७ वैशाख २०८१ शुक्रबार
कला

'निशा नभएको भए म डुबिसक्थेँ'

निशा, म तिमीलाई मन पराउँछु। बिहे गर्न चाहन्छु– यति भन्नु थियो सुनीललाई।

डिल्लीबजारमा नाटकको रिहर्सल हुन्थ्यो, बालाजुमा निशा बस्थिन्। एक दिन निशालाई पुर्‍याउन सुनील बालाजुसम्म हिँड्दै गए, मनको कुरा भन्ने उनको योजना थियो।

सडक किनार हुँदै जाँदै थिए। उनीहरूबीच धेरै कुरा भइसकेको थियो तर हुनुपर्ने कुरा भइरहेको थिएन। बीच बाटोमा पुगेपछि सुनीलले हिम्मत गरेर भने। यहीबेला  वेगले ट्रक हुइँकियो, सुनीलको कुरा निशाले राम्रोसँग सुनिनन्।

उनले निधो गरिन्, 'के भन्नु'भो दाइ?' त्यतिबेलासम्म निशाले सुनीललाई दाइ भन्थिन्।

सुनील, निशा र नाटक– यो त्रियोग, एक सौन्दर्यशास्त्र हो, जसको नेपाली रंगमञ्चीय इतिहासमा युगयुगसम्म अध्ययन र चर्चा भइरहनेछ।

'बल्लबल्ल हिम्मत जुटाएर भनेको थिएँ, ट्रकको आवाजले धोका दियो,' सुनील आफ्नो बैंसालु विगततिर फर्कन्छन्, 'निशाको घर पुग्ने बेला फेरि हिम्मत गरेर भनें। उनको जवाफ आयो– घरमा आएर कुरा गर्नू।'

सुनील, निशा र नाटक

अघिल्लो अन्तर्वार्तामा नाटकबारे सुनील पोखरेलले भनेका थिए, 'नाटक र जीवनबीच मसिनो धर्सो देख्छु, त्यसलाई कहिले यता, कहिले उता नाघिरहेको हुन्छु।'

यसपालि नाटक र जीवनबीचको अन्तरबारे उनले भने, 'त्यो धर्सो पनि मेटियो।'

हो, सुनील पोखरेलको जीवन नै 'नाटक' भइसक्यो। नेपाली रंगमञ्चको जुन जीवन छ, त्यसमा सुनीलको पनि श्वास र धड्कन छ।

पछिल्लो समय सुस्ताउन पुगेको राजधानीको नाट्य गतिविधिलाई सुनीलले ब्युँताए, गुरुकुल नाटकघर स्थापना गरेर। गुुरुकुल सन् २००३ तिर स्थापना भएर सात वर्षजति चल्यो, नयाँ पुस्ताका नाट्यकर्मी जन्मायो। अहिलेका चर्चित कलाकार सौगात मल्ल, भोला सापकोटा, कमलमणि नेपाल, सिर्जना गिरी, पशुपति राई लगायत गुरुकुलकै उत्पादन हुन्। सुनील फेरि गुरुकुल सञ्चालन गर्ने योजनामा छन्।

आज सुनील जहाँ छन्, एक्लै छैनन्, एउटा भव्य भर र भरोसा बनेर उभिएकी छन्, निशा शर्मा। सुनील भन्छन्, 'निशा मेरो जीवनमा निशा नआएको भए म उहिल्यै डुबिसक्थें, यहाँसम्म आउने थिइनँ।'

सुनील, निशा र नाटक– यो त्रियोग, एक सौन्दर्यशास्त्र हो, जसको नेपाली रंगमञ्चीय इतिहासमा युगयुगसम्म अध्ययन र चर्चा भइरहनेछ।

सुनील र निशाको भेट रंगमञ्चमा भयो। रंगमञ्चकै पर्दाबाट चियाउँदाचियाउँदै यी दुई एकअर्काको प्रेममा परे। रंगमञ्चमा हुर्केको यिनीहरूको प्रेम अभिनय थिएन, जीवन थियो, र त उनीहरू एकअर्काको जीवनसाथी बन्न पुगे।

विवाहअघि नै निशाको मुटुको अपरेसन भएको थियो। उनले बच्चा जन्माउन सक्छिन् भन्ने निश्चित थिएन, यो सुनीललाई थाहा थियो। बच्चा नजन्माउने र कसैलाई धर्मपुत्र पाल्ने सहमतीमा बिहे भयो।

सुनील निशासम्म र निशा सुनीलसम्म नाटककै बाटो भएर पुगेका हुन्। निशाको घर–आँगनमै रंगमञ्च थियो, सुनीललाई भने समयले खोटाङदेखि विराटनगर ल्यायो र नाटकसँग जोड्यो।

