दिलाउन नेताहरू जोडबल गरिरहेका देखिन्छन्। वडाको जिल्लाले टुंग्याउने र गाउँ, नगरको जिल्ला पार्टीले सिफारिस गरेर प्रदेशले उम्मेदवारको टुंगो लगाउने दलका जिल्ला नेताहरू बताउँछन्।

कांग्रेस गोरखाले एक सातादेखि गाउँगाउँमा चुनावी अभियान चलाइरहेको जिल्ला सभापति हरिबहादुर घलेले बताए। 'धार्चे मनास्लु गाउँपालिकाबाहेक सबैजसोमा कार्यक्रम भइरहेको छ। केन्द्रीय नेताहरु गाउँगाउँका कार्यक्रममा सहभागी छन्’, उनले भने। कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ आरुघाट, केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे अजिरकोट, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्दुल सतारलगायत  गाउँका कार्यक्रममा केन्द्रित छन्। उनका अनुसार जिल्ला पार्टीका पदाधिकारी पनि नयाँ तहको संरचनाअनुसार पार्टी गठन, चुनावका लागि उम्मेदवार छनोटमा लागेका छन्। वडा र गाउँ तहका कार्यकर्तालाई आउँदो स्थानीय तहको चुनावका बारेमा प्रशिक्षण दिने कार्यक्रम गर्न जिल्ला निर्वाचन कार्यालयले निर्देशन गरेको छ।

एमाले र माओवादी केन्द्रले नयाँ स्थानीय तहमा पार्टी पुनर्गठन गरिरहेका छन्। एमालेले धार्चे मनास्लुबाहेकका दुई नगरपालिकासहित आठ गाउँपालिकामा पार्टी गठन गर्दै चुनावी अभियान गरिसकेको उपाध्यक्ष यादव बस्नेतले बताए। उनले भने 'कार्यकर्ता बटुल्दै उम्मेदवार खोज्ने अभियानमा छौं’, उनले भने। वडाध्यक्ष र सदस्यका लागि उम्मेदवार खोज्ने अभियान चलाइएको र त्यसमा जिल्लादेखि केन्द्रीय नेतासम्म लागिपरेको उनले बताए। केन्द्रीय सदस्य रामशरण बस्नेत, अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य सम्झना देवकोटालगायतका नेता गाउँमा खटिएका छन्।

माओवादी जिल्ला समितिले नयाँ स्थानीय संरचनाअनुसार चारवटा गाउँपालिकामा चुनावी अभियानसँगै पार्टी गठन गरेको जिल्ला अध्यक्ष लेखबहादुर थापाले बताए। केन्द्रीय सचिवालय सदस्य हरि अधिकारी, केन्द्रीय कार्यालय सदस्य हितराज पाण्डे, केन्द्रीय सदस्यहरू कृष्ण धिताल, चूडामणि खड्कालागायत चुनावी अभियानमा गाउँमा छन्।

राप्रपा गोरखाले बिहीबार मात्रै जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराएको छ। १५ गतेको जिल्ला कमिटी बैठकपछि स्थानीय तहमा जाने पार्टीले जनाएको छ। जिल्ला सचिव सुदीप ढकालले केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङ र सहप्रवक्ता मोहन श्रेठ आएर जिल्लास्तरीय चुनावी प्रशिक्षण कार्यक्रम दिइसकेको बताए। ढकालले भने, 'दल दर्ता नभएकाले चुनावी कार्यक्रम गर्न ढिला भएको थियो, अब हामी जिल्ला कमिटीबाट निर्णय गरेर कार्यक्रमसहित गाउँ जान्छौं।’ जिल्ला निर्वाचन कार्यालयमा अहिले १५ दल दर्ता छन्।

नयाँ शक्ति नेपालले शनिबार जिल्ला समितिको बैठक गरेर गाउँगाउँमा चुनावी अभियान चलाउने योजना तयार गरेको जिल्ला संयोजक रमेश पोखरेलले बताए।

प्रकाशित: १५ चैत्र २०७३ ०२:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App