coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाइलट दिनेशको नाममा प्रतिष्ठान

क्याप्टेन दिनेश न्यौपाने प्रतिष्ठानको सुभारम्भ गर्दै डा. कञ्चन घिमिरेलगायत । तस्विर : नगेन्द्र उपाध्याय

सुर्खेत – गत वर्ष भएको काष्ठमण्डप एयर दुर्घटनामा परी ज्यान गुमाएका काष्ठमण्डप एयरका क्याप्टेन दिनेश न्यौपानेको नामा प्रतिष्ठान स्थापना भएको छ । 
क्याप्टेन न्यौपानेकी दिदी कृष्णा भुषालले उनको नाममा प्रतिष्ठान स्थापना गरेकी हुन् । समय मै उद्दार नहुनाले भाइको ज्यान गएको भन्दै उनले भनिन्, ‘समयमै उद्दार भइदिएको भए दिनेश र सन्तोष दुवैले ज्यान गुमाउनुपर्ने थिएन्’ भाईको नाममा स्थापना भएको ‘क्याप्टेन दिनेश प्रतिष्ठान’ को सुभारम्भ कार्यक्रममा भक्कानिदै उनले भनिन्, ‘अव भाईले देखेको सपना उनको नाममा स्थापित प्रतिष्ठानबाट पूरा गर्छु ।’ हुन पनि सुर्खेत विमानस्थलदेखि दुर्घटनास्थलसम्म जहाजमा जम्मा १५ मिनेटको समय लाग्छ । उद्दारका लागि तीन घण्टा लाग्यो । 
यात्रुलाई बचाएर दुबैले ज्यान गुमाए 
कालीकोट पुग्दा सिङ्गल इन्जिनको काष्ठमण्डपको विमानमा खरावी आयो । यात्रुहरु आत्तिन थाले । ‘हामी मरेर पनि तपाईहरुलाई बचाउँछौं, नआत्तिनुहोस्’ दिनेशले यात्रुहरूलाई सान्त्वना दिन थाले । पाइलट न्यौपानेले भनेजस्तै आफू मरे तर, यात्रुलाई बचाए । प्रतिष्ठानको सुभारम्भ कार्यक्रममा दिदी कृष्णासँगै बुवा मानदत्त र आमा वीरलक्ष्मी न्यौपाने पनि थिए । कार्यक्रममा दिनेशका बारेमा बनाइएको ३० मिनेटको भिडियो डकुमेन्ट्री प्रदर्शन गर्दा सबैका आँखाबाट आँसु बग्न थाले । 
दुर्गम क्षेत्र कर्णालीको मुगुमा जन्मिएका दिनेशका लागि अन्य क्षेत्रमा जहाज उडाउने अवसर नमिलेको होइन् । उनले जन्म थलोमै कर्म गर्ने निर्णय लिए । ‘आफू जन्मेको र दुर्गम क्षेत्र भएकाले उसले कर्णालीमा जहाज उडाउने अठोट लिएको थियो’ कृष्णाले भनिन्, ‘मनैदेखिको सेवाभाव र आफ्नो क्षेत्रप्रतिको मायाले अन्य ठाउँमा पाएको अवसरलाई पनि उनले स्वीकार गरेन ।’
भाई वियोगमा कृष्णाले ‘सम्झनामा क्याप्टेन दिनेश न्यौपाने’ पुस्तक निकालिन् । किताब विक्रीबाट आएको रकमबाट प्रतिष्ठान सुरु गरिएको छ । ‘किताब बिक्रीबाट आएको तीन लाख रुपियाँबाट प्रतिष्ठान सुरु गरेका छौं’ अध्यक्ष दीपेन भुषालले भने, ‘हाम्रो उद्देश्य कर्णालीसहित दुर्गम क्षेत्रका गरिव र दुःखीहरूलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने, युवा सशक्तिकरण र शिक्षाबाट वञ्चित समुदायलाई शिक्षाको उज्यालो प्रदान गर्ने गरेको छ ।’
दिनेश बित्दा डेनिस आमाको गर्भमै थिए । भदौमा जन्मिएका डेनिसलाई दिनेशको सपना पूरा गर्ने बाटोमा डोर्याउने न्यौपाने परिवारले अठोट लिएको छ । ‘२९ वर्षको कलिलो उमेरमै हामीले छोरा गुमायौं, उनले धेरै सपना देखेका थिए, ति सपना पुरा हुन पाएनन्’ बुवा मानदत्तले भने, ‘छोराको सपना नातिले पुरागरोस् भनेर उसलाई भविष्यमा पाइलट बनाउने निर्णय गरेका छौं ।’ प्रतिष्ठानले दुर्घटनास्थल कालीकोटको चिलखायामा दुवैको पाइलटको सालिक र पार्क निर्माण गर्ने निर्णय पनि गरेको छ । 
प्रतिष्ठानको सुभारम्भ गर्दै डा. कञ्चन घिमिरेले परिवारका सदस्यहरूलाई दुःखका नभएर हर्षका आँशु बगाउन आग्रह गरे । ‘उनी तपाईहरूको सन्तान मात्रै होइन्, देशकै सपुत हुन्’ उनले भने, ‘यसमा गर्व गर्नुहोस्, दुःख मनाउ गर्नुहुन्न ।’ उनले आफू मरेर अरुलाई बचाउने सच्चा सपुतको अनुसरण सबैले गर्नुपर्ने बताए । ‘आफू मरेर अरुलाई बचाउने कल्पना पनि हामीले गर्न सक्दैनौं’ उनले भने, ‘त्यो कल्पना बाहिरको काम गरेर देखाउनेको साहस, धैर्यता र विरतालाई प्रतिष्ठानको माध्यमबाट विश्वव्यापी बनाइनुपर्छ ।’ 

 

प्रकाशित: १२ चैत्र २०७३ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App