८ वैशाख २०८१ शनिबार
अर्थ

नाफाको लोभमा जोखिम बढाउने खेल

झापा- थोरै नाफाको लोभमा व्यापारीले भारतीय बजारबाट अवैध रुपमा पंक्षी तथा पंक्षीजन्य वस्तुको आयात नरोक्दा बर्डफ्लु लगायतका संक्रामक रोगको जोखिम पूर्वमा उच्च बनेको छ। पंक्षी तथा पशुस्वास्थ्यका विज्ञहरुका अनुसार पूर्वका नाकाहरुबाट भइरहेको अवैध आयातले जुनसुकै बेला भयावह अवस्था निम्त्याउने खतरा छ।

 केही समययता पूर्वका विभिन्न नाकाबाट प्रहरीले ठूलै परिमाणमा कुखुरा, चल्ला तथा मासु बरामद गरिरहेको छ। प्रहरी तथा पशु क्वारैन्टाइनको आँखा छलेर भइरहेको कारोबारको आकार झनै ठूलो छ। यसले नेपाली भूमिमा दोहोरो मार पारिरहेको जानकारहरु बताउँछन् । ‘अवैध आयातको मार दोहोरोछ’, पशु स्वास्थ्यका विज्ञ डा. थिरेन्द्र शर्मा भन्छन् ‘यसले एकातिर बर्डफ्लु जस्ता संक्रामक रोगको जोखिम दर ह्वात्तै बढाउँछ । अर्कातिर नेपाली कुखुरापालकहरुलाई मारमा पार्छ ।’ उनका अनुसार भारत पश्चिम बंगालको नेपालसँग साँध जोडिएका क्षेत्रहरुमा बाह्रैमास बर्डफ्लु फेला परिरहेको हुन्छ । तर, पर्याप्त सरकारी अनुदान तथा अन्य सुरक्षा योजनासहित पालन हुने कुखुरा व्यवसाय एक्कासी धराशायी भइहाल्दैन । तर, नेपालतिरको अवस्था ठ्याक्कै उल्टो छ ।

नेपालमा अनुदान त परको कुरा किसानले ज्यादै महँगो दरको व्याजमा ऋण लिएर लगानी गरेका हुन्छन्। ‘यस्तोमा एकपटक मात्रै रोग संक्रमण भयो भने किसान उठ्नै नसक्नेगरी फँस्छन्’, डा. शर्माको भनाई छ।  रोगै नफैलिँदा पनि नेपाली उत्पादनले भारतीय कुखुरासँग दाममा प्रतिष्पर्धा गर्न सक्दैन । जसका कारण व्यापारीहरु भारतीय कुखुरा बेचेर धेरै नाफा कमाउने ध्याउन्नमा लाग्दा जोखिमको पारो सधैँ उच्च भइरहेको छ । अवैध रुपमा भइरहेको आयातको दर कति उच्च छ भन्ने थाहा पाउन यो सातभरीका केही घटनाले नै प्रष्ट पार्छन्।

 

 मेची भन्सारस्थित  सशस्त्र प्रहरी बल राजस्व एवम् भन्सार सुरक्षा गुल्म काँकडभिट्टाले गएको शनिबार डेढ क्विन्टल कुखुराको मासु एकैपटक नियन्त्रणमा लियो । भारतबाट तस्करी गरी नेपाल ल्याउने क्रममा विहान ४ बजेतिर मेचीनगर—५ नकलबन्दा क्षेत्रबाट मासु नियन्त्रणमा लिइएको हो । कुखुरा काटेर झोलाको तल्लो भागमा मासु राख्ने र माथि सागसब्जीलगायतका समान राखेर ल्याउँदै गर्दा  सशस्त्र प्रहरीले फेला पारेको थियो ।  त्यसको साता  वित्न नपाउँदै मंगलबार बिहान सशस्त्र प्रहरीले कुखुरा नै  पक्राउ गरी नष्ट गर्यो ।  विहान १० बजे मेचीनगर—६ स्थित मेची डाँडाबाट ७५ वटा ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर खाल्डोमा हालेर नष्ट गरेको थियो ।

