ह्यामिल्टन- हसिम अमलाको अर्धशतकप्रेरित दक्षिण अफ्रिकाले वर्षाले प्रभावित तेस्रो टेस्टको पहिलो दिन शनिबार मध्यम सुरुआत गरेको छ।
वर्षाले प्रभावित बनेपछि ४१ ओभर मात्र खेलिएको पहिलो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिका १२३–४ को स्थितिमा छ। फाप डुप्लेसी ३३ र टेम्बा बभुमा १३ रनमा क्रिजमा छन्। ५४ बल खेलेका डुप्लेसीले ७ चौका र २३ बल खेलेका बभुमाले १ चौका प्रहार गरेका छन्।
तर टस जितेर ब्याटिङका लागि उत्रिएको दक्षिण अफ्रिकाले सुरुआत भने राम्रो गर्न सकेन। ४ ओभरको समाप्तिमा ५ रन बनाउँदा २ विकेट गुमाइसकेको कठिन स्थितिमा रहेको भ्रमणकारी टोलीलाई अमला र जेपी डुमिनीलेे तेस्रो विकेटका लागि ५९ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए।
कोलिन डी ग्रान्डहोमीको बलमा बोल्ड हुनुअघि ९३ बल खेलेका अमलाले ९ चौकाको मद्दतमा ५० रन जोडे भने ७ रनमा जीवनदान पाएका डुमिनीले ६१ बलमा ३ चौकाको मद्दतमा २० रन जोडे। न्युजिल्यान्डका निल वाग्नरले डुमिनीविरुद्ध एलबिडब्लुको अपिल गरेका थिए तर अम्पायर ब्रुस अक्सेनफोर्डले उनको अपिल अस्वीकार गरे। उनी तीव्र गतिका बलर म्याट हेनरीको बलमा जितेन पटेलबाट क्याच भए।
घरेलु टोलीले उक्त अपिलमा रिभ्यु नलिनु टोलीका लागि महँगो साबित भयो। बल ट्रयाकर टेक्नोलोजीले बल सीधै स्टम्पमा लागेको देखाएको थियो।
दोस्रो दिनको खेलमा न्युजिल्यान्डले ८० ओभरसम्म रिभ्यु लिन नपाउने भएकाले पनि दक्षिण अफ्रिका केही सहज स्थितिमा हुनेछ।
आफ्नो पहिलो रिभ्यु खेर फालेको न्युजिल्यान्डले बाँकी रहेका दुई रिभ्यु पनि खेर फालेको थियो। जसका कारण १६ रनमा डुप्लेसी वाग्नरको बलमा विकेटकिपर बिजे वाटलिङबाट क्याच भए पनि अम्पायरले अस्वीकार गरेपछि उनले जीवनदान पाएका थिए।
‘हामीसँग सम्मानजनक स्कोर खडा गर्न अझै धेरै समय बाँकी छ,’ अमलाले भने, ‘हामी पहिलो इनिङमा सकेसम्म धेरै समय ब्याटिङ गर्दै खेल नियन्त्रणमा लिन चाहन्छांै।’
दक्षिण अफ्रिकाले टेस्ट क्रिकेटमा डेब्यु गरेका ओपनर थियोनिस डु ब्रुने (०) लाई ५ रन जोड्दा पहिलो विकेटको रूपमा गुमाएको थियो। ३ बलको सामना गरेका उनी तीव्र गतिका बलर म्याट हेनरीको बलमा टम लाथमबाट क्याच भए।
त्यस लगत्तै अर्का ओपनर डिन एल्गर (५) कोलिन डी ग्रान्डहोमीको बलमा बोल्ड भए।
न्युजिल्यान्डका हेनरीले २५ र ग्रान्डहोमीले ४३ रन खर्चंदै समान २ विकेट लिए।
‘हामीले राम्रो प्रदर्शन गर्दै उनीहरूको ४ विकेट लियौं। सही रिभ्यु लिन सकेनांै, यो निराशाजनक हुन सक्छ तर हामीले पछि पनि रिभ्यु लिन सक्छौं,’ हेनरीले भने।
जारी शंृखलामा दक्षिण अफ्रिका १–० ले अघि रहेको छ। पहिलो टेस्ट दक्षिण अफ्रिकाले जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा सकिएको थियो।
प्रकाशित: १३ चैत्र २०७३ ०४:१९ आइतबार