७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय तहमा आकांक्षीको लर्को

खोटाङ – खोटाङको दुई नगरपालिकामा मेयरका आकांक्षीको होडबाजी सुरु भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिकामा हरेक पार्टीका मेयरका आकांक्षीको प्रतिश्पर्धात्मक दौडधुप सुरु भएको हो ।
 धेरैवटा गाविस समेटेर बनाइएको दुई नगरपालिमा कतिपय एउटै पार्टीभित्र दर्जनौँ आकांक्षी देखिएका छन् । कतिपय मेयरका आकांक्षी टिकट सुरक्षित गर्नका लागि आन्तरिक अभ्यासमा व्यस्त छन् । अहिले जताततै दुई नगरपालिकाको ‘भावी मेयर को बन्लान्’ भन्ने विषयले चौतारोदेखि चिया पसलसम्म चर्चा पाइरहेको छ । १९ वर्षपछि हुन लागेको स्थानीय तहको निर्वाचनका माध्यमबाट रोजेको प्रतिनिधि’ छान्न पाउनेमा सर्वसाधारण पनि उत्साहित छन् । कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम लगायतका दलहरू मेयर उपमेयर सहितका पद हत्याउने रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका छन् । मेयरका उम्मेदवारको टुंगो नलागे पनि हरेक पार्टीभित्र ‘कसलाई टिकट दिने’ भन्ने विषयमा तिव्र बहस र छलफल भइरहेको छ । श्रोतका अनुसार मेयरका आकांक्षीलाई पार्टीभित्र ‘कुन पक्ष वा गुटको’ भनेर हानाथाप समेत सुरु भएको छ । कतिपय आकांक्षी टिकट सुनिश्चितताका लागि ‘लबिङ’मै लागेको श्रोत बताउँछ । 
भर्खरै कार्यान्वयनमा आएको नगरपालिकाको चुनाव जित्नुलाई संसदीय निर्वाचन जित्नु सरह तुलना गरिएको छ । मेयरका आकांक्षीमा एकभन्दा धेरै नेता तथा कार्यकर्ताको लर्को लागेपछि कतिपय पार्टीलाई उम्मेदवार व्यवस्थापनमै चुनौती देखिएको छ । कतिपय पार्टीका प्रभावशाली नेताहरु एउटै नगरपालिकामा परेका कारण पनि टिकट व्यवस्थापन चुनौतीपूर्ण बनेको हो । यद्यपी, पार्टीप्रति प्रतिबद्ध, इमान्दार, स्वच्छ छबी भएका, जनताको मन जितेका, सबै गाउँमा प्रभाव राख्न सक्ने, नगरको विकासका लागि ‘भिजन’ भएका, निष्ठापूर्वक काम गर्न सक्ने दक्षता र क्षमता भएको नेतालाई उम्मेदवार उठाउने पार्टी नेतृत्वको भनाई छ । 

