८ वैशाख २०८१ शनिबार
राजनीति

'संविधान संशोधन नभएसम्म चुनाव असम्भव'

मलेठ (सप्तरी)- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय गठबन्धनका शीर्ष नेताले संविधान संशोधन नभएसम्म स्थानीय तह निर्वाचन बहिष्कार गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्।

सप्तरीको मलेठ घटनाका मृतकको सम्झनामा आइतबार आयोजित श्रद्धाञ्जलि सभामा सहभागी नेताहरूले संविधान सर्वस्वीकार्य नबनाएसम्म मुलुकमा कुनै पनि चुनाव सम्भव नरहेको बताएका हुन्।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम संविधान र नयाँ संविधानले मुलुक संघीय प्रणालीमा गएको स्वीकार गरिसकेको बताउँदै संघिय प्रणालीमा स्थानीय तहको निर्वाचन गराउने अधिकार केन्द्र सरकारलाई नरहेको दाबी गरे। उनले भने, 'विश्वका जुनसुकै संघीय मोडेलमा पनि स्थानीय तहको चुनाव केन्द्रले गराउने दृष्टान्त छैन। अहिलेको चुनाव संघीयताको मर्म र उद्देश्यविपरीत गर्न लागिएको हो। यो हामीलाई मान्य छैन।'

जनसंख्याका दृष्टिले मधेसमा मुलुकको कुल जनसंख्याको ५१ प्रतिशत बसोबास रहे पनि सरकारले स्थानीय तह निर्धारण गर्न मधेसलाई ३० प्रतिशतभन्दा पनि कम स्थान दिएको यादवले बताए। उनले राज्य अझै पनि एकात्मक सोचबाट मुक्त हुन नसकेको आरोप लगाए। 'यसै संरचनाअन्तर्गत आगामी चुनाव भयो भने बजेटमा हाम्रो हिस्सेदारी कति हुन्छ?' उनले भने, 'जनसंख्या बढी हाम्रो, कर तिर्ने बढी हामी तर विकास बजेटमा हाम्रो हिस्सेदारी सधैं न्यून, यो कहाँको न्याय र समानता हो? त्यसैले हामी चुनावको बहिष्कार गर्नुस् भनेका हौं।'

संघीय गठबन्धनका संयोजकसमेत रहेका नेता यादवले मोर्चाको सहमतिबेगर एकतर्फी रूपमा चुनाव गराउन खोजिए राज्यले त्यसको गम्भीर असर भोग्नुपर्ने चेतावनी दिए। 'राज्यसँग सेना र पुलिस छन्, जबरदस्ती चुनाव गराउन सकिन्छ तर त्यसको परिणाम मुलुकका लागि हितकर हुँदैन', यादवले भने।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारीले सरकारका कतिपय मन्त्री र प्रमुख दलका नेताहरूले दुई नम्बर प्रदेशलाई छाडेर पनि स्थानीय तहको चुनाव गराउन सक्ने अभियव्यक्ति दिइरहेको बताए।

'म त्यस्ता नेता र मन्त्रीहरूलाई सचेत गर्न चाहन्छु, यस्तो भूल नगर्नु होला', भण्डारीले भने, 'दुई नम्बर प्रदेशलाई छाडेर चुनाव गराइयो भने त्यसपछिको कुनै पनि चुनाव काठमाडांैले मधेसमा गराउन सक्दैन।'

संघीय गठबन्धनका नेता लाक्पा शेर्पाले हिमाल र मधेस एकैखाले समस्याले ग्रसित रहेको भन्दै जारी आन्दोलन मधेसको मात्र नभई मुलुकभरका उत्पीडितहरूको रहेको बताए। 'मधेसमा बसोबास गर्नेहरू दक्षिणी सीमाको सुरक्षा गरेर बसेका छन्, हिमालमा बस्नेहरू उत्तरी सिमाना अहोरात्र कुरिरहेका छन्, तर हाम्रै राष्ट्रियतामाथि शंका गरिन्छ', शेर्पाले भने, 'अधिकार र पहिचानको यो साझा आन्दोलन हो, मधेसले उठाएको यस मुद्दामा हिमाल सधंै सहयात्री भएर साथ दिइरहनेछ।'

ताम्सालिङ संयुक्त संघर्ष समितिका संयोजक जय गोले तामाङले जातीय नश्लवादी साम्प्रदियक चिन्तनबाट मुलुकलाई जोगाउन सम्पूर्ण मधेसी, आदिवासी जनजातिलगायत एकजुट हुनुपर्नेमा जोड दिए।

संघीय लिम्बुवानका कुरमा लिङ्देनले एमालेले मुलुकमा साम्प्रदायिक धु्रवीकरण गर्न खोजेको आरोप लगाए। उनले मुलुकलाई द्वन्द्वबाट जोगाउन पहिचानवादी शक्तिहरूलाई एकजुट हुन आह्वान गरे।

कार्यक्रममा सद्भावना अध्यक्ष राजेन्द्र महतोले एमाले कार्यकर्तालाई कालो मसो दल्ने आह्वान गरे। 'एमालेकै कारण निर्दोष मधेसी युवाले ज्यान गुमाउनुपरेको हो, तसर्थ त्यस्ता दलको मधेसमा के काम? उसलाई सामाजिक बहिष्कार गर्नुपर्‍यो, मधेसबाट भगाउनुपर्‍यो', महतोले भने, 'चुप लागेर भएन, एमालेमा लागेका मधेसीहरूलाई भन्नुपर्‍यो तिमीहरू पार्टी छोड नभए तिमीहरूको सामाजिक बहिष्कार हुन्छ, पार्टी छाड्न मानेनन् भने त्यस्तालाई कालोमसो दल्नुस्।'

सरकार जसको भए पनि मधेस सबालमा कांग्रेस, एमाले र माओवादी उस्तै रहेको आरोप लगाए। 'हामी बेइमानहरूको झेलमा पर्‍यौं', महतोले भने, 'मधेससँग पटकपटक राजनीतिक बेइमानी भएको छ, हामी अब कागजी सम्झौताको पक्षमा छैनांै।'

तीनवटा साना मधेसी दलका अध्यक्षले सबै मधेसी दलहरू एकजुट हुनुको विकल्प नरहेको बताएका थिए। फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले समान अजेन्डामा रहेका सात मधेसी दलहरू साझा झन्डामुनि आउनुपर्ने बताए।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी र तराईमधेस सद्भावना पार्टीका महेन्द्र राय यादवले मधेसी दलबीच एकता हुनुपर्नेमा जोड दिएका थिए।

श्रद्धाञ्जलि सभामा मृतकका परिवाजनलाई सम्मान गरिएको थियो।  

प्रकाशित: १४ चैत्र २०७३ ०२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App