coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोदीकाे उपहार हेलिकोप्टरको मोल खोज्दै भारत

सैनिक मञ्च टुडिखेलमा २०७१ मंसिर १ गते नेपाललाई उपाहरस्वरुप हेलिकोप्टर हस्तान्तरण गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तत्कालीन समकक्षी सुशील कोइरालासँग। फाइल तस्बिर : केशव थोकर

काठमाडौं- भारतले दुई वर्षअघि नेपाललाई उपहारस्वरुप उपलब्ध गराएको सैन्य हेलिकोप्टरबापत सवा अर्ब रुपैयाँ तिर्न ताकेता गरेको छ। सार्क शिखर सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीले उक्त हेलिकप्टर उपहार भनी नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका थिए।

मंसिर १, २०७१ का दिन सैनिक मञ्च, टुँडिखेलमा तामझामसहित आयोजित विशेष समारोहबीच मोदीले समकक्षी कोइरालालाई 'एयर टु मिसाइल– एएलएच ध्रुव मार्क थ्री' हेलिकोप्टर हस्तान्तरण गरेका थिए। नेपाली सेनाका लागि दिइएको उक्त हेलिकोप्टर कोइरालाले तत्कालै तत्कालीन प्रधानसेनापति गौरवशमशेर जबरालाई हस्तान्तरण गरेका थिए ।

उक्त हेलिकोप्टरको मूल्य एक अर्ब २४ करोड र थप ३ करोड रुपैयाँ दुई पटकको मर्मत तथा नेपाल आएका प्राविधिक समूहको खर्चसमेत जोडेर भारतले एक अर्ब २७ करोड रुपैयाँको बिल पठाएको रक्षा मन्त्रालय स्रोतले जनाएको छ।

स्रोतका अनुसार हेलिकोप्टर लिएर आएका र पछि दुईपटक मर्मतका लागि आएका प्राविधिकको भत्ता र होटल खर्चसमेत बिलमा जोडिएको छ।

रक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद सिम्खडाले भारतले सुरक्षासम्बन्धी परामर्श समूहको १२ औं बैठकमा समेत नेपाली सेनाका लागि उपलब्ध गराइएका विविध सुरक्षा सामग्रीको रकम भुक्तानबारे कुरा उठाएको जानकारी दिए।

उनका अनुसार समूहको बैठकमा भारतले 'युनिफर्म बेनिफिट मेथड' (एकीकृत लाभदायक तरिका) अन्तर्गत नेपालले २ अर्ब ४६ करोडभन्दा बढी रकम भुक्तान गर्न बाँकी रहेको जनाएको हो। सिम्खडाले उक्त रकममा हेलिकप्टरको मूल्य पनि जोडिएको छ।

'हेलिकोप्टरसहित अन्य उपकरण, हातहतियार र सवारीसाधनसमेत एकमुष्ट भुक्तानीका लागि पत्र आएको छ, मन्त्रालयमा भुक्तानका सम्बन्धमा छलफल भइरहेको छ,' सिम्खडाले नागरिकसँग भने।

दुई देशीय बैठकमा नेपालका तर्फबाट सहभागी टोलीले भारतले अनुदान भन्दै मूल्यको ६० प्रतिशत मिनाहा गर्ने सम्झौतालाई पुनर्विचारका लागि कुरा उठाएपछि भारतीय पक्षले पुरानो रकम भुक्तानीका लागि पहल सुरु गरेको स्रोत बताउँछ। नेपाली पक्षले उपहार भनिएको हेलिकप्टरको किन भुक्तानी भनी कुरा उठाउँदा भारतीय पक्षले 'प्रधानमन्त्री मोदीलाई कसले के भनेको हो थाहा भएन, भुक्तान गर्नुपर्ने रकम यो हो' भन्ने जवाफ दिएको बैठकमा सहभागी एक उच्च सैनिक अधिकारीले नागरिकलाई जानकारी दिए।

