coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पँधेरोदेखि चियापसलसम्म चुनावकै चर्चा

धादिङ- यतिबेला धादिङका गाउँबस्तीमा चुनावको निकै चर्चा छ। दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचनको चौतारो, चिया पसल, पँधेरोमा समेत चर्चा तीव्र बनेको छ। 

स्थानीय तहको चुनाव मिति घोषणा भएदेखि राजनीतिक दलहरू आफ्नो पक्षमा माहोल बनाउन गाउँ पसेका छन्। मत आफ्नो पक्षमा पार्न दलहरूले पनि गाउँगाउँमा चुनाव केन्द्रित बैठक र छलफल सुरु गरेका छन्।

एमाले, कांग्रेस र माओवादी केन्द्रले प्रचारप्रसार गर्दै भेटघाट कार्यक्रम तीव्र पारेका छन्।

केही दिनदेखि जिल्लाभर चुनावी माहोल तातेको छ। २०५४ सालपछि अहिले स्थानीय तहको निर्वाचन हुन लागेको हो। स्थानीय तहमा कुन पार्टीबाट कसले टिकट पाउला, कसले चुनावमा जित्ला, कुन तहमा कसको वर्चस्व रहला भन्ने विषयमा जताततै बहस हुन थालेको छ।

एमाले, कांग्रेस र माओवादी केन्द्रले प्रचारप्रसार गर्दै भेटघाट कार्यक्रम तीव्र पारेका छन्। चुनाव लक्षित गरेर गाउँमा पार्टीका गतिविधि अघि बढाएको नेताहरूले बताएका छन्।

एमाले सांसद गुरुप्रसाद बुर्लाकोटीले भने, 'लामो समयपछि जनताले स्थानीय जनप्रतिनिधि छान्ने अधिकार पाएका छन्, त्यो अधिकार स्थापित गराउन हामीले गाउँमा चुनाव लक्षित कार्यक्रम गरिरहेका छौं।'

 जिल्लाका गाउँ, सहर सबै स्थानमा अहिले स्थानीय तह निर्वाचनकै कुराले प्राथमिकता पाएको छ। प्रमुख दलका नेताहरू गाउँ पस्न थालेपछि मतदाता अबचाहिँ चुनाव हुन्छ भन्नेमा आशावादी बनेका छन्।

 नागरिकबाट विरोधका स्वर नआएकाले चुनाव हुनेमा दलका नेता पनि ढुक्क देखिएका छन्। आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर वडा भेला र गाउँ भेला गरिरहेको कांग्रेसका पूर्वसांसद रामनाथ अधिकारीले बताए। जिल्लाको पूर्वी भेगबाट सोमबारदेखि कांग्रेसले चुनावी कार्यक्रम सुरु गर्ने उनले जानकारी दिए।

एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि जिल्लाव्यापी अभियानका कार्यक्रम गरिरहेका छन्। निर्वाचनप्रति जनताको चासो बढाउन र कार्यकर्तालाई जागरूक बनाउन दैनिक वडा भेला गाउँ भेला गर्दै घरदैलो अभियान थालेको एमाले नेता प्रेम सिलवालले बताए।

स्थानीय नेताहरु उम्मेदवार छान्ने प्रक्रियामा छन् भने निर्वाचन हुने आसमा स्थानीय खुसी छन्।

युवामा उत्साह

चुनावी माहोल तातेसँगै युवामा उत्साह छाएको छ। स्थानीय तह निर्वाचन घोषणाले गाउँगाउँका युवा आआफ्नो पार्टीको सिद्धान्त बोकेर निर्वाचन हुनुपर्छ भन्दै हिँड्न थालेका छन्।

जन्मेपछि पहिलो मतदानमै युवा नेतालाई मतदान गरेर विजय गराउनेतिर युवा लागिपरेका छन्। 'यसअघिको स्थानीय निर्वाचन बुभ्नै पाइएन, अहिले महŒव बुझेका छौं', नीलकण्ठ नगरपालिकाका युवा राम तामाङले भने, 'अबको नेतृत्व युवाले गर्नुपर्छ भन्नेमा हामी लागेका छौं।'

