७ वैशाख २०८१ शुक्रबार
समाज

सामूहिक माछापालनमा किसान

बागलुङ – काठेखोला गाउँपालिका–४ तङ्ग्रामका किसानले माछापालनबाट लाखौँ रुपैयाँ कमाउँदै आएका छन् । 

चार किसान मिलेर चार वर्षअघि सुरु गरेको सामूहिक माछापालन व्यवसायले यथेष्ट आम्दानी दिएको हो । अघिल्लो वर्ष रु चार लाखको माछा बिक्री गरेको नमुना माछा तथा बाख्रापालन समूहका अध्यक्ष रनबहादुर थापाले बताए । 

थापासँगै बलबहादुर, पहलमान र लालसिंह थापाले रु १० लाखको लगानीमा माछापालन सुरु गरेका थिए । “वर्षमा ८०० किलोसम्म माछा बिक्री गर्छौं”, समूहका अध्यक्ष थापाले भने – “बर्सेनि माछापालनलाई विस्तार गर्दै लगेका छौँ ।” दस रोपनी क्षेत्रफलमा आठ वटा पोखरी निर्माण गरेर माछापालन गरिएको उनको भनाइ छ । 

सुरुमा पोखरीमा ३० हजार भुरा माछा छोडिएकामा गत वर्ष ३५ हजार भुरा माछा छोडिएको थियो । यो वर्ष एक लाख भुरा माछा छोडने तयारी भएको समूहका सदस्य बलबहादुर थापाले जानकारी दिए । “यो वर्षदेखि माछाको नर्सरी पनि बनाउने योजनामा छौँ”, थापाले भने – “अबदेखि माछाका भुरा पनि बेच्छौँ ।” 

वार्षिक रु एक लाख भाडामा तङ्ग्राम धैरेनीमा लिएको २० रोपनी जग्गामा माछापालनसँगै बाख्रा, कुखुरा र हाँस पनि पाल्न थालिएको छ । पोखरीमा भुरा छोडेको छ महिनामा माछा बिक्रीका लागि तयार हुने गरेको र प्रतिकिलो रु ५००मा माछा बिक्री हुँदै आएको सदस्य थापाले बताए । 

पोखरीमा उत्पादित सबै माछा गाउँमै खपत हुने गरेको छ । “माछापालन सफल भएको छ, यसलाई अझै विस्तार गर्ने हाम्रो योजना छ” – थापाले भने । पोखरीमा ग्रासकार्प, कमन, नैनी, रहु, भ्याकुर जातका माछा छ । समूहले माछापालनका लागि जिल्ला कृषि विकास कार्यालयबाट रु एक लाख २० हजार अनुदानसमेत पाएको छ । 

रु २५÷२५ हजार सेयर रकम राखेर माछापालन व्यवसाय सुरु गरिएकामा अहिले उक्त रकम बढाएर रु एक लाख पुर्याइएको छ । सुरुमा केही सामूहिक ऋण लिनुपरे पनि अहिले व्यवसाय नाफामा रहेको जनाइएको छ । भुरा टाढाबाट लिनुपर्ने, महँगो भाडा तिनुपर्ने, भनेको माछा नपाइने, हावापानी नमिल्दा भुरा मर्नेजस्ता समस्या किसानले व्यहोर्दै आएका छन् । 

समूहले वार्षिक रु ५० लाखसम्म कमाउने लक्ष्यका साथ यो व्यवसायलाई विस्तार गर्ने योजना रहेको जनाएको छ । पछिल्लो समय बागलुङमा व्यावसायिक माछापालनतर्फ किसानको आकर्षण बढ्दो छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार अहिले जिल्लामा सयभन्दा बढी रोपनी क्षेत्रफलमा व्यावसायिक माछापालन हुँदै आएको छ । रासस 

प्रकाशित: १३ चैत्र २०७३ ०६:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App