पूर्वी नाकाबाट पंक्षी तथा पंक्षीजन्य बस्तु यसरी बरामद भएको यो    पहिलो घटना होइन् न अन्तिम हुने कुनै टुंगो नै छ । बरु प्रहरीको आँखा छलेर हुने कारोबारको ठूलो आकारले नेपाली कुखुरा उद्योगलाई क्षण–क्षणमै धराशायी बनाउने जोखिम बढाइरहेको छ ।  प्रहरीका अनुसार कारोवारीहरुले पूर्वी नाकालाई आफ्नो धन्दा चलाउन प्रयोग गर्ने गरेका छन् । यसमा संलग्न धन्दावालाहरुका लागि यो नाका ट्रान्जिट प्वाइन्टका रुपमा रहेको छ ।  यसअघि पटक पटक नाकाबाट कुखुरा चल्ला र मासु तस्करी हुँदै आएको छ । एक  महिनाअघि प्रहरीले यही  नाकाबाट तस्करीका करिब १ हजार चल्ला नियन्त्रणमा लिएको थियो। यी घटनाले पनि देखाउँछन्, पूर्वी नाकाबाट हुने पंक्षीजन्य वस्तुको अवैध आयात अझै रोकिएको छैन। कुखुरा, चल्ला र मासुको तस्करी सबैभन्दा बढी काँकडभिट्टा नाकाबाट हुने गरेको छ। भारतीय बजारबाट तस्करी गरेर ल्याइएका कुखुरा, मासु र चल्ला नेपालका विभिन्न बजारमा विक्री हुने गरेको पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।  ‘अवैधरुपमा संलग्न कारोवारीले हामीलाई अनावश्यक दुःख दिइरहेका छन्’ पशु क्वारेन्टाइन चेकपोष्ट प्रमुख पशु चिकित्सक मुकेशकुमार सिहंले भने—‘प्रहरी र हामी अहिले यस्तो अवैध कारोवार रोक्न सक्रिय छौ।’

काँकडभिट्टा नाकामै पशु क्वारेन्टाइन चेकपोष्ट पनि छ ।  सशस्त्र, जनपद प्रहरीसहित भन्सारका कर्मचारी समेत छन् तर पनि यस्तो कारोवारलाई ठप्प पार्न नसकेको कार्यालयको भनाई छ। जति प्रहरीले सक्रियता बढाउँछ उति उति कारोवारीहरुले नयाँ जुक्ति अपनाएका कारण पनि यसको नियन्त्रण शून्यमा झार्न नसकिएको प्रहरीको भनाई छ ।  प्रहरीका अनुसार  अवैध व्यापारमा संलग्न व्यापारीले पूर्वी नाका मेचीनगरको नकलबन्दा, ज्यामिरगढी, बाहुनडाँगीलगायतका स्थानबाट अवैधरुपमा कुखरा आयात गर्ने गरेका छन् । दक्षिण इलामको जिर्मलेदेखि मोरङसम्मको एकसय १८ किलोमिटर खुला र अनियन्त्रित  सीमाको फाइदा उठाउँदै कारोबार गरेपछि खुला सीमा नै यस्तो धन्दा नियन्त्रणको प्रमुख समस्या बनेको छ। त्यस्तो अबैध धन्दाको निगरानीका लागि अनुगमन टोली तथा गस्ती परिचालन गरिएको पशु चिकित्सक मुकेश सिंहको दाबी छ ।  सिहं भन्छन् ‘यो धन्दा पशु क्वारेन्टाइन चेकपोस्टको एक्लो प्रयासले मात्र नियन्त्रण हुँदैन ।’ कार्यालयलाई स्थानीय कुखुरापालक किसानले सघाउनुपर्ने उनले बताए ।

 कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी नभएकाले पनि यसको निगरानीमा समस्या भएको छ। कार्यालय अन्र्तगत पशु चेकपोष्ट काँकडभिट्टा, भद्रपुर गौरीगञ्ज, इलामको पशुपतिनगर पर्दछन । तर, सबै चेकपोष्टमा धेरै कर्मचारीको दरबन्दी बर्षाेदेखि खाली छ । यसकारण पनि नियन्त्रण गर्न नसकिएको कार्यालयको भनाई छ । केही दिनअघि कास्कीको पोखरा र सुनसरीको इटहरीस्थित पर्यटकीय क्षेत्र तालतलैयाको पशुपंक्षी संरक्षण केन्द्रका पंक्षीमा बर्डफ्लू रोग भेटिएको पुष्टि भएपछि काँकडभिट्टा नाकामा प्रहरीले उच्च सतर्कता बढाएको जनाएको छ । तर, त्यो सतर्कता के हो भन्ने प्रमाण उसले पनि दिन सकेको छैन।

 

प्रकाशित: १४ चैत्र २०७३ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App