८ वैशाख २०८१ शनिबार
समाज

हुस्सुका कारण खानीडाँडाको उडान प्रभावित, अस्पताल हिँडेका बिरामी मारमा

खोटाङ – बाक्लो हुस्सु र तुवाँलोका कारण हप्ता दिनदेखि खोटाङको खानीडाँडा बिमानस्थलको उडान प्रभावित भएको छ। कुहिरोजस्तो देखिने बाक्लो कुहिरो र तुवाँलोका कारण खानीडाँडामा गत मंगलबार यताको उडान प्रभावित भएको हो।

जिल्लाका तीन वटा विमानस्थलमध्ये सदरमुकामबाट सबैभन्दा नजिकरहेको खानीडाँडा विमानस्थलमा हुस्सुका कारण उडान नहुँदा यात्रु मारमा परेका छन्। हिँडडुल गर्न सक्ने यात्रु खानीडाँडाबाट फर्किएर दिक्तेलमा बस्ने गरे पनि हिँडडुल गर्न नसक्ने यात्रु तथा बिरामी भने खानीडाँडामै बस्न बाध्य बनेका छन्। काठमाडौंबाट खानीडाँडाका लागि जहाज आए पनि तुवाँलो र हुस्सुका कारण विमानस्थल नदेख्दा अवतरण गर्न नसकेर फर्किने गरेको नेपाल बायु सेवा निगमका खानीडाँडा स्टेशन इन्चार्ज यादवसेन राईले बताए। ‘हुस्सु र तुवाँलोले गर्दा मंगलबार यता उडान भर्न सकिएको छैन,’ राईले भने, ‘उपचारकालागि हिँडेका विरामीहरु विमानस्थलमै बस्न बाध्य बनेका छन्।’ केही समय यता जिल्लामा वर्षा याममाझैँ हुस्सु लाग्नुका साथै चिसो बढेको छ।

शनिबार काठमाडौंबाट खानीडाँडा हुँदै बिराटनगर पुगेर पुन: खानीडाँडा फर्किएर काठमाडौं पुग्ने भनिएको जहाज प्रतिकूल मौसमकै कारण बिराटनगर पुगेर फर्कन नसकेको जनाइएको छ। खानीडाँडामा उडान नहुँदा जिल्ला अस्पतालले रेफर गरेका अधिकांश बिरामी बिमानस्थलमा जहाजको प्रतिक्षामा दिन विताइरहेका छन्। जिल्लाका लामीडाँडा, थामखर्क सहित तीन वटा बिमानस्थलहरुमध्ये दूरीका हिसावले खानीडाँडा बिमानस्थल सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्छ । दिक्तेलबाट बढिमा डेढघण्टा पैदल दुरीमा रहेका कारण अधिकांश बिरामीलाई अस्पताल लैजानकालागि खानीडाँडा बिमानस्थलको उपयोग हुने गरेको छ।

प्रकाशित: १३ चैत्र २०७३ ०९:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App