 स्थानीय तहमा जनप्रतिनिधि नहुँदाको पीडा पाकाले भन्दा युवाले भोगेका छन्। स्थानीय तहको निर्वाचनमा युवा अघि बढाउनुपर्ने युवा संघ धादिङका सचिव काजी श्रेष्ठले बताए। मुलुकमा युवा पलायन भएकै कारण विकासले गति लिन नसकेकाले स्थानीय तहमा युवाको जिम्मेवारी महŒवपूर्ण रहेको युवा नेताहरूको छ।

दुई लाख ६ हजारले मतदाता

स्थानीय तहको निर्वाचनमा धादिङबाट दुई लाख ६ हजार ४६ जनाले मतदान गर्न पाउने भएका छन्।

धादिङका दुई लाख ६ हजार ४६ जनाले निर्वाचनमा मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी ईश्वर सिम्खडाले बताए। एक लाख दुई हजार नौ सय ६९ पुरुष, एक लाख तीन हजार ७६ महिला र एक जना तेस्रोलिंगीले निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन अधिकारी सिम्खडाले जानकारी दिए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार धादिङमा १६ दलले निर्वाचनमा भाग लिन पाउनेछन्। मतदान केन्द्रको भने टुंगो लागिसकेको छैन। अहिले राज्य पुनर्संरचनाले धादिङलाई दुई नगरपालिका र ११ गाउँपालिकामा विभाजित गरेको छ।

यसअघि भएको संविधानसभा निर्वाचनमा जिल्लामा एक सय १० वटा केन्द्र थियो। स्थानीय तह पुनर्संरचना क्रममा केही गाविस र वडा आपसमा गाभिएको र कसैको संरचना फरक पर्न गएकाले मतदातालाई पायक पर्ने गरी मतदान केन्द्र पुनरावलोकन गरिने सिम्खडाको भनाइ छ।

छुट्टै सुरक्षा योजना

निर्वाचन भयरहित बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति तयार गरिएको छ।  निर्वाचन सभ्य बनाउन, जनतालाई स्वतन्त्र र भयरहित वातावरणमा भोट हाल्ने वातावरण मिलाउन सुरक्षा निकाय दृढ भएर लागिपरेको प्रमुख जिल्ला अधिकारी एवं् सुरक्षा समितिका संयोजक उमेश ढकालले बताए।

 संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राखेर चरणबद्ध सुरक्षा योजना बनाएको पनि उनले बताए। 'जहाँ सुरक्षा निकायको उपस्थिति छ त्यसलाई अझ मजबुत गराउने र जहाँ चुनौती रहेका छन्, त्यहाँ सुरक्षा निकायको नयाँ युनिट बनाउने चरणमा लागिएको छ', ढकालले भने, 'जनतालाई भयरहित वातावरणमा भोट हाल्ने वातावरण सिर्जना गराउन तीनै निकाय लागिरहेको छ।'

निर्वाचनका लागि जनशक्ति बढाउन सबै सुरक्षा निकायका प्रतिनिधि संलग्न समितिले म्यादी प्रहरी नियुक्ति प्रक्रिया अगाडि बढाइसकेको पनि उनले जानकारी दिए।

आचारसंहिता लत्याउँदै गैसस

जिल्लामा सरकारी र गैरसरकारी पक्षबाट निर्वाचन आचारसंहिता उल्लंघन भइरहेको पाइएको छ। निर्वाचन आयोगले तीन साताअघि आचारसंहिता लागू गरेर गोष्ठी तथा सभा नगर्न भने पनि धादिङका गैरसरकारी संस्थाले अटेर गरेको नागरिक समाजका अगुवाले गुनासो गरेका छन्।

गैरसरकारी संस्थाहरूले आचारसंहिताविपरीत नयाँ कार्यक्रम सञ्चालन गर्ने र कर्मचारी भर्ना गरी राहतका कार्यक्रम गर्ने गरेको इन्सेक प्रतिनिधि सीताराम अधिकारीले बताए। निर्वाचन आयोगले फागुन १८ गतेदेखि आचारसंहिता लागू गरेको थियो। संस्थाहरूले दलका नेताहरूलाई बोलाएर विभिन्न दलको विरोध तथा समर्थन गर्ने जस्ता गतिविधि सुरु गरेको अधिकारीले बताए।

 इन्सेकले केही दिनअघि गरेको एक छलफलमा नागरिक समाजका अगुवाहरूले गैससले आचारसंहिता लत्याएर गतिविधि गरिरहेको गुनासो गरेका थिए।

प्रकाशित: १४ चैत्र २०७३ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App