coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ सरकारलाई माओवादी सक्रिय

काठमाडौं- केही दिनदेखि केपी शर्मा ओली सरकारको विकल्प खोजिरहेको नेकपा माओवादी केन्द्रले नयाँ सरकारबारे सहमति जुटाउन भेटघाट तीव्र बनाएको छ। राष्ट्रिय सहमतिको सरकार गठन नभई संविधान कार्यान्वयनमा समस्या आउने तथा विद्यमान समस्या समाधान नहुने अडान राख्दै आएको माओवादीले सोमबार केन्द्रीय कार्यालय (हेडक्वार्टर) बैठक सकिएलगत्तै सक्रियता बढाएको हो। सोमबारै अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेटेका थिए। दुवै भेटमा दाहालले यतिखेर देखापरेका कैयन समस्या अन्त्य गर्न र नौबुँदे सम्झौता कार्यान्वयनका लागि राष्ट्रिय सरकार आवश्यक रहेको भनाइ राखेको स्रोतले बतायो।

दाहालका स्वकीय सचिव जोगबहादुर महराका अनुसार छलफलमा देउवा र ओलीले पनि राष्ट्रिय सहमतिको सरकार गठनमा सकारात्मक धारणा राखेका थिए। 'मुलुकमा व्याप्त समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकारका लागि सबै नेता सकारात्मक हुनुहुन्छ,' महराले भने, 'तर सहमतीय सरकार गठनको अवधारणालाई कसरी कार्यान्वयनमा लैजाने भन्नेबारे छलफल जारी राखिएको हो।' उनका अनुसार अहिले भइरहेको सहमतीय सरकार गठनसम्बन्धी छलफलको नतिजा एक/दुई दिनमा देखिन सक्छ।

सत्तासाझेदार एमालेसँग गत वैशाख २३ गते गरिएको नौबुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै वर्तमान सरकारको विकल्प खोजीमा रहेको माओवादीले सातायता सहमतीय सरकार गठनका लागि मुख्य राजनीतिक दलसँग पटक–पटक छलफल गरिरहेको छ। माओवादी अध्यक्ष दाहालले मधेसका समस्या समाधान नगरेसम्म मुलुकले निकास नपाउने भन्न थालेका छन्।

अहिलेसम्म माओवादीले भनेझैँ राष्ट्रिय सहमतीय सरकारको प्रारुप तयार भने भइसकेको छैन। स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिलेकै सरकारमा कांग्रेसलाई सहभागी गराउनुपर्ने पक्षमा छन् भने कांग्रेस बहुमतीय सरकारको पक्षमा छ। कांग्रेसका एक नेताका अनुसार लोकतन्त्रमा बलियो प्रतिपक्ष जरुरी हुने भएकाले कांग्रेस र एमाले एउटै सरकारमा सहभागी हुनु त्यति राम्रो हुँदैन। यद्यपि कांग्रेसभित्रै बहुमतीय या सहमतीय सरकारबारे भने ठोस निर्णय हुन सकेको छैन। स्रोतका अनुसार ठूलो संख्याका नेता बहुमतीय सरकारको पक्षमा छन्।

यता माओवादीले भने वैशाख २३ गतेको नौबुँदे सम्झौता र भद्र सहमतिअनुसार अबको सरकारको नेतृत्व आफ्नो पार्टीले पाउनुपर्ने माग गर्दै आएको छ। तर, माओवादीका कतिपय नेता भने यतिखेर को प्रधानमन्त्री हुने भन्दा पनि विद्यमान समस्या समाधान गर्न राष्ट्रिय सहमतिको सरकार जरुरी रहेको दाबी गर्छन्। माओवादी हेडक्वार्टर सदस्य मणि थापा एमाले अध्यक्ष ओली नेतृत्वको सरकारसँग माओवादी रहिरहने कुरा लगभग समाप्त भइसकेको बताउँछन्। 'पार्टीको हेडक्वार्टर बैठकले सत्ता साझेदारीबारे निर्णय गर्ने अधिकार अध्यक्षलाई दिइसकेको छ,' उनले भने, 'तर ओली नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा कोही पनि छैनन्।' उनका अनुसार यतिखेर माओवादीको पहिलो विकल्प एमालेले नौबुँदे कार्यान्वयन गर्नुपर्ने, दोस्रो विकल्प कांग्रेससँग मिलेर सहमतीय सरकारमा सामेल हुने र तेस्रो विकल्पका रूपमा माओवादी प्रतिपक्षमा जान पनि सक्छ। 'सरकारमा रहनु र नरहनुमा कुनै फरक रहेन भने मन्त्रीलाई बोलाएर प्रतिपक्षमै रहने पनि हुन सक्छ,' उनले भने।

सोमबार हेडक्वार्टर बैठक सकिएलगत्तै माओवादी अध्यक्ष दाहालले कांंग्रेस सभापति देउवा र एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीबाहेक कांग्रेसकै अर्का नेता अमरेशकुमार सिंहलाई पनि भेटेका थिए। सभामुख ओनसरी घर्तीको कार्यकक्षमा दाहाल र सिंहबीच कुराकानी भएको थियो। सिंहले केही दिनअघि नै ओली नेतृत्वको सरकार चाँडै परिवर्तन हुने बताएका थिए।

माओवादीकी प्रवक्ता पम्फा भुसाल सहमतीय सरकार गठनका लागि केही दिनयता भइरहेको घनिभूत छलफलको नतिजा चाँडै सार्वजनिक हुने बताउँछिन्।

प्रकाशित: २८ असार २०७३ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App