६ वैशाख २०८१ बिहीबार
राजनीति

मधेस केन्द्रित दल सहित निर्वाचन हुन्छ: सभामुख

दाङ- सभामुख ओनसरी घर्तीले मधेस केन्द्रित दलसहितको सहभागीतामा स्थानीय तहको निर्वाचन हुने बताएकी छन्। अबको दुईसाता भित्रमा सहमती बन्ने र मधेसवादी दलहरु समेत वैशाख ३१ को चुनावमा सहभागी हुने दाबी उनको छ। ‘स्थानीय तहको निर्वाचन सबै दलको सहमतीमा देशैभर एकै साथ हुन्छ,’सोमवार दाङमा नागरिकसंग कुराकानी गर्दै सभामुखले भनिन् ‘अबको दुईसाता भित्रमा सबै दलबीच सहमती बन्ने छ।’ मधेसवादी दलहरुले उठाएको सीमांकनको बिषयलाई आयोग मार्फत टुंग्याउने र संविधान संशोधनका बाँकी बिषयलाई संसद वा बिशेष समिति बनाएर टुंग्याउने बिषयमा दलहरु सहमती नजिक पुगेको उनले जनाईन्। अहिलेको राजनीतिक निकासको सहि बाटो यहि भएको र यो बाटोमा दलहरु नजिकिएको समेत उनले बताईन् ।  ‘यो बिषयमा प्रतिपक्ष सहमत भएको अवस्था छ,’उनले भनिन् ‘मधेसवादी दलहरुले पनि यसलाई सकारात्मक रुपमा लिएका छन् ।’ यहि बिषयमा आँफूले गरेका छलफलहरु दिन प्रति दिन लचिलो बन्दै गईरहेको समेत जनाईन्।

उनका अनुसार सीमांकनको विवादलाई आयोग मार्फत टुंग्याउने भन्ने बिषयमा मोटामोटी सहमती भैसकेको भएपनि संशोधनका बाँकी बुँदाहरुलाई संसद वा विशेष समितिबाट टुंग्याउने भन्नेमा ठोस सहमती हुन बाँकी छ। हाल चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दहाल स्वदेश फर्केलगत्तै यसबिषयमा गम्भिर छलफल हुने पनि उनले बताईन्। ‘यो मुद्दाले प्रधानमन्त्री ज्यू फर्किएपछि तत्कालै टुंगो पाउने छ,’उनले भनिन् ‘सबै दलहरु चुनावमा सहभागी हुन्छन् तपाईले पनि यहि अनुसारको प्रचार प्रसार गरेर चुनावी वातावरण निर्माण गरिदिनुस्।’

दुई नम्बर प्रदेश बाहेकका अन्य पाँच प्रदेशमा भएपनि निर्वाचन गर्न सकिने भन्दै चलाईएका बहस सान्दर्भीक नभएको भन्दै उनले मधेसलाई उपेक्षा गरेर जान नहुने बताईन्। ‘दुई नम्बर प्रदेश के नेपाल होईन,त्यहाँका जनता नेपाली हैनन् ? वैशाख ३१ मा नेपालैभर निर्वाचन हुन्छ भन्ने मानसिकता बोकेर सरकार र दलहरु त्यो वातावरण निर्माण गर्न लागिपर्नुपर्छ,’उनले भनिन् ‘दुई नम्बर बाहेकका प्रदेशमा मात्रै निर्वाचन गर्ने भनेर गरिने बहस जायज होईन।’ अन्यथा यसको सन्देश नकारात्मक रुपमा प्रवाह हुने र दुई नम्बर प्रदेशका जनताले आँफुहरु माथि थप उपेक्षा गरेको महशुस गर्ने उनको भनाई छ।

प्रकाशित: १४ चैत्र २०७३ १४:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App