६ वैशाख २०८१ बिहीबार
समाज

टहरामै गाउँ, सुस्त पुनर्निर्माण

सौरपानी (गोरखा)- सौरपानी की ४० वर्षीया इलामाया बोहोरा टहरोछेउमा बसेर झोक्राइरहेकी थिइन्। भूकम्पपछि दुई वर्ष बित्न लागिसक्दा समेत घर बनाउन नसक्दा उनलाई आठ जनाको परिवार आउँदो बर्खामा कसरी जोगिने भन्ने चिन्ताले उनलाई पिरोल्न थालेको छ। हावाहुरी चल्दा, आकाशमा बादल देखिँदा उनको चिन्ता झनै बढ्छ। 'दुई वर्षदेखिको पिरलो उस्तै छ’, उनले भनिन्।

पहिलो किस्ता लिएर जग हालेका पीडितलाई वितरण गर्न आएको दोस्रो किस्ताको बजेट माग नहुँदा त्यसै थन्किएको छ।

इलामायाको कटेरोमा भूकम्पपछि आठ जनाको परिवार आश्रित छ। एक महिनाको नाति हुर्काउन र सुत्केरी बुहारी स्याहार्न उनलाई सजिलो छैन। सरकारले घर बनाउन दिएको पहिलो किस्ताको अनुदान भने उनले पनि पाइन्। 'तर भत्किएको घर पन्छाउँदा र नयाँ घर बनाउने ठाउँ सम्याउँदैमा पैसा सकियो’, उनले भनिन्। अब घर बनाउन उनीसँग पैसा छैन। घरमा आम्दानीको बाटो नहुँदा गाउँमा ऋण लिन र लिएपछि तिर्न पनि उनलाई उत्तिकै समस्या छ।

सोही गाउँकी प्रतिभा न्यौपाने घाममा काखे छोरी स्तुतिलाई तेल लगाउँदै थिइन्।  टहरोमा झुन्ड्याइएको झोलुंगोमा राखेर छोरी भुलाउँदै गर्दा उनले भनिन्, 'घरमा हामी सबै एकै ठाउँमा बस्ने हो, घर बनाउन नसक्दा बस्नकै बिजोग भएको छ।’ सुत्केरी अवस्थादेखि अहिलेसम्म परिवारका सदस्य सँगै एकै ठाउँमा खानेबस्ने, लहरै सुत्नुपर्ने बाध्यताले झनै समस्या भएको उनले बताइन्। 'चिसोले अत्याउँछ, कहिले पानी, कहिले हुरी, केही दिनअघि त हावाुहरीले टहरै उडायो, बच्चा च्यापेर बसें’, पीडा सुनाउँदै उनले थपिन्।

सोही ठाउँकी टीकाकुमारी ढकालले भूकम्प आउनु छ महिनाअघि १५ लाख खर्चेर घर बनाइन्।  विद्यालय र बजार नजिक भएकाले उनको छ कोठा भाडामा थियो। भूकम्पले घर भत्किएर माटोमा मिलेपछि उनी अहिले साबिकको सौरपानी ३ नम्बर वडामा सार्वजनिक जग्गामा त्रिपाल टाँगेर बसेकी छन्। अनुदान पाएको ५० हजार भत्किएको घर पन्छाउँदैमा सकिएपछि उनी ऋणको खोजीमा लागेकी छन्। 'अनुदानले निर्माण गर्न नसके पनि ऋण पाएमा लिएर घर बनाउने थिएँ’, उनले भनिन्। घर बनाउने, टहरो ठड्याउने पुरुषसमेत घरमा छैनन्। एकल महिला उनलाई घर निर्माण गर्दा लाग्ने सामग्री, कामदार जुटाउनै हम्मे परेको छ।

स्थानीय नन्दकुमारी सुयाल ५० वर्षकी भइन्, उनका दुवै खुट्टा छैनन्। उनी टहराबाट चियाएर दिन बिताउँछिन्। 'हावाहुरी र पानी परेका बेला टहराभित्रै पानी पस्छ’, अप्ठ्यारो क्षण सुनाउँदै उनले थपिन्, 'स्कुले छोरो छ, बिचरो कसरी घर बनाओस्, मेरो जिन्दगी अब यही टहरामा जाला जस्तो छ।’ अनुदानबापत पाएको रकम उनले आफ्नो उपचार र घरखर्चमा सकिएको सुनाइन।

भूकम्पको दुई वर्ष हुँदा समेत सरकारले घर बनाउने पहिलो किस्ताको अनुदान पनि सबै पीडितलाई वितरण गर्न सकेको छैन। झन्डै ५८ हजार पीडित रहेको गोरखामा ५४ हजारलाई पहिलो किस्ताको रकम वितरण भएको छ। तीमध्ये पाँच प्रतिशतले पनि नयाँ घर बनाएका छैनन्। नयाँ घर सुरु गर्न लाग्ने बजेट नहुँदा समस्या भएको गुनासो पीडितको छ। सरकारले निर्धारण गरेका विभिन्न १७ थरी मापदण्डभित्र नपर्ने अस्थायी खालका घर ग्रामीण भेगमा बनेका छन्।

भूकम्पपीडित सरकारले दिने तीन लाखका लागि अस्थायी घर भत्काउने पक्षमा देखिँदैनन। थोरैले मात्रै नयाँ घर बनाउन थालेका छन्। पहिलो किस्ता लिएर जग हालेका पीडितलाई वितरण गर्न आएको दोस्रो किस्ताको बजेट माग नहुँदा जिल्ला समन्वय समिति गोरखाको खातामा थन्किएको छ।

प्रकाशित: १४ चैत्र २०७३ ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App