coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

डेब्यु टेस्टमा कुलदीपको चार विकेट

धर्मशाला- अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्टमा डेब्यु गरेका स्पिनर कुलदीप यादवले शनिबार चार विकेट लिएपछि आफ्नो सपना पूरा भएको प्रतिक्रिया दिएका छन्। कप्तान विराट कोहलीको कुममा लागेको चोट पूर्ण रूपमा ठीक नभएपछि भारतको कप्तानी अजिन्क्या रहानेले सम्हालेका छन्। कोहलीको स्थानमा टोलीमा समावेश गरिएका कुलदीपले शनिबार बिहान मात्र मात्र थाहा पाएका थिए।

तर सुरुमा केही आत्तिएका २२ वर्षे कुलदीपले अस्ट्रेलियाका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन्। उनले ६८ रन दिएर ४ विकेट लिए।

‘म धेरै खुसी छु। आज मेरो सपना पूरा भएको छ। टेस्टमा मैले योभन्दा धेरै कल्पना गरेको थिइनँ,’ कुलदीपले भने, ‘ब्याटिङका लागि सहयोगी विकेट थियो। बल टर्न भइरहेको थिएन। त्यसैले मैले विकेट टु विकेट बलिङ गर्ने प्रयास गरंे।’

टस जितर ब्याटिङ गरेको अस्ट्रेलियाले राम्रो सुरुआत गरे पनि पहिलो इनिङमा ३ सय रन बनाई अलआउट भएको थियो। भ्रमणकारी टोलीका कप्तान स्टिभ स्मिथले १ सय ११ रन बनाए। १४ चौका प्रहार गरेका स्मिथको जारी शृंखलामा यो तेस्रो शतक हो।  भारतीय भूमिमा तीन शतक पूरा गर्ने स्मिथ पहिलो अस्ट्रेलियन कप्तान बनेका छन्। २७ वर्षीय स्मिथ भारतमा तीन शतक बनाउने इङ्ल्यान्डका एलेस्टर कुकपछि दोस्रो विदेशी कप्तान हुन्।

राम्रो सुरुआत गरेको अस्ट्रेलिया लन्च समयसम्म १३१–१ को बलियो अवस्थामा थियो। तर कुलदीपले उत्कृष्ट बलिङ गरेपछि बाँकी दुई सेसनमा अस्ट्रेलियाले बाँकी सबै विकेट गुमायो। पहिलो दिनको समाप्तिमा १ ओभर खेलेको भारतले रनको खाता खोल्न सकेको छैन।

अस्ट्रेलियाका विकेटकिपर वेडले भारतीय बलरले राम्रो प्रदर्शन गरेको बताए। ‘भारतीय बलरले राम्रो गरे। त्यसले हामी ३ सय रनमा सीमित भयौं,’ ५७ रन बनाएका वेडले थपे, ‘अर्धशतकको योगदान गर्न पाउँदा खुसी लागेको छ। तर, शृंखला १–१ को बराबरी भएकाले आइतबार हामीले धेरै राम्रो खेल्नु आवश्यक छ।’

कुलदीपले पहिलो अन्तर्राष्ट्रिय विकेट लिने क्रममा ओपनर डेविड वार्नरलाई कप्तान अजिन्क्या रहानेको हातबाट स्लिपमा क्याच गराएका थिए। वार्नरले ८ चौका र १ छक्कासहित ५६ रन बनाए। उनले दोस्रो विकेट लिने क्रममा ८ रन बनाएका पिटर ह्यान्सकोम्बलाई बोल्ड गरे। लगत्तै ग्लेन म्याक्सवेललाई पनि कुलदीपले बोल्ड गरे।

दोस्रो आभेरमै ओपनर म्याट रेनशोलाई १ रनमा गुमाएको अस्ट्रेलियाका स्मिथले वार्नरसँग दोस्रो विकेटका लागि १ सय ३४ रनको साझेदारी गरेका थिए। नम्बर एक टेस्ट ब्याट्सम्यान स्मिथले भारतविरुद्धको पछिल्लो ८ टेस्टमा बनाएको यो सातौं शतक हो भने २०औं टेस्ट शतक हो। सात इनिङबाट ४ सय ८२ रन जोडेका स्मिथ शृखंलामा सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। उनी रविचन्द्रन आश्विनको बलमा राहनेबाट स्लिपमा क्याच भएका थिए।

स्मिथको ठीक विपरीत भारतका कप्तान कोहलीले भने तीन टेस्टमा ४६ रन मात्र बनाएका छन्। २०११ नोभेम्बरपछि विराट कोहली शनिबार पहिलो पटक टेस्ट खेल्न सकेनन्। यसबीचका सबै ५४ टेस्ट कोहलीले छुटाएका थिएनन्।

प्रकाशित: १३ चैत्र २०७३ ०४:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App