coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

निर्वाचन प्रशिक्षक प्रशिक्षण सुरु

काठमाडौं- निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम थालेको छ। आयोगले आगामी वैशाख ३१ गते हुने निर्वाचनमा मतदाता शिक्षाका लागि खटिने प्रशिक्षकलाई विराटनगर, सिन्धुली, हेटौंडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीबाट प्रशिक्षण दिन सुरु गरेको हो।

आयोग प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने महिला शिक्षिका, जिल्ला शिक्षा कार्यालयको स्रोतव्यक्ति, सामाजिक परिचालक गरी देशभर ३ सय ५४ जनालाई क्षेत्रीय प्रशिक्षण दिने कार्यक्रम छ। तालिम लिएका प्रशिक्षकले ७ सय ४४ स्थानीय तहमा रहने २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई तालिम दिनेछन्। यसअघिका स्थानीय निकाय विघटन भई नयाँ स्थानीय तह कायम भएको र निर्वाचित हुने पदाधिकारीहरुको संख्या समेत नयाँ भएकाले विशेष तरिकाले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने आयोगले जनाएको छ।

त्यसैगरी, आयोगले मतदाता नामावलीलाई लिएर भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेको छ। आयोगले विज्ञप्ती जारी गर्दै फागुन ९ गतेसम्म मतदाता नामावलीमा नाम भएका र १८ वर्ष उमेर पूरा भएकाले मतदान गर्न पाउने भन्दै भ्रममा नपर्न आग्रह गरेको हो। आयोग प्रवक्ता शर्माका अनुसार २०७० सालको संविधानसभा निर्वाचनपछि निर्वाचन आयोगले लगातार मतदाता नामावली दर्ता कार्यक्रम सञ्चालन गरिरहेको र उक्त कार्यक्रम २०७३ फागुन ९ गतेसम्म जारी रहेको भन्दै सो दिनसम्म दर्ता भएका र उमेर पुगेकाले मतदान गर्न पाउने जनाएको हो। आयोगका अनुसार फोटो सहितको मतदाता नामावलीमा एकपटक नाम लेखाए पटकपटक लेखाउनुपर्दैन। आयोगले फागुन ९ गतेबाट मतदाता दर्ता गर्ने कार्य तथा नाम सारी गर्ने कार्य कानुन अनुसार निर्वाचन सम्पन्न नभएसम्मका लागि रोकिएको समेत जनाएको छ।

विभिन्न कार्यक्रमबाट सङ्कलन भएका मतदाताहरुको नाम, ठेगाना हालको स्थानीय तह अनुसारको नयाँ ठेगाना अनुसार अद्यावधिक गर्ने, साना तिना त्रुटि हटाउने, दोहोरो नाम हटाउनेलगायत मतदाता नामावली परिष्कृत गर्ने कार्य हाल भैरहेको आयोगले जनाएको छ। आयोगका अनुसार मतदाताहरुको अन्तिम नामावली तयार भएपछि आयोगको वेबसाइटबाट जानकारी लिन सकिनेछ। निर्वाचनअघि नै मतदातालाई फोटोसहितको मतदाता परिचयपत्र दिने तयारी आयोगले गरिरहेको छ।

प्रकाशित: १४ चैत्र २०७३ ०१:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App