coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महोत्सवबाट क्याम्पसलाई दुई करोड १६ लाख

क्याम्पसको सहयोगार्थ दिक्तेलमा आयोजना गरिएको शैक्षिक तथा धार्मिकस्थल । तस्बिर : दमन राई

खोटाङ – खोटाङको दिक्तेल बहुमुखी क्याम्पसको सहयोगार्थ सञ्चालन गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा दुई करोड भन्दा बढी आर्थिक सहयोग संकलन भएको छ

। शैक्षिक कार्यक्रम विस्तार गर्दै दिक्तेल क्याम्पसलाई मुलुककै नमूना क्याम्पस बनाउनकालागि आवश्यक रकम जुटाउन सदरमुकाम दिक्तेलमा चैत्र ५ गतेदेखि १२ गतेसम्म सञ्चालन गरिएको शैक्षिक तथा धार्मिक महोत्सवबाट नगद दान, जग्गा दान, तुला दान, सुन दान, धान दान लगायत गरी २ करोड १६ लाख ९५ हजार ३३१ रुपैयाँ रकम संकलन भएको हो । क्याम्पसको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धिकालागि आवश्यक आर्थिक अभाव भएकाले शैक्षिक तथा धार्मिक महोत्सव आयोजना गरिएको क्याम्पस सञ्चालक समितिले जनाएको छ । 
‘दिक्तेल बहुमुखी क्याम्पसको सुनौलो दर्वियान, कार्यक्रम विस्तार एवं गुणस्तर सुधार हाम्रो अभियान’ भन्ने नारासहित दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजना गरिएको शैक्षिक तथा धार्मिक महोत्सवमा नगद दानवापत १ करोड ९ लाख ७५ जार ३३१, भूमी दानवापत १ करोड ६ लाख ८० हजार, धान दानबाट ३९ हजार, सुन दानबाट १ हजार लगायतका सहयोग संकलन भएको क्याम्पस प्रमुख प्राध्यपक डा. शुकराज राईले बताए । नगद तथा तुला दानवापत ७२ लाख ३९ हजार ७०४, शान्ती कलश सदस्यताबाट ३६ लाख ३० हजार, शालिग्राम पूजाबाट ५८ हजार ७२ र दान पेटिकाबाट ४७ हजार ५५५ रुपैयाँ नगद संकलन भएको आयोजकले जनाएको छ । क्याम्पसको उन्नतीका लागि स्थानीय नौ जग्गा दाताले क्याम्पसलाई जग्गा दिएका छन् । महोत्सवका माध्यमबाट क्याम्पसलाई जिल्ला तथा जिल्ला बाहिर बसिरहेका शुभेच्छुक, विद्यार्थी, अभिभाबक लगायतले सहयोग गरेका हुन् । 
२०३७ सालमा स्थापना गरिएको क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका बिभिन्न संकायतर्फका बिषय थप गर्दै गुणस्तरिय शिक्षा प्रदान गर्नकालागि श्रोत जुटाउन शैक्षिक तथा धार्मिक महोत्सब आयोजना गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष देवीप्रसाद रिजालले बताए । क्याम्पसको शैक्षिक तथा भौतिक बिकासकालागि आयोजित महोत्सवमा हजारौं स्थानीयको सहभागिता रहेको थियो । 
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा २०७० सालदेखि दिक्तेल क्याम्पसमा पहिलोपल्ट मानविकी संकायतर्फ नेपाली बिषयमा स्नातकोत्तर तहको कक्षा सुरु गरिएको थियो । यस शैक्षिकसत्रबाट समाजशास्त्रतर्फको कक्षा सुरु गर्ने तयारी भएको क्याम्पसमा शैक्षिक तथा धार्मिक महोत्सवबाट जम्मा भएको रकमबाट अन्य संकायतर्फका विषय थप गरिने क्याम्पस प्रमुख प्राध्यपक डा. राईले बताए । ‘दिक्तेल बहुमुखी क्याम्पससँगैका क्याम्पसले शिक्षाका क्षेत्रमा फड्को मारिसकेको छ, हाम्रो क्याम्पस अरुभन्दा पछि प¥यो,’ प्राध्यपक डा. राईले भने, ‘महोत्सवबाट उठेको रकम नयाँ शैक्षिक कार्यक्रम थप गर्न र शैक्षिक गुणस्तर वृद्धिकालागि उपयोग गर्ने छौँ ।’ 
महोत्सवका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष रिजालको संयोजकत्वमा ११ हजार १ सय ११ सदस्यीय महोत्सव मूल आयोजक समिति गठन गरिएको थियो । बाली विज्ञान विषयमा कक्षा ११ र १२ को कक्षा सञ्चालनका लागि आवश्यक रकम जुटाउन दिक्तेलकै पञ्च माविले फागुन १९ गतेदेखि २६ गतेसम्म  श्रीमद भागवत धान्याञ्चल सप्ताह महायज्ञ सञ्चालन गरेको केही हप्ता नबित्दै दिक्तेल क्याम्पसले पनि शैक्षिक तथा धार्मिक महोत्सब आयोजना गरेको हो । महायज्ञबाट पञ्च माविले पनि एक करोडको हाराहारीमा रकम संकलन गरेको थियो । 


 

प्रकाशित: १३ चैत्र २०७३ ०५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App