सुनीलका हजुरबुवा विष्णुप्रसाद र बुवा एकनाथ खोटाङ नौलागाउँका जिम्मावाल थिए। सुनीलले निमावि तहमा पढ्दै गर्दा उनको परिवार बसाइँ सरेर विराटनगर बर्गाछी आयो।

विराटनगरमा नाटकको चहलपहल बढ्दै थियो। बद्री अधिकारी, रमेश बुढाथोकीलगायत नाटकमा सक्रिय थिए। मावि तहमा पढ्दै गर्दा सुनील उनीहरूको संगतमा पुगे।

प्रज्ञा प्रतिष्ठानले नाटकको एकवर्षे तालिम दिने सूचना आयो, गोरखापत्रमार्फत, यो ०३६ सालको कुरा हो। आईए पढ्दै गरेका सुनीलले हुलाकमार्फत निवेदन दिए, छानिए र नाटक पढ्न काठमाडौं आए।

बिहेको तीन दिनअघि सुनील हराए

निशा राजधानीको एक अग्रगामी परिवारमा जन्मेकी हुन्। उनका बाबु बाहुन हुन् भने आमा नेवार। समाज अझै पनि संक्रीर्ण छ, निशाको बाबुका पालामा अन्तर्जातीय विवाह गर्नु समाजका लागि निकै ठूलो चुनौती हो। त्यतिबेला छोरी रंगमञ्चमा लाग्नु पनि स्वाभाविक मानिँदैनथ्यो। तर, निशाका दुई दिदी चन्द्रमाला र सूर्यमाला रंगमञ्चमा सक्रिय थिए। सुनील भन्छन्, 'यस अर्थमा निशाको परिवार धेरै नै क्रान्तिकारी हो।'

सुनील उपाध्याय बाहुन र जिम्मावाल खान्दानका। निशासँग विवाह गर्न सुनीलका लागि परिवार अझ भनौं परम्परा तगारो बन्यो। जेठो छोरो (सुनील)को विवाह परिवारले रीतिरिवाज बमोजिम गर्न चाहन्थ्यो। सुनीलले निशासँग विवाह गर्ने निधो गरिसकेका थिए। उनी आफ्नो निर्णय सुनाउन विराटनगर गए। जात नमिल्ने भनी सुनीललाई परिवारबाट समर्थन भएन।

सुनील आफ्नो निर्णयमा स्थिर थिए। परिवारको समर्थनबिनै बिहेको मिति तोकियो। बिहेको तीन दिनअघि सुनील काठमाडौंबाट एकाएक हराए।

'निशाको परिवारलाई परेछ, लौ बेहुलो हरायो,' सुनील भन्छन्, 'म विराटनगर घरमा गएको थिएँ।'

अझै पनि परिवारलाई मनाउन सकिन्छ कि भन्ने सुनीलको आशा थियो, परिवारले अडान छाडेन। सुनील बिहेको अघिल्लो दिन काठमाडौं आइपुगे र विवाह भयो। बिहेमा जन्ती त्यतिबेलाका सक्रिय कलाकारहरू नै थिए।

'बिहेको दिन कता–कताबाट कान्छो भाइ सुगम आइपुग्यो,' सुनील भन्छन्, 'उही थियो मेरो घरको प्रतिनिधि। त्यतिबेला ऊ त्यस्तै आठ–दश वर्षको थियो।' गायक सुगम पोखरेल सुनीलका कान्छा भाइ हुन्।

'उनी प्रस्टवक्ता तर छुच्ची, जिद्धी तर बोल्ड छन्। मलाई उनको बोल्डनेस मन पर्छ। अनि, मलाई असाध्यै माया गर्छिन्, त्यसैले छुच्चोपन पनि मन पर्छ।'

'बुवा निशाकै सल्लाह सुन्नुहुन्छ'

विवाहको ६ महिनापछि दशैंमा सुनील निशालाई लिएर विराटनगर घर गए। परिवारले निशालाई स्विकार्‍यो, तर एक–डेढ वर्षसम्म निशालाई चुलो छुन दिइएन।

दुनियाँमा नबदलिने कुरा केही छैन, मान्छेको सोचदेखि सबै कुरा परिवर्तनशील छ। समय बित्दै गयो, सुनीलको परिवारको सोच पनि बदलियो, निशाले परिवारबाट माया पाउन थालिन्।

