काठमाडौं- कमै मात्र एकल साँझमा प्रस्तुत हुने गायक रामकृष्ण ढकाल आगामी चैत्र १८ गते सामाजिक सेवाका निम्ती राजधानीमा गुञ्जिने भएका छन्। विन्ध्यवासिनी फाउण्डेसनको सहयोगार्थ विन्ध्यवासिनी म्युजिक कम्पनीले राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गर्न लागेको 'रामकृष्ण ढकाल एकल सा“झ २०७३'मा गायक ढकालले आफ्ना सदाबहादर गीत प्रस्तुत गर्नेछन्।
व्याकअप व्याण्ड 'द भ्वाईस'का दशजना वाद्यवादकको साथमा झण्डै २० वटा गीत प्रस्तुत गर्न लागेका गायक ढकाललाई गायनमा गायिका देविका वन्दना, जुना प्रसाईं र प्रविशा अधिकारीले पनि साथ दिनेछन्। विन्ध्यवासिनी म्युजिक कम्पनीका प्रबन्ध निर्देशक सुवास रेग्मीका अनुसार एकल सा“झबाट उठेको रकम विन्ध्यवासिनी फाउण्डेसनलाई प्रदान गरिनेछ। 'कार्यक्रममा प्रस्तुत हुने गीतको प्रयोग गरे वापत नियमानुसार प्राप्त रोयल्टी रोयल्टी संकलन समाजमार्फत सम्बन्धित गीतका स्रष्टालाई दिइनेछ,'रेग्मीले भने।
फाउण्डेसनले यसअघि गायक दाजुभाई सत्य–स्वरुपराज आचार्यको 'सत्य स्वरुप एकल सा“झ' बाट उठेको १५ लाख रुपैंयाँ भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई प्रदान गरेको थियो। त्यस्तै 'दोस्रो विमल डाँगी एकल सा“झ' गर्दै संकलित रकमबाट डोल्पा र स्याङजाका २/२ गरी ४ बालबालिकाको कक्षा १० सम्मको अध्ययनको व्यवस्था मिलाएको थियो। संस्थाले संगीतकार संघ नेपालको कलाकर्मी कोषमा ५० हजार, दुवै मृगौलामा समस्या देखिएका संगीत व्यवसायी शिव पौडेललाई मृगौला प्रत्यारोपण गर्न ३ लाख १० हजार, पत्रकार स्वर्गीय सुर्यकुमार क्षेत्रीको उपचारमा २५ हजार प्रदान गरेको थियो। फाउण्डेसनले वृद्धवृद्धा उमेरका संगीतकर्मीका लागि संगीताश्रम निर्माणको तयारी पनि गरेको छ।
प्रकाशित: १४ चैत्र २०७३ ०४:०० सोमबार