७ वैशाख २०८१ शुक्रबार
अन्य

अविराम बाबुराम?

नेपाली राजनीतिमा भलिभाँती परिचित राजनीतिज्ञ डा. बाबुराम भट्टराईको राजनीतिक जीवनका सुनौला पाटा र केही निजी प्रसंग पस्किएको छ, पुस्तक 'अविराम बाबुराम'ले। पुस्तकले माओवादी 'जनयुद्ध'का कतिपय रहस्यमय पाटा उद्घाटित गर्छ भने वामन्पन्थीले कसरी राष्ट्रवादको हतियार प्रयोग गर्दै आएका छन्, त्यसको थोरबहुत विवरण दिन्छ।

पढाइमा कहिल्यै दोस्रो नहुने बाबुराम अहिले आफैंले खोलेको नयाँ शक्ति पार्टीको प्रमुख जिम्मवारीमा छन्, अर्थात् पहिलो छन्। माओवादी 'जनयुद्ध'मा आफ्नो पिएचडी शोधपत्रको व्यावहारिक प्रयोग गरिएको पुस्तकमा दाबी गरिएको छ। त्यसैले बाबुरामको अहिलेको नयाँ शक्ति पार्टी गठन तथा उनको राजनीतिक सक्रियता पनि त्यसकै निरन्तरता हो भन्ने आधार पुस्तकमा भेटिन्छन्। अर्थात् बाबुराम भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट प्राप्त पिएचडी शोधपत्रको प्रयोगात्मक अभ्यासमा लागिपरेका छन्। पुस्तकका हरफले बताउँछ, उनी राजनीतिक नेतृत्वमा भन्दा सैद्धान्तिक र दार्शनिक नायकत्वको भूमिकामा केन्द्रित हुने चाहना राख्छन्।

पत्रकार अनिलको हुटहुटीकै कारण अविराम बाबुराम प्रकाशनमा आएको हो वा राजनीतिक उद्देश्यले बाबुरामको देवत्वकरण गर्ने र पुष्पकमल दाहालको तेजोबध गर्ने योजनामा बजारमा ल्याइएको हो? प्रश्न अनुत्तरित छन्। बाबुरामबारे बुझ्न, माओवादी 'जनयुद्ध' का आरोह–अवरोह र युद्ध, शान्ति प्रक्रियाबारे जानकारी राख्नेका लागि पुस्तक उपयोगी हुन सक्छ।

पुस्तकमा ०३५ वैशाख १ को बाबुरामको डायरीबाट उतारिएका हरफ यस्ता छन्, 'सक्रिय राजनीतिमा म नलागे पनि आवश्यक परेमा राजनीतिक नेतृत्व दिन पनि नहिच्किचाउने। अन्यथा आफ्नो जीवन एउटा मार्क्सवादी विद्वान्, दार्शनिक, लेखक र समाजसेवीका रूपमा व्यतित हुनेछ। व्यक्तिगत जीवन मानवको शक्तिले भ्याउनेसम्म आदर्शवादी हुनेछ। सच्चा मार्क्सवादीका रूपमा मानव मात्रको हितमा आफ्नो जीवन लगाउनेछु।'

भर्खर इन्जिनियरिङको अध्ययन सकेर विद्यावारिधिको तयारी गरिरहेको अवस्थामा आफूले घोषणा गरेको पदचिह्नमा उनी अहिलेसम्म अनवतरत देखिन्छन्। पुस्तकमा भनिएको छ, 'आफ्नो भूमिका मुख्यतः क्रान्तिका निम्ति सैद्धान्तिक आधार तयार गर्नु र क्रान्तिपश्चात् देशलाई सैद्धान्तिक नेतृत्व दिनुमा केन्द्रित हुनेछ।'

दशक लामो माओवादी 'जनयुद्ध', शान्ति प्रक्रिया हुँदै दुवै संविधानसभा, मुलुकको कार्यकारी पदमा पनि पुगेका बाबुरामले संविधान निर्माणमा महŒवपूर्ण भूमिका खेलेको सकारात्मक पक्षको दस्तावेज हो यो पुस्तक। 

बाबुराम माओवादी अध्यक्ष पुष्पकमल दाहालको छायापात्र बनेर लामो समय राजनीतिमा लागिपरे। आफ्ना एजेन्डा दाहालमार्फत प्रयोगमा ल्याउन रणनीतिक रूपमा बाबुराम सफल भएका घटना सँगै पार्टी भित्रबाटै सफाया पार्ने चालबाजी झेलेका चर्चा छन् पुस्तकमा।

