coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

'कछुवा गति'मा कंलकी-कोटेश्वर सडक विस्तार

काठमाडौं- अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस्? कामको गति कछुवाको जस्तै छ। अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको १० किलोमिटर सडक विस्तार कार्य ४ वर्षमा आधा मात्र भएको छ। मूल सडक भत्काउने काम चलिरहन्छ  तर बनाउने टुंगो हुँदैन्। समस्या यहींनेर छ।

कलंकी–कोटेश्वर सडक खण्डको अवस्था यस्तै छ। यो सडकको दुरी करिब १० दशमलव ३९  किलोमिटर छ। चार लेनको यो सडक आठ लेन बनाउन २०१२ डिसेम्बर १८ मा सम्झौता भएको हो। सम्झौताअनुसार सडक निर्माण काम २०१६ मे १५ मा सक्नुपर्ने हो। तर, अहिलेसम्म सडक विस्तारको काम ५० प्रतिशत मात्रै सकिएको छ।

मूल सडक दायाँ–बायाँ विस्तारक्रममा भत्काएर अलपत्र अवस्थामा छाडिएको छ। सडकमा निर्माणसामग्री पनि अव्यवस्थित रुपमा राखिएको छ। सडकमा खाल्डाखुल्डी उत्तिकै छन्। अव्यवस्थित ढलले दुर्गन्ध त्यस्तै छ। सवारी गुड्दा धुलोले सडकै ढाकिन्छ। सडक आसपासका घरको रङै फेरिएको छ। सडकमा १० मिनेटमात्रै उभिने हो भने मान्छेको समेत रङ बदलिन्छ।

आठ लेनमा चार लेनको तीव्र रफ्तारको मुख्य सडक, बाँकीे चार लेन दुवैतर्फ सातसात मिटरका दुईदुई लेनका सहायक सडक बनाउने योजना छ।  सडकबाहेक उक्त सडकमा साइकल लेन र दुई दशमलव पाँच मिटरको फुटपाथ बनाउने परिकल्पनास्वरुप चार वर्षअघि चीन सरकारको आर्थिक र प्राविधिक अनुदानमा काम सुरु भएको हो। चीन सरकारको झण्डै ५ अर्ब रुपैयाँ (३ सय १२ मिलियन युआन) अनुदानमा सडक विस्तार थालिएको हो।

विडम्बना, कामले गति लिन नसक्दा सन् २०१७ सम्म नमुना सडकमा सवारी गुडाउने सपना देखेका सर्वसाधारणले धुलैधुलो मात्रै सामना गर्नुपरेको छ।

सडक विस्तारको जिम्मा पाएको चक्रपथ सुधार योजनाले भूकम्प र भारतीय नाकाबन्दीका कारण विस्तारमा अपेक्षित उपलब्धि हासिल गर्न नसकिएको जनाएको छ। ‘काम थालेको ४ वर्ष भएको छ,’ चक्रपथ सुधार योजना प्रमुख ज्ञानेन्द्र झाले भने, ‘भूकम्प नाकाबन्दी जस्ता कारणले ढिला हुन पुग्यो, अहिलेसम्म विस्तार कार्य करिब–करिब ५० प्रतिशत सम्पन्न भएको छ।’ झाका अनुसार सन् २०१२ बाट सडक विस्तार थालिएको हो। तोकिएको मिति सन् २०१६ मा पूरा नभएपछि सन् २०१७ जनवरीमा सक्ने गरी मिति थपिएको थियो। थपिएको म्याद सकिँदा  पनि योजनाले ५० प्रतिशत मात्रै काम सकेको छ। ‘पहिले काम केही सुस्त गतिमा भयोे,’ झाले भने, ‘पछिल्लो समयमा काम तीव्र रुपमा भएको छ।’

उनका अनुसार यो सडक विस्तारमा स्थानीयको अवरोध भने छैन। तर सडक विस्तारमा पर्ने खानेपानीका पाइप, बिजुलीका पोल, अप्टिकल फाइबर पनि सम्बन्धित निकायले समयमा नहटाउँदा केही समस्या भएको छ।

सडक निर्माणको जिम्मेवारी चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडले लिएको छ।