गत वर्ष नेपालमा सम्पन्न हुनुपर्ने उक्त बैठक एक वर्षपछि भारतको नयाँदिल्लीमा जेठ २७ र २८ गते बसेको थियो। नेपाल र भारतबीच सुरक्षा सम्बन्धमा छलफल गर्न दुवै देशका रक्षा र परराष्ट्र मन्त्रालयका सहसचिवसहित सेनाका अधिकारी बीच सन् २००३ देखि यो बैठक हुँदै आएको छ।

बैठक पालैपालो नेपाल र भारतमा बस्दै आएको छ।

भारतीय पक्षबाट समेत नेपाललाई प्रधानमन्त्री मोदीको उपहारका रुपमा व्याख्या गरिएको उक्त हेलिकप्टर सेनाले पाएको एक महिनामै बिग्रिएको थियो।

सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले दुई देशका सरकारप्रमुख बीच भएको कार्यक्रमका विषयमा सेनालाई जानकारी नहुने बताए। उनले सेनालाई प्रदान गरेपछि उसले प्रयोग गर्ने वस्तुका विषयमा पनि सेनाले बोल्न नमिल्ने बताए। 'सेना सरकार मातहत रहेको निकाय हो, सरकारप्रमुख बीच भएका लेनदेनका विषय हामीलाई जानकारी हुँदैन,' उनले भने।

भारतीय पक्षका तर्फबाट नेपालस्थित भारतीय दूतावासले हेलिकप्टर हस्तान्तरणपछि नेपाली सेनालाई 'एयर टु मिसाइल' हेलिकप्टरको विशेषता मात्र उल्लेख गरेर विज्ञप्ति प्रेषित गरेको थियो।

मौखिक रुपमा भने नेपाली र भारतीय दुवै पक्षले हेलिकप्टर मोदीको उपहार भएको बताएका थिए।  विगतमा नेपाल र भारतबीच भएका सहमतिअनुसार उक्त हेलिकप्टर नेपाललाई सहयोगस्वरुप उपलब्ध गराइएको सरकारी अधिकारीले बताएका थिए।

भुक्तानीको तयारीमा रक्षा

रक्षा मन्त्रालय भारतसँग हातहतियारसहित सैन्य सामग्री खरिदमा पुरानो नियम फेर्नुपर्ने मनसायमा पुगेसँगै पुरानो भुक्तानीका लागि पहल भइरहेको रक्षा मन्त्रालयले जनाएको छ।

रक्षामन्त्री भीम रावल अनुदान भन्दै भारतले दिने अधिकांश सैन्यसामग्री कमसल र गुणस्तरहीन भएकाले पुरानो भुक्तानी गरेर नयाँ नियम बनाउने पक्षमा उभिएका छन्।

सहसचिव सिम्खडाले धेरै ठूलो रकम नभएकाले भुक्तानीका लागि मन्त्रालयमा सकारात्मक पहल भइरहेको बताए। नेपालले हतियार खरिदका सम्बन्धमा भारतीय पक्षसँग अनुदान, सहयोग र उपहारमा स्पष्ट हुन आग्रह गरेपछि भारतीय पक्षले पुरानो भुक्तानीका लागि ताकेता गर्न थालेको हो। भारतले नेपाली सेनाका लागि अनुदान सहयोगका रुपमा इन्सास राइफल, गोली, सवारीसाधनसहित सैन्यउपकरण उपलब्ध गराउने गरेको छ। सेनाले इन्सास राइफलका सम्बन्धमा यसपटक भने खुलेर नै आपत्ति जनाएको हो।

रक्षाका अधिकारीसमेत दियो भन्दैमा सोच्दै नसोची लिनैपर्ने बाध्यकारी नियमका विपक्षमा छन्। भारतले दिने वस्तुका विषयमा स्पष्ट हुने र भुक्तानी, उपहार, अनुदान, सहयोग के हो, त्यो विषयमा स्पष्ट हुन मन्त्रालयका अधिकारीले मन्त्री रावलसँग छलफल गरेका छन्। 

प्रधानमन्त्री ओलीको आग्रह मानेन भारतले

यता, प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एउटा एजेन्डाका रुपमा भारतले दिएका सैन्य सामग्रीको मूल्य मिनाहाको आग्रह गर्ने थियो।