पुस्तकमा माओवादीका विभिन्न समयका महŒवपूर्ण बैठक सम्मेलन उल्लेख गरिएको छ, त्यसमा बाबुरामको भूमिकाको बखान गरिएका उदाहरण भेटिन्छन्। भारतमा काम गर्न गएका नेपालीको अवस्थाले मार्क्सवादको गहिरो अध्ययन गर्न केन्द्रित गराएको दाबी बाबुरामको छ। उनी सुरुका वर्ष बिपीको समाजवाद र मार्क्सवादको फ्युजन गराउने सोचमा थिए। ०३४ पुस १८ को डायरीबाट लिएका हरफ यस्ता छन्, 'मार्क्सवादको स्वाभाविक आकर्षण र बिपीको समाजवादको व्यावहारिक पक्ष दुई डुंगा बन्छन्। दुवैमा खुट्टा हाल्छु।' बिपीको समाजवाद र मार्क्सवाद प्राप्तिका लागि माओवादी सशस्त्र क्रान्ति प्रयोग गरेको दाबी बाबुरामको छ।

बाबुरामलाई कारबाही, संविधानसभाका मुद्दा, माओवादी र त्यसबेलाको राजतन्त्रबीचको संवाद, सहकार्यका भित्री कुरा पुस्तकमा  छन् तर छरप्रस्ट किसिमले। बाबुरामलाई प्रचण्डले कारबाही गरेको दुई दिनपछि राजा ज्ञानेन्द्रले 'कु' गरेको प्रसंगको राजनीतिक नालीबेली, ज्ञानेन्द्र र पुष्पकमलका भित्री साँठगाँठको पृष्ठभूमिमा बाबुराममाथि कारबाही गरिएको र हत्या गर्नेसम्मको रणनीति तय भएको दाबी पुस्तकमा छ।

उनका बारेमा बुझ्न कतिपय रोचक र प्रसंग छन्। माओवादी 'जनयुद्ध' बाबुरामको पिएचडी (नेचर अफ अन्डर डेभलपमेन्ट एन्ड द रिजनल स्ट्रक्चर अफ नेपाल) थेसिसको फिल्डमा प्रयोग भएको सगौरव प्रस्तुति छन्। पुस्तकमा उल्लेख छ, 'माओवादी जनयुद्ध सुरु गर्दा उनकै शोधपत्रको अर्थराजनीतिक औचित्य ग्रहण गरिएको थियो। जनयुद्धमा निर्माण गरिएको जनसत्ताको आधार पनि त्यही शोधपत्र थियो। शोधपत्रको ऐतिहासिक, क्षेत्रीय र भौगोलिक अध्ययनको आधारमा कमान्ड विभाजन गरिएको थियो। यसरी जनयुद्धको अर्थराजनीतिक आधार र औचित्य निर्माण गर्न पनि बाबुरामको शोधपत्रले मद्दत गरेको थियो।'

पुस्तकमा पुष्पकमलका अपारदर्शी कुरा उल्लेख छन् तर त्यो कालखण्डमा आफू दाहालसँगै सक्रिय रहेको र निर्णायक स्थानमा रहेको कुरा भुलिएको छ। पुस्तकमा बाबुरामको सार्वजनिक छवि, बौद्धिक व्यक्तित्व र पुष्पकमलका राजनीतिक र फौजी व्यक्तित्वबीच बेलाबेलाका टकराव उल्लेख छन्।

मुलुकको कार्यकारीमा निर्वाचन हुनुअघि अध्यक्षको सहयोग लिन गरिएको प्रयत्नका साथै उपाध्यक्ष मोहन वैद्य पक्षले प्रधानमन्त्री बन्ने वातावरण बनाएको चर्चा पुस्तकमा छन्। पुस्तकमा बाबुरामलाई प्रधानमन्त्री बनाउन सघाउने उद्देश्यले वैद्य पक्षले आफ्नो सुुरक्षामा रहेका जनसेना र हतियार फिर्ता गरेको उल्लेख छ। शान्ति प्रक्रियामा आएको पाँच वर्षसम्म पनि वैद्य पक्षले जनसेनाको सुरक्षा छाडेको थिएन। यसअघि अध्यक्ष प्रचण्ड र उपाध्यक्षले फिर्ता गर्दा पनि वैद्य पक्षले त्यसको विरोध जनाउँदै जनसेनाको सुरक्षा फिर्ता गर्न मानेको थिएन।

प्रधानमन्त्री बन्ने राजनीतिमा भारतले अन्तिम समयसम्म नचाहेको जिकिर गरिएको छ। सेना समायोजन जस्ता मुद्दामा भारत सकारात्मक रहेको भए पनि अन्तिमसम्म मधेसी मोर्चाका घटकलाई बाबुरामको पक्षमा भोट नहाल्न दबाब दिइएको चर्चा पुस्तकमा छ।

त्यस दिनको घटनालाई बाबुरामले भनेका छन्, 'इन्डियाको कुरा आउँथ्यो फेरि, इन्डियाले चाहेन भने भाँड्न सक्थ्यो। इन्डियाले के गर्‍यो भन्ने कुरा छ, अब माओवादीकै नेतृत्वमा सरकार नभएसम्म यो शान्ति प्रक्रिया पनि पूरा भएन, सेना समायोजन पनि भएन। त्यसैले भए होस् भनेपछि अलिअलि गन्ध पनि आउने तर पूरै होस् भनेजस्तो पनि नआउने। आशंका पनि, माओवादी चाहिन्छ जस्तो पनि। यस्तो ढुलमुल प्रवृत्ति तिनीहरूको बुझिन्थ्यो।'

