८ वैशाख २०८१ शनिबार
समाज

प्रधानन्यायाधीश कार्कीले सम्हालिन् कार्यभार

काठमाडौं- सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा सुशीला कार्कीले जिम्मेवारी सम्हालेकी छन्। संसदीय सुनुवाइ समितिबाट आइतबार सर्वसम्मत अनुमोदन भएकी कार्कीले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै सर्वोच्च फर्किएर कार्यभार सम्हालेकी हुन्।

प्रधानन्यायाधीश बन्ने कार्की नेपालकै पहिलो महिला हुन्। कार्यभार सम्हाल्दै उनले आफ्नो कार्यकाल औसतभन्दा माथि उठाउने प्रयासमा केन्द्रित हुने बताइन्। 'म जम्मा एक वर्षको कार्यकालका लागि प्रधानन्यायाधीश हुँदैछु,' उनले भनिन्, 'धेरै काम गर्ने सोचेको छैन तर सकेजति काम नगरी बस्दिन।'

पदभार ग्रहणपछिको पत्रकार सम्मेलनमा कार्कीले न्यायाधीशका लागि छुट्टै आवास निर्माण गर्ने सपना लिएको बताइन्। 'न्यायाधीश अर्काको घरमा भाडामा बस्दा धेरै समस्या हुने रै'छ,' कार्कीले भनिन्, 'आचरणमा बस्नुपर्नेदेखि भेटघाट र सुरक्षामा समेत समस्या आइरहने अनुभव गरेरै मैले यस्तो योजना बनाएको हुँ।'

फैसला कार्यान्वयमा अदालत मात्र सक्रिय भएको तर सरकार र प्रहरीले यथेष्ट सहयोग नगरेको गुनासो उनले गरिन्। बालकृष्ण ढुंगेलको मुद्दामा दुई पटकसम्म फैसला हुँदा पनि कार्यान्वयन नभएको प्रश्नमा कार्कीले अदालतलाई भन्ने ठाउँ नरहेको बताइन्। 'अदालतले फैसला गर्ने हो,  दोषीलाई पक्राउ र सजाय देऊ भन्ने हो,' उनले भनिन्, 'पुलिसले भेटिएन भनेर पक्राउ गर्दैन भने हामी के गर्न सक्छौं?' 

न्यायालयमा भ्रष्टाचार भएको अस्वीकार गर्न नसकिने भन्दै प्रधानन्यायाधीश कार्कीले त्यसको अनुगमन वा निगरानी गर्ने काम आफूले सुरुवात गरिसकेको बताइन्। 'अहिले जताततै भ्रष्टाचार छ भन्न्ो आरोप मात्र लगाइन्छ तर त्यसको पुष्टि हुने तथ्य कतै देखिँदैन,' उनले भनिन्, 'अदालतमा पनि हामीले केही दिन अनुगमन गरेका छौं तर कसैलाई भेटेका छैनौं।' यसको अर्थ घुस र भ्रष्टाचार लेनदेनमा अदालत अछुत छ भन्ने नभएको उनले बताइन्।  'न्यायालयमा  भ्रष्टाचार छैन भनेर कुनै प्रधानन्यायाधीशले पनि भनेका छैनन्,' उनले भनिन्, ‘सडेगलेको थोरै माछाले पनि सिंगो तलाउ दूषित भएजस्तै अवस्था छ न्यायलयमा पनि।'

पुनरावेदन अदालतका न्यायाधीशलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे रणनीति बनाइरहेको उनले बताइन्। 'मुख्य न्यायाधीश तत्काल जिम्मेवारी मुक्त होलान् भन्ने मलाई लाग्दैन,' उनले भनिन्, 'प्रदेशको केन्द्र निर्माणमा विवाद देखिएका अदालत राख्ने कुरामा पनि विवाद आउने हुँदा त्यसको समाधान तत्कालीन समयमा खोज्नुपर्छ।'

न्याय सम्पादन महँगो हुने सवाल उठे पनि त्यसको समाधान सरकारबाटै सोच्नुपर्ने उनले बताइन्। अदालतले जिल्ला तहबाटै अनलाइनबाट म्याद थप र तारेख लिन सक्ने तथा एक घन्टामै सेवा दिन काम पछिल्ला दिनहरुमा अदालतले दिदै आएको उनले बताइन्। समय तालिकाअनुसार फैसला गर्ने पद्धति, फास्ट ट्र्याक अदालत र निरन्तर सुनुवाइजस्ता कार्य सञ्चालन गर्दै न्यायलाई छिटोछरितो सम्पन्न गर्ने कामलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धतासमेत उनले व्यक्त गरिन्।

तीनवटा निर्वाचनको दायित्व छ : प्रमुख आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि सोमबारै पदभार सम्हालेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नवनियुक्त प्रधानन्यायाधीश सुशीला कार्कीले शपथ गराएलगत्तै उनले आयोग कार्यालय बहादुर भवनमा जिम्मेवारी सम्हालेका हुन्। पद बहालीपछि आयोजित कार्यक्रममा यादवले तीनवटा निर्वाचन सम्पन्न गर्नुपर्ने गहन दायित्व रहेकाले त्यसको जिम्मेवारीका लागि तयार रहन कर्मचारीलाई निर्देशन दिए। स्थानीय निकाय निर्वाचनका लागि आयोगले आन्तरिक तयारी अगाडि बढाइरहेको र निर्वाचनका लागि आवश्यक ऐन, कानुन छिट्टै आउने अपेक्षामा रहेको उनले बताए।

राजनीतिक दल तथा अन्य सरोकारवाला निकायको सहयोग प्राप्त भए निर्वाचन निर्वाधरूपमा सम्पन्न हुनसक्ने विश्वास उनले व्यक्त गरे। आगामी निर्वाचनका लागि तयारी अवस्थामा रहन र आफ्नो कर्तव्यप्रति सक्रियरूपमा लागेर सकारात्मक सोचका साथ कार्य सम्पन्न गर्न उनले कर्मचारीलाई निर्देशनसमेत दिए। यसअघि दुईपटक आयुक्त भइसकेका यादव कामु प्रमुख हुँदै प्रमुख निर्वाचन आयुक्त नियुक्त भएका हुन्।

प्रकाशित: २८ असार २०७३ ०२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App