७ वैशाख २०८१ शुक्रबार
खेल

तमिमको शतकमा बंगलादेश विजयी

धम्बुला- ओपनर तमिम इकबालले सनसनीपूर्ण शतक प्रहार गरेपछि बंगलादेशको अन्तर्राष्ट्रिय सफलताले निरन्तरता पाएको छ। इकबालप्रेरित आइसिसीको कान्छो पूर्ण सदस्यले शनिबार धम्बुलामा घरेलु टोली श्रीलंकाविरुद्ध सम्पन्न पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ९० रनको प्रभावशाली जित दर्ता गरायो।

तमिमले १ सय ४२ बलमा १५ चौका र १ छक्कासहित १ सय २७ रन बनाउँदै तयार गरेको बंगलादेशको विजयआधारमा साकिब अल हसन र सबिर रहमानले पनि अर्धशतक थपे। तमिमको शतकलाई दुई अर्धशतकको साथ मिलेपछि बंगलादेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय २४ रनको योगफल तयार गरेको थियो। श्रीलंकाविरुद्ध एकदिवसीय खेलमा बंगलादेशले बनाएको यो अहिलेसम्मकै सबभन्दा ठूलो स्कोर हो। यसअघि २००६ मा ९ विकेट गुमाउँदै बनाएको २ सय ६५ रन बंगलादेशको श्रीलंकाविरुद्ध सबभन्दा ठूलो स्कोर थियो।

बंगलादेशका कप्तान मासरफ मोर्ताजाले पहिलो ओभरमै ओपनर धनुस्का गुनाथिलाकालाई खाता खोल्न नदिई आउट गरेपछि श्रीलंकाको सुरुआत राम्रो हुन सकेन। ३ सय २५ रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोली कुनै पनि बेला स्थिर देखिएन। मोर्ताजालाई साथ दिने क्रममा एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका मेहदी हसनले छैटौं ओभरमा कुसल मेन्डिसलाई पवेलियनको बाटो देखाएपछि घरेलु टोली ६ ओभर समाप्तिमा १५–२ को कठिन अवस्थामा पुग्यो।

मुस्ताफिजुर रहमानले ३, मोर्ताजा र मेहदी हसन मिराजले २/२ तथा तास्किन अहमद र साकिबले १/१ विकेट लिएपछि श्रीलंका ४५.५ ओभरमा २ सय ३४ रनमा सीमित भयो। तीन खेलको शृंखलामा घरेलु टोली १–० ले पछि परिसकेको छ। बंगलादेशविरुद्ध अहिलेसम्म खेलेका ३९ खेलमा श्रीलंकाको यो पाँचौं हार हो।

दिनेश चाँदमियालले अनुभवहीन घरेलु टोलीका लागि सर्वाधिक ५९ रन जोडे भने थिसारा परेराले ३१ बल खेल्दै तीव्र गतिमा ५५ रनको योगदान गरे। घरेलु दर्शकलाई मनोरञ्जन प्रदान गर्ने क्रममा उनले मोर्ताजालाई ४०औं ओभरमा दुई चौका र एक छक्का प्रहार गरेका थिए। तर लक्ष्य हासिल गर्नका लागि उनको त्यो प्रदर्शनले अर्थ राख्न सकेन।

यसअघि आठौं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउँदै तमिमले ठूलो स्कोरको आधार तयार गरेका थिए। उनले यस क्रममा साकिबसँग चौथो विकेटका लागि १ सय ४४ रनको साझेदारी गरेका थिए। जुन श्रीलंकाविरुद्ध बंगलादेशले अहिलेसम्म गरेको सबभन्दा ठूलो साझेदारी हो। साकिबले ७१ बलमा ७२ रनको इनिङ खेले।

…४५ओभरसम्म ब्याटिङ गर्नु सजिलो काम होइन। यसका लागि धेरै चिजको साथ चाहिन्छ,' म्यान अफ दी म्याच तमिमले खेलपछि भने, …हामीले धैर्यपूर्वक स्ट्राइक रोटेट गर्दै खेल्ने रणनीति बनाएका थियौं। त्यहीअनुसार खेल्दा सफल भइयो। साकिबले असाधारण खेले। मैले १ सय ३५ को हाराहारीमा रन बनाए हाम्रो स्कोर ३ सय नाघ्ने हामीलाई थाहा थियो। त्यहीअनुसार खेल्ने प्रयास गरियो।'

१० हजार अन्तर्राष्ट्रिय रन बनाउने पहिलो बंगलादेशी ब्याट्सम्यानका रूपमा कोसेढुंगो बनाउन पनि सफल भएका तमिमले ४८औं ओभरमा लाहिरु कुमाराको बलमा पवेलियन फर्किनुअघिसम्म बंगलादेशी ब्याटिङको नेतृत्व गरेका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएपछि बंगलादेशले ओपनर सौम्य सरकारलाई चाँडै गुमाएको थियो। तर त्यसपछि तमिम र ५६ बलमा ५४ रन बनाएका सबिरले दोस्रो विकेटका लागि ९० रनको साझेदारी गरेर इनिङ सम्हाले।

श्रीलंकाका कप्तान उपुल थारंगाले कमजोर बलिङका कारण पराजय भोग्नुपरेको प्रतिक्रिया दिए। …हामीले बलिङमा अत्यन्तै नराम्रो प्रदर्शन गर्‍यौं। हामीले अनावश्यक रूपमा २५ देखि ३० रन बढी दियौं,' उनले भने।

शृंखलाको दोस्रो खेल धम्बुलामै मंगलबार हुनेछ।

प्रकाशित: १४ चैत्र २०७३ ०४:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App