रक्षामार्फत प्रधानमन्त्री ओलीको एजेन्डामा समावेश गरिएको अनुदान रकम मिनाहामा भारतीय पक्षले स्पष्ट जवाफ नदिएको भए पनि मिनाहा हुने सम्भावना धेरै रहेको अनुमान रक्षा मन्त्रालयले गरेको थियो तर विपरीत अहिले भुक्तानीका लागि भारतीय पक्षको पत्रले ओलीको बोली खेर गएको स्पष्ट भएको छ।

नेपाललाई सन् २००३ मा भारतीय पक्षले एएलएच धु्रव दुइटा हेलिकप्टर अनुदान सहयोगमा उपलब्ध गराएको थियो। भारतीय पक्षले कुल मूल्यको ६० प्रतिशत रकम मिनाहा र ४० प्रतिशत भुक्तानीमा दिएका दुवै हेलिकप्टरको रकम तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बेला मिनाहा गरेको भारतले यसपटक सम्बन्धमा आएको उतारचढाबका कारण मिनाहा गर्न नमानेको रक्षा मन्त्रालयको बुझाइ छ।

तीनवटै थन्किए बराबर

भारत सरकारले नेपाली सेनाका लागि नेपाली भूगोलअनुसार निर्माण गरिएको दाबी गरेका एएलएच धु्रव हेलिकप्टर सेनाको हवाई निर्देशनालयमा थन्किएबराबर छन्।

भारतबाट सन् २००३ मा दुइटा र सन् २०१४ मा एउटा हेलिकप्टर नेपाली सेनाले प्राप्त गरे पनि तिनको प्रयोग 'यदाकदा' बाहेक हुन सकेको छैन। पछिल्लोपटक प्राप्त हेलिकप्टरसमेत दुईपटक मर्मत गर्नुपरेको र सोको खर्च ३ करोड भारतीय पक्षले दाबी गरेको हो।

'उडाउनै नसकिने, उडे जहाँ गयो त्यहीँ थन्किने र बिग्रिए महँगो शुल्कमा प्राविधिक उतैबाट ल्याउनुपर्ने, चर्चा गरेजस्तो केही छैन, घाँडो भएको छ,' हवाई निर्देशनालयका एक अधिकारीले भने।

भारतीय पक्षले हिन्दुस्तान एरोनोटिक्स लिमिटेडले निर्माण गरेको १४ सिटे 'एएलएच „ुव मार्क थ्री' हेलिकप्टर उत्कृष्ट रहेको दाबी गर्दै प्रचार गरेको  थियो। पछिल्लोपटक नेपाली सेनालाई प्राप्त हेलिकप्टर सन् २०१२ मा निर्माण भई ग्राउन्ड टेस्टपछि नेपाली भूमिमा फिल्ड टेस्टका लागि पठाएको थियो।

भारतीय सेनासहित विश्वका अन्य देशलाई सैन्य प्रयोजनका हेलिकप्टर बेच्दै आएको कम्पनीले भारतीय सेनाले आक्रमणका लागि प्रयोग गर्ने गरेको दाबी गर्दै आएको छ। चालकदलका दुई जनासहित कुल १६ सिट क्षमताको उक्त हेलिकप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा सहजै उडान भर्न सक्ने भारतीय पक्षको दाबी गरे पनि यसअघि प्राप्त दुई हेलिकप्टरका विषयमा जानकारी हुँदाहुँदै नेपाली पक्षले उपहारका रुपमा स्विकारेको थियो।

उत्पादक कम्पनीका अनुसार एक हजार ५ सय किलोग्राम बराबरको तौलको सरसामान भारबहन गर्न सक्ने यो हेलिकप्टरले समु› सतहदेखि २२ हजार ९ सय ६० फिटसम्म उडान लिन सक्छ। यसमा चार स्ट्रेचर र दुई चिकित्साकर्मी रहन सक्छन्।

प्रतिघन्टा ३२० लिटर इन्धन उपभोग गर्ने यो हेलिकप्टर हिन्दुस्तान एरोनोटिकल लिमिटेडले निर्माण गरेको हो।

प्रकाशित: २८ असार २०७३ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App