coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतीय बन्दरगाहमा विदेशी कार्गोको सघन चेकजाँच

वीरगन्ज- भारतीय गुप्तचर एजेन्सीहरुको चासोमा त्यहाँका बन्दरगाहहरुमा भित्रिने विदेशी कागर्ोेलाई सघन चेकजाँच गर्न थालिएको छ। यस्तो खाले चेकजाँचले गर्दा विभिन्न देशबाट नेपालका लागि सामान बोकेर आएका विदेशी कार्गोहरु कोलकतास्थित बन्दरगाहबाट तीन दिनसम्म रोकिन पुगेको थियो।

'फागुन १८ देखि चैत ४ गते सम्ममा कोलकातासहित भारतका पाँचवटा बन्दरगामा भित्रिएका कन्टेनरमा सघन रुपमा चेकजाँच गरिँदैछ। सुरक्षा सम्बन्धी मामिला भएकोले यहाँका सम्बन्धित निकायले स्क्यान गरेर मात्र कार्गो बाहिरिन दिएका छन्,' कोलकातास्थित भारतका लागि नेपाली महावाणिज्यदूत एकनारायण अर्यालले भने, 'यहाँको पोर्ट अथोरिटी र अरु निकायहरुसँग पहल गरेर अहिले नेपपाली कार्गो नरोकिने गरी व्यवस्था मिलाइएको छ। तीन दिनमात्र नेपाली कार्गो रोकिएका थिए, अहिले ठिक छ।' विदेशबाट आएका केही कन्टेनरमा भारी परिमाणमा नक्कली भारतीय रुपैयाँ भित्रिएको शंकामा यसो भएको स्रोतहरुबाट बुझिएको अर्यालले जानकारी गराए।

त्यहाँबाट हतियार समेत भित्रिएको हुन सक्ने आंशकामा गुप्तचर एजेन्सीहरुको पहलमा कन्टेनर जाँचमा यस्तो कडाइ गरिएको कोलकातास्थित नेपाली कन्टेनर ह्यान्डलिङ एजेन्ट (सिएचए)हरुले जानकारी गराएका छन्। 'उनीहरुले केही यस्ता विशेष सूचनाको आधारमा जाँचमा कडाइ गरेका हुन्, कन्टेनरहरु स्क्यानिङ गरेर मात्र छोड्ने गरिएकोले बन्दरगाहबाट कार्गो निस्किन समय लागिरहेको छ, ३–४ दिन नेपाली कन्टेनरलार्ई समस्या भएको थियो,' आफैं पनि आयातकर्ता रहेका नेपाल उद्योग वाणिज्य महासंघका वाणिज्य तथा आपूर्ति समितिका संयोजक विजय सरावगीले भने, 'भारतको राजस्व अनुसन्धान विभाग र पोर्टका भारतीय कस्टमले मुख्य रुपमा यो जाँच गर्दैछन्, अहिले नेपालका कन्टेनरलाई अलि सजिलो भएको खबर छ।'

आयातकर्ता समेत रहेका वीरगन्ज उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रदीप केडियाले आइतबार सप्ताहन्तको बिदापछि सोमबार भारतका सरकारी निकाय र अरु कार्यालय खुलेपछि मात्र यथार्थ अवस्था यकिन हुने बताए। 'कोलकातामा कन्टेनरको स्क्यान गरेर मात्र बन्दरगाहबाट निकासी हुने गरी सघन जाँच थालिएपछि केही दिन नेपाली कन्टेनर पनि प्रभावित भएका हुन्,' अर्का आयातकर्ता संघका पूर्वअध्यक्ष गणेश लाठले भने, 'यो जाँच नेपाली कन्टेरलाई लक्षित मात्र होइन, भारतीय बन्दरगाहमा उत्रिने सबै कन्टेनरमा हो। भारतको सुरक्षा सरोकारको विषय भएकोले यो स्वाभाविक पनि हो।' वीरगन्जस्थित भारतीय महावाणिज्यदूतावासका व्यपार मामिलासम्बन्धी काउन्सुलर निरजकुमार जैयसवालले भने, 'सम्बन्धित निकायले बेलाबेलामा चेकजाँचमा कडाइ गर्ने कुरा सामान्य हो, अहिले कुनै विशेष किसिमको व्यवस्था गरिएको भन्ने ठोस जानकारी छैन।'

प्रकाशित: १४ चैत्र २०७३ ०५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App