त्यस दिनको घटनालाई बाबुरामले यसरी सम्भि्कएका छन्, 'अन्तिममा विजय गच्छदारका सालाको घरमा बसेर टुंग्याउँदै थियौं, मधेसीबाहेक अरू नेता आएनन्। ...भारतीय दूतावासका दोस्रो तहका एक अधिकारीले पटकपटक फोन गरेर 'माओवादीलाई भोट दिने होइन' भनेर धम्क्याएछन्। भारतले अन्तिम समयसम्म रोक्न खोजेको हो।' प्रधानमन्त्री बन्ने राजनीतिक सौदाबाजीमा भारतको भूमिका ढुलमुले प्रवृत्तिको रहेको बाबुरामको टिप्पणी आफ्नो ठाउँमा सही मान्न सकिन्छ। रातारात मधेसी मोर्चाको समर्थन कसरी प्राप्त हुन सक्यो? यस्ता प्रश्नको भने उत्तर भेटिँदैन पुस्तकमा। आफ्नो राजनीतिक भूमिकालाई केन्द्रमा राख्ने बाबुरामको बौद्धिकताले कतिपय मुद्दामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल लगायत खुला राजनीतिमा आएपछि अन्य पार्टीका नेताको भूमिकालाई गौण साबित गर्ने प्रयास छ।

माओवादी 'जनयुद्ध'का कतिपय भित्री र सार्वजनिक नभएका विवरण पुस्तकमा भेटिन्छन्। राजनीति गर्नेहरू पैसाका लागि जे पनि गर्छन् भन्ने एउटा घटना उनले उद्घाटित गरेका छन्। माओवादी शान्ति प्रक्रियामा आइसकेपछि पनि केही हतियार लुकाएर राखिएको चर्चा गर्दै ती हतियार पार्टी अध्यक्ष दाहालले कुनै खुफिया एजेन्सीमार्फत बाबुराम प्रधानमन्त्री भएका बेला बेच्ने प्रयास गरेको, बाबुरामले भने नेपाली सेनालाई जिम्मा लगाएको उल्लेख गरिएको छ। तीनै लुकाएर राखेको हतियारबारे पुस्तकमा भनिएको छ, '...तर प्रधानमन्त्रीले प्रधान सेनापतिलाई  निर्देशन दिनुअघि नै नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वमा नवलपरासी र कैलालीमा लुकाइएका केही थान हतियार 'चोरिए' (पृष्ठ २३५)।

बाबुराम र हिसिलाको दाम्पत्य जीवनका कथा, राजनीतिक यात्रा र बाबुरामका योजना, नयाँ शक्ति पार्टीका रणनीतिक  कार्यक्रम लेखिएका छन् पुस्तकमा। बाबुराम प्रधानमन्त्री भएका बेला पत्नी हिसिलामाथि लाग्ने गरेको आर्थिक चलखेलबारे बाबुरामले स्पष्टीकरण दिँदै त्यसो होइन भनेका छन्। उता, 'जनयुद्ध'मा लाग्नुअघि काठमाडौंमा रहेको घरजग्गा बेचेर पार्टीलाई दिएको र केही पैसा छोरी मानुषीका नाममा बैंकमा राखेको उल्लेख छ। घरजग्गा कतिमा बेचिएको र त्यसमध्ये कति छोरीका नाममा राखिएको थियो, त्यसको हिसाब दिन आवश्यक ठानिएको छैन। आफ्नो सम्पत्ति नभएको र आफू सदाचारी रहेको दाबी छन् पुस्तकमा।

पुस्तक बाबुरामको सक्रिय संलग्नतामा पत्रकार अनिल थापाले रिपोर्टिङ शैलीमा लेखिएको देखिन्छ। नेपालको राजनीतिमा करिब दुई दशकदेखि केन्द्रमा रहँदै आएका चर्चित राजनीतिज्ञ बाबुरामबारेको पुस्तकले उनकाबारे धेरै कुरा उद्घाटित गरेको छ। पत्रकार अनिलको हुटहुटीकै कारण अविराम बाबुराम प्रकाशनमा आएको हो वा राजनीतिक उद्देश्यले बाबुरामको देवत्वकरण गर्ने र पुष्पकमल दाहालको तेजोबध गर्ने योजनामा बजारमा ल्याइएको हो? प्रश्न अनुत्तरित छन्। बाबुरामबारे बुझ्न, माओवादी 'जनयुद्ध' का आरोह–अवरोह र युद्ध, शान्ति प्रक्रियाबारे जानकारी राख्न चाहनेका लागि पुस्तक उपयोगी हुन सक्छ।

पुस्तक :  अविराम बाबुराम

विधा :  जीवनी

लेखक :  अनिल थापा

प्रकाशक :  सांग्रिला पुस्तक

मूल्य :  ४४८   

प्रकाशित: १२ चैत्र २०७३ ०५:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App