यस्ता छन् मेयरका आकांक्षी 
पुरानो संरचनामा सदरमुकाम दिक्तेल रहेको रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा कांग्रेसभित्र राजनसेर राई, ज्ञानेन्द्र जोशी, प्रकाश श्रेष्ठ, दुर्गाप्रसाद घिमिरे, तिर्थराज भट्टराई, नवराज केसी, महन्त राई लगायतको नाम चर्चामा छ । हलेसी तुवाचुङ नगरपालिकामा भने इवन राई, चक्र राई, दिनेश राई, दुरेन राई, बिमला राई लगायतमध्ये कुनै एकजना मेयरका उम्मेदवार बन्ने कांग्रेस श्रोत बताउँछ । 
एमालेभित्र रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नारायणप्रसाद जोशी, कुमार आचार्य, दिपनारायण रिजाल, जलसेर राई, देवबिक्रम राई, उदय कार्की, बीरबलकाजी राई, उपीन राई, भागवत घिमिरे, बिरेन्द्र ढकाल, गोपाल आचार्य लगायतको चर्चा छ । हलेसी तुवाचुङ नगरपालिकाको मेयरका आकांक्षीमा भने खडेन्द्र राई, अकिल राई, बिष्णु दाहाल, सुरेन्द्र राई, मनिषा राई, दिपक कार्की, रामबकस राई लगायतको नाम चर्चामा छ । ‘खुलेर भने पनि नभने पनि एमालेबाट मेयरको आकांक्षी उहाँहरु नै हो,’ एमाले खोटाङका अध्यक्ष बबी चामलीङले भने, ‘उहाँहरुमध्ये बाटै पार्टीले मेयरको उम्मेदवार बनाउने बढि सम्भावना रहन्छ ।’ 
नेकपा माओबादी केन्द्रकातर्फबाट रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका लागि दुर्गाजयन्ती राई, ध्रुब बुढाथोकी, जयप्रसाद आचार्य, सुरेस राई, होमकाजी आचार्य, मदन तामाङ, माधव राई, बलराम राई, सन्तोष राई, धुर्वा राई लगायतको नाम चर्चामा छ । यस्तै, हलेसी तुवाचुङ नगरपालिकामा जीवन राई, चइन्द्र राई, सन्देश राई, गोपाल दाहाल, रुपनारायण दाहाल, हस्तबहादुर राई लगायतमध्ये कुनै एकलाई मेयरको उम्मेदवार बनाउने माओवादी केन्द्रको तयारी छ । 
राप्रपा खोटाङले भने मतदाता र पब्लिकको अपेक्षाका आधारमा मेयरको उम्मेदवार टुंगो लगाउने अध्यक्ष जीवन श्रेष्ठले बताए । यद्यपी, रुपाकोट मझुवागढीमा स्वयं श्रेष्ठ, ललितकुमार राई, धर्मराज पोखरेल, निसान राई, मोतीचन्द्र राई, सिताराम राई, रामचन्द्र भट्टराई, बिजयकला राई लगायतलाई आकांक्षीकारुपमा हेरिएको छ । संघीय समाजवादी फोरमका सह–संयोजक टंक थापाका अनुसार जनतामाझ लोकप्रिय र जिम्मेवारी बहन गर्न सक्ने नेतालाई पार्टीको मेयरको उम्मेदवार बनाउने तयारी गरिएको छ । मेयर आकांक्षी देखिए पनि चैत्र १९ र २० गते हुने एकता अधिवेशनपछि मात्र उम्मेद्वारको विषयमा बताउन सकिने संघीय समाजवादी फोरमले जनाएको छ । फोरमबाट रुपाकोट मझुवागढी नगरपालिकामा नबिन राई, कर्णबहादुर कार्की, निर्मल राई, नैन कट्वाल लगायतमध्ये एक जना उम्मेदवार बन्ने देखिन्छ । 
नेकपा मालेले जन्तेढुंगा गाउँपालिकाको अध्यक्षमा देबेन्द्र श्रेष्ठ, खोटेहाङ गाउँपालिकामा श्यामराज राई, साकेला गाउँपालिकामा कुलप्रसाद फुयाँल, नन्द कट्वाल, टंक कट्वालमध्ये एकलाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेपनि मेयरको सूची भने तयार पारेको छैन । ‘मेयरको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न बाँकी छ,’ नेकपा मालेका संयोजक मीनप्रसाद आचार्यले भने, ‘केही समयपछि पार्टीको बैठक बसाएर टुंगो लगाउने छौँ ।’ 
खम्बूवान राष्ट्रिय मोर्चाले पनि रुपाकोट मझुवागढी नगरपालिकामा महन राई, जगतभक्त राई लगायतमध्ये एकलाई मेयरको उम्मेदवार बनाउने तयारी गरेको छ । हलेसी तुवाचुङ नगरपालिकामा भने तुलसी तिलुङ खम्बू, जोतिन्द्र राई, राजुदेव राई लगायतको नाम चर्चामा छ । रुपाकोट मझुवागढी नगरपालिकाको मेयरमा नयाँ शक्तीबाट सुर्य राई, मणी राई लगायतको नाम चर्चामा छ । भने ऐसेलुखर्क गाउँपालिकामा अगमसिं राई र खोटेहाङ गाउँपालिका अध्यक्षमा इन्द्र नारथुङ्गेको नाम चर्चामा रहेको छ । 
मेयरको उम्मेदवारमा चर्चामा रहेको नामलाई ‘ब्याक’ गरेर अझ बलियो उम्मेदवारको नाम आउने सम्भावना पछि उत्तिकै छ । प्रतिपक्षी पार्टीले उठाउने उम्मेदवारको ‘वेट’का आधारमा पनि दलको उम्मेदवार निर्धारण हुने देखिएको छ । 
 

प्रकाशित: १४ चैत्र २०७३ ०५:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App