coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

'खेलकुदका नाममा व्यापार'

काठमाडौं- युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले खेलकुदको नाममा ब्यापार गर्ने प्रवृत्तिका कारण नेपाली खेलक्षेत्रले समस्या भोग्नु परेको बताएका छन्। एएफसी एसिया कपको छनोटअन्तर्गत फिलिपिन्सविरुद्धको खेलका लागि मनिला जान लागेको राष्ट्रिय फुटबल टोलीलाई विदाई गर्ने क्रममा मन्त्री श्रीपालीले ओलम्पिक कमिटी विवादको प्रशंग कोट्याउँदै खेलकुदमा नकारात्मक स्वार्थ हावी हुदै गएको बताए।

'नेतृत्व गर्ने व्यक्तिको स्वार्थ हावी भएर खेलाडीले दुःख पाएका छन्। तर त्यो सधै रहिरहदैन। खेलकुद परिवर्तनशिल हुन्छ। ति कुरा पनि हटदै जानेछन्,' मन्त्री श्रीपालीले भने।

नेपाली टोली शनिबार मनिला तर्फ जादैछ। गत वर्ष नोभेम्बरमा एएफसी सोलिडारिटी कप जितेको नेपालले ग्वामको अनुपस्थिती जनाउने भएपछि एसिया कप खेल्ने अवसर पाएको थियो।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष नरेन्द्र श्रेष्ठले नेपाली खेलाडीले उच्च स्तरको प्रदर्शन गर्न सक्ने प्रमाणित गरिसकेको बताए।

'फिलिपिन्सविरुद्ध हामीले सुखद नतिजा निकाल्ने विश्वास लिएका छौं। हामीले जित्छौं, जित्न सक्छौं,' उनले भने, 'गत वर्ष नेपाली फुटबलको लागी स्वर्णिम समय थियो। त्यसले हाम्रो खेलाडीको मनोबल उच्च बनाएको छ। फिलिपिन्स हामी भन्दा उच्च स्तरको टोली हो। तर हामीले पछिल्लो समय प्राप्त सफलताबाट हामी पनि बलियो टोली हौं भनेर प्रमाणित गरिसकेका छौं।'

नेपालले गत वर्ष यु–१९ साफ च्याम्पियनसिप, एएफसी सोलिडारिटी कप, बंगबन्धु गोल्ड कप र १२औं दक्षिण एसियाली खेलकुदको यु–२३ फुटबलमा स्वर्ण पदक जितेको थियो।

राष्ट्रिय टोलीका प्रशिक्षक राजुकाजी शाक्यले फिलिपिन्सविरुद्धको खेलमा दबाब थेग्न सके राम्रो नतिजा निस्कने बताए। उनले भने, 'आफूभन्दा बलियो टोलीसँग खेल्दा दबाब बढी हुन्छ। हामीले कसरी सामना गर्छौ भन्नेले खेलको नतिजामा फरक पार्छ।'

नेपाल एएफसी एसिया कप छनोटको समूह 'एफ' मा छ। समूहमा नेपालसँगै ताजिकिस्तान, यमन र फिलिपिन्स छन्। समूहका सबै तीन टोलीसँग नेपालले होम एन्ड अवे पद्दतिमा प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले विगतको नतिजाका भरमा फिलिपिन्सविरुद्धको खेल सहज नहुने बताए।

भने, 'हामीले पछिल्लो समय महत्वपूर्ण प्रतियोगिता जितेका छौं। त्यसले फिलिपिन्सविरुद्धको खेलमा सहज हुन्छ भन्ने छैन। हामी फिलिपिन्सलाई उच्च स्तरको चुनौती दिनेछौं।'

घाइते स्ट्राइकर नवयुग श्रेष्ठ र नियमित कप्तान अनिल गुरुङ टोलीमा छैनन्। अनुभवी र मुख्य स्ट्राइकर टोलीमा नहुँदा केही नकारात्मक अशर पर्ने महर्जनले बताए। तर टोलीले जस्तो सुकै अवस्थामा राम्रो प्रदर्शनका लागि तयार हुनु पर्ने बताए।

प्रकाशित: १२ चैत्र २०७३ ०४:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App