अब सन् २०१८ जुलाईभित्र काम सक्नेगरी दोस्रो पटक मिति तोकिएको सडक विभागका उपमहानिर्देशक सञ्जय श्रेष्ठले बताए।

कामको गति नबढाउने हो भने अझै केही वर्ष काम पूरा नहुने विज्ञको अनुमान छ। आयोजना प्रमुख झा २०१८ जुलाईसम्म कलंकी–कोटेश्वर नमुना सडक बन्नेमा विश्वस्त छन्। ‘सडक विस्तारका धेरै प्रमुख कार्य सकिएको छ,’ झाले नागरिकसँग भने, ‘पछिल्लो समयमा ठेकेदार कम्पनीले पनि कामको गति बढाएको हुँदा थपिएको समयमा काम सकिनेमा दुई मत छैन।’ सडक विभाग उपमहानिर्देशक श्रेष्ठ पनि तोकिएको समयमा काम सम्पन्न हुने बताउँछन्।  ‘निर्माण कम्पनीले २ सिफ्टमा काम गरिरहेको छ,’ श्रेष्ठले भने, ‘कार्यतालिका अनुसार नै काम भइरहे समयमै सकिन्छ।’ एकान्तकुना–कोटेश्वर करिब पाँच किलोमिटर कालोपत्रे हुने तयारीमा पुगेको उनले जनाए।

अहिलेसम्म मनोहरा, बागमती, बल्खुखोला र कलंकीमा पुल निर्माण सम्पन्न गरिसकिएको छ।

बल्खुबाट कलंकी हुँदै स्वयम्भूतर्फ जाने गाडीलाई भूमिगत मार्ग तथा नैकाप–कलंकी हुँदै कालिमाटी जाने सवारीसाधन भने यथास्थानबाट जानेगरी कलंकी चोकमा अन्डरपास निर्माण पनि आधा भएको योजनाले जनाएको छ।

त्यस्तै, सडक आसपासका संरचना हटाउने, सडकपेटी, ढलनिकास, बिजुलीका पोल तथा टेलिफोनका तार व्यवस्थापन गर्ने काम पनि भइरहेको छ।

२७ किलोमिटर लामो चक्रपथ १० किमि विस्तारपछि बाँकी १७ किमि बाँकी रहनेेछ। पहिलो फेेजको विस्तार सकेपछि बाँकी भागको विस्तार थालिने श्रेष्ठले बताए। उनका अनुसार दोस्रो खण्ड निर्माणबारे चीन सरकारसँग कूटनीतिक पहल भइरहेको छ। बाँकी  १७ किलोमिटरको डिपिआर समेत तयार भएकेा उनले बताए। २०१८ डिसेम्बरबाट दोस्रो खण्ड विस्तार पनि चीन सरकारकै अनुदानमा थालिने अनुमान विभागको छ। २०२७ सालमा चीन सरकारकै अनुदानमा चार लेनको चक्रपथ निर्माण भएको थियो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ‘समृद्ध  नेपालका लागि सडक सञ्चालन विकासको पाँचवर्षे रणनीतिक योजना २०७३/२०७८’ अनुसार पूरै चक्रपथ निर्माण ५ वर्ष अर्थात सन् २०२१ भित्र सम्पन्न गर्ने लक्ष्य छ। लक्ष्य अनुसार चक्रपथ विस्तार गर्न भने तीव्र गतिमा काम गर्नुपर्ने देखिन्छ।

अहिले सडक निर्माणमा विलम्ब हुँदा उपत्यकावासी धुलोको प्रत्यक्ष मारमा परेका छन्। वातावरणविद् भूषण तुलाधरका अनुसार धुलोले जनस्वास्थ्यमा असर पारेको छ। 'पानी पर्नेबित्तिकै केही समय वातावरण स्वच्छ र सफा हुन्छ,' उनले भने, 'घाम लागेपछि फेरि समस्या भइहाल्छ।' धुलो नियन्त्रणका लागि सडक कालोपत्रे गर्दै अघि बढ्नुपर्ने उनी बताउँछन्।

प्रकाशित: १३ चैत्र २०७३ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App