coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अख्तियार प्रमुखसँग जवाफ माग

काठमाडौं- सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अदालतको अपहेलनामा किन कारबाही नगर्ने भन्दै तीन दिनभित्र जवाफ दिन आदेश गरेको छ।

न्यायाधीश गोविन्दकुमार उपाध्यायको एकल इजलासले पत्रकार कनकमणि दीक्षितकी श्रीमती शान्ताले दर्ता गराएको अपहेलना मुद्दामा सुनुवाइ गर्दै सोमबार यस्तो आदेश दिएको हो। सर्वोच्चले यसअघि भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्दा आरोपित व्यक्तिलाई सार्वजनिक चर्चाको विषय नबनाइ गोप्यरूपमा अनुसन्धान गर्नुपर्ने र मुद्दाको ठोस प्रमाण प्राप्त भएपछि मात्र अनुसन्धानका लागि बोलाउनुपर्ने लगायत आदेश अटेर गरेको भन्दै दायर निवेदनमा सोमबार सुनुवाइ भएको थियो।

अख्तियारले पटक–पटक अनुसन्धानको नाममा अदालतको आदेश उल्लंघन गरेको भन्दै शान्ताले वैश्ााख २२ गते अवहेलना मुद्दा दर्ता गराएकी थिइन्।

पटक–पटक सार्वजनिक पत्रमार्फत दीक्षित परिवारको मानहानि गरेको भन्दै शान्ताले सर्वोच्चमा निवेदन दिएकी थिइन्। उनले सर्वोच्चको आदेश अटेर गरी अख्तियार प्रमुख कार्कीले व्यक्तिगत मनमुटाव देखाउन पत्र पठाउने गरेको दाबी गरेकी थिइन्। बहसक्रममा पनि शान्ताका कानुन व्यवासायीले आयोगको निर्णय नभई कार्कीको एकल निर्देशनमा दीक्षित परिवारलाई मानसिक यातना दिने कार्य गर्दै आएकाले अवहेलना ठहर गरी अदालतमा स्वयं उपस्थित गराएर बयान गराउन माग गरेका थिए। निवेदकको मागपछि अदालतले कार्कीको कुरा सुन्ने भन्दै अदालत उपस्थित हुन भनेको छ। कार्की आफैँ वा वारेसमार्फत उपस्थित हुनुपर्ने भन्ने विषयमा भने मंगलबार मात्र सर्वोच्चले निर्णय गर्नेछ। आदेशपछि कार्की अदालतको आदेश तामेल भएको तीन दिनभित्र सर्वोच्च आउनु पर्नेछ।

भ्रष्टाचार मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी अख्तियारको हिरासतमा राखेर अदालतको आदेशमा छुटेका दीक्षित परिवारको यो दोस्रो मुद्दा हो। दीक्षित परिवारले सरकारी सम्पत्ति कब्जा गरी अकूत आर्जन गरेको र साझा यातायात सञ्चालन गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: २८ असार २०७३ ०१:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App