coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडकबीचमा खाल्डैखाल्डा

काठमाडौं- चिल्ला सडक। दोहोरो लेनमा सेकेन्डैपिच्छे सवारी हुइँकिरहेका। सडक चिल्लो देखेपछि चालक पनि ढुक्कले सवारी हाँक्छन्। तर, सडकको बीच भागमा पुगेपछि चालक घच्याक्क बे्रक हान्न बाध्य हुन्छन्। कारण हो– काठमाडौंको सडकको बीचबीचमा खनिएका खाल्डा। अहिले उपत्यकाका चौडा र फराकिला पक्की सडकको बीचमा हजारभन्दा बढी खाल्डा छन्।

यी खाल्डाले दुर्घटना र सवारी जामको समस्या त छ नै, खाल्डामा फसेपछि सवारीसाधनसमेत बिग्रिन थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिए। उनका अनुसार अहिले उपत्यकाका मुख्य सडकमा १३ सयभन्दा बढी यस्ता धराप छन्। यी खाल्डा सडकबत्ती जडान र ढल पाइप व्यवस्थित गर्न भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको काठमाडौं दिगो सहरी विकास आयोजनाले बनाएको प्रवक्ता मल्लको भनाइ छ। खाल्डाकै कारण हिजोआज उपत्यकाको ट्राफिक व्यवस्था कठिन जोखिम बन्दै गएको प्रहरीको निष्कर्ष छ। 'सवारी हुइँक्याएर आएका धेरै चालक यस्ता खाल्डामा फसेका छन्,' प्रवक्ता मल्लले भने, 'खाल्डाका कारण अहिले उपत्यकामा जाम बढेको छ।' उनले एक महिनाअघि कोटेश्वर–भक्तपुर सडकको बीचमा खनिएको खाल्डामा परी एक मोटरसाइकल चालक घाइते भएको बताए।

यता काठमाडौं दिगो सहरी विकास आयोजना प्रमुख भीमार्जुन अधिकारीले उपत्यकाका केही सडकमा बत्ती जडानका लागि खाल्डा खनिएको बताए। 'हामीले सहरी विकासका लागि केही स्थानमा बत्ती जडानका लागि खाल्डा चिह्न लगाएका छौं तर बीचका खाल्डालाई पुरेर मात्र छाडेका छौं,' उनले भने। उनका अनुसार  स्थानीय आफैंले पनि केही स्थानमा ढल पाइप बनाउन खाल्डा खनेका छन्।

कहाँकहाँ छन् खाल्डा?

नयाँबानेश्वर चोकनजिकै स्ट्यान्डर्ड चार्टर्ड बैंकसामु करिब ३ सय मिटर सडक खहरेजस्तो छ। काठमाडौं दिगो सहरी विकास आयोजनाले बनाएको यहाँ पनि सडक बत्ती जडान र ढल पाइप बिछ्याउनकै लागि भनेर चिल्लो सडकको बीचमा खाल्डा खनेको प्रवक्ता लोकेन्द्र मल्लले जानकारी दिए। पुतलीसडक हुँदै चावहिल सकडको बीच भागलाई नियाल्दै जाँदा १५ भन्दा बढी ठाउँमा खाल्डा पारिएको छ। महाशाखाका अनुसार सडक बत्ती जडानका लागि सडकको बीच भागमा खाल्डा पारिएको हो।

त्यस्तै कोटेश्वर–भक्तपुर सडक, कोटेश्वर–गौशाला सडक, रातोपुल–गौशाला, लगनखेल–रत्नपार्क सडक, माइतीघर–त्रिपुरेश्वर, बानेश्वर–अनामनगरलगायत उपत्यकाका मुुख्य सडकको बीचमा यस्ता सयौं खाल्डा रहेको बिहीबार न्यु प्लाजास्थित पद्मोदय चोकमा खटिएका ट्राफिक प्रहरी रोशन तिवारीले बताए। उनका अनुसार ट्राफिक लाइट जडानका लागि भनेर दुई महिना पहिले खनिएका खाल्डा यथावत् छन्।

सम्बन्धित निकायले काम नगर्दा सडक प्रयोगकर्ता अप्ठ्यारोमा परेका छन्। 'सडकमा एकपछि अर्को ठुल्ठुला खाल्डा छन्। सांसद्, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति दैनिक खाल्डा नियाल्दै संसद् भवन ओहोरदोहोर गर्छन्,' तिवारीले भने, 'तर सडकमा खनेका खाल्डा पुर्न कसैले ध्यान दिएनन्।'

नयाँबानेश्वरस्थित जेठो कोसेली घरकी शान्ति अर्यालले हिउँदैदेखि सडकमा खाल्डा परेको बताइन्। 'खाल्डामा पानी भरिएका बेला दैनिकजसो दुईरचार मोटरसाइकल तथा स्कुटर लडेको देखिन्छ,' उनले भनिन्, 'थाहा हुनेले गति घटाएर होसियारी अपनाउँछन् तर थाहा नहुने तीव्र गतिमै आउँदा खाल्डामा पर्छन्।'

खन्नमात्रै हतार

अहिले उपत्यकाका चौतर्फी सडकको दुरवस्थामा छन्। भत्काउन मात्रै हतारिने सरकारी प्रवृत्तिका कारण उपत्यकाका सडक भताभुङ्ग छन्। ट्राफिक प्रहरीका अनुसार उपत्यकाका सडकमा अहिले १३ सयभन्दा बढी खाल्डा छन्। तर, तिनलाई पुर्नुको साटो झन् थपिँदैछन्। सरकारी निकायले भत्काउन मात्रै हतार गर्ने तर  बनाउन चासो नदिएकाले यस्तो समस्या आएको बताउँछन् सामाजिक अभियन्ता जगन्नाथ लामिछाने। उनले जिम्मेवार निकायकै उदासीनताका कारण आम नागरिकले सास्ती बेहोर्नुपरेको बताए। 'हामीले दुई महिनाअघि मेलम्चीले खनेर पुरेको सडकपेटीको अध्ययन गरेका थियौं,' उनले भने, 'त्यसबाट पनि सरकारी निकायले बनाउनेभन्दा भत्काउने चासो दिएको पाइयो।' उनले एक ठाउँमा बनाएपछि मात्र अर्को ठाउँमा खन्न सुझाव दिए। सडक भत्काउँदा उडेको धुवाँधुलोका कारण उपत्यकावासी आजित बन्दा पनि सरकारी निकायले भने यसतर्फ खासै चासो देखाएको छैन।

प्रकाशित: १३ चैत्र २०७३ ०४:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App