सुनीलका बाबु मुटुरोगी छन्। उनी उपचारका क्रममा बेलाबेला काठमाडौं आउँथे, यसरी आउँदा निशाले नै पकाएको खाए र निशालाई बुझ्दै गए। अहिले सुनीलका बुवालाई निशाकै कुरा ठीक लाग्छ र निशालाई माया गर्छन्।

'आत्मीयता बढ्दै गएपछि परम्पराको पर्खाल भत्कँदो रैछ,' सुनील भन्छन्, 'निशा हक्की स्वभावकी छन्, ठूलालाई इज्जत दिएर बोल्छिन् तर आफूलाई मनमा लागेको कुरा स्पष्ट भन्छिन्। बुवालाई सायद निशाको यही हक्की स्वभाव मन पर्छ। अहिले त उहाँले मेरो सल्लाह सुन्नुहुन्न, निशाको सुन्नुहुन्छ।'

सन्तान नजन्माउने सम्झौता

निशालाई मुटुको समस्या छ। विवाहअघि नै उनको मुटुको अपरेसन भएको थियो। उनले बच्चा जन्माउन सक्छिन् भन्ने निश्चित थिएन, यो सुनीललाई थाहा थियो।

'हामीबीच विवाहअघि नै सम्झौता भएको थियो, बच्चा नजन्माउने र कसैलाई धर्मपुत्र पाल्ने,' सुनील भन्छन्, 'पछि डाक्टरसँग सल्लाह गर्‍यौँ। डाक्टरले एउटासम्म सन्तान जन्माउन सकिने भनेपछि सन्तानको योजना बन्यो।'

निशा र सुनील जीवनमा धेरैपटक सँगै हाँसे, सम्झना हुनेगरी सँगै हाँसेको सन्तान सुख हुँदा नै हो। सुनील र निशाको एक छोरा छन्– निशांस।

०५१/५२ तिर सुनील बिरामी परे, यति नै बेला यो दम्पती सँगै रोयो। 'म डिप्रेसनको बिरामी थिएँ, छोरा निशांसलाई दूध किन्ने पैसा भएन,' सुनील भन्छन्, 'त्यतिबेला हामी सँगै रोयौँ।'

रंगमञ्चमा पलाएको प्रेम

प्रज्ञा प्रतिष्ठानमा नाट्य तालिम लिएपछि सुनील आरोहण नाट्य समूहमा जोडिए। सुनीलसँगै बद्री अधिकारी, समन्त कंशाकार, प्रदीप श्रेष्ठ, चन्द्रमाला शर्मा आरोहणका फाउन्डर हुन्।

आरोहणले एउटा नाटक गर्ने भयो, बद्री अधिकारी र सुनीलको सहनिर्देशनमा। त्यसमा बालकलाकारको भूमिका निशाले निभाउने भइन्।

'त्यतिबेला त निशा सानै थिइन, भर्खरै दाँत झरेकी,' सुनील भन्छन्, 'पछि म नाटक पढ्न दिल्ली गएँ, फर्कंदा त उनी जवान र औधि राम्री भइसकेकी थिइन्।'

सुनीलले भारतको नेसनल स्कुल अफ ड्रामा अर्थात् एनएसडीको छात्रवृत्ति पाए। यो छात्रवृत्ति उनको नाटकप्रतिको लगाबकै प्रतिफल थियो।

प्रज्ञा प्रतिष्ठानको कक्षा सकिएपछि उनी भारतीय लाइब्रेरी पुग्थे। त्यहाँ धर्मयुग, दिनमानलगायत पत्रिका आउँथ्यो। हिन्दी नाटक, उपन्यासबारे सुनीलले निकै चासो दिएर पढे। यिनै पत्रपत्रिकाबाट थाहा पाए– एनएसडीबारे। छात्रवृत्तिका लागि हुलाकमार्फत आवेदन दिए र छानिए।

तीन वर्ष भारतमा नाटक पढेर सुनील नेपाल फर्के। यता निरन्तरता र अभ्यासले निशा नाटकमा खारिइएकी थिइन्। फेरि दुवैले सँगै नाटक गरे। जतिबेला सुनील २७ र निशा २२–२३ की थिइन्।

सँगै काम गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो, अलिअलि गाइँगुइँ चल्न थाल्यो।

निशाकी दिदी सूर्यमाला त्यतिबेला नेपाली रंगमञ्चमा सक्रिय थिइन्। एक दिन सूर्यमालाले सोधिन्, 'ए सुनील, निशा र तिमीबीचको चक्कर के हो?'

सुनीलले भने, 'दिदी, म उनलाई मन पराउन थालेको छु।'

'कुरा गर्‍यौ त?' सूर्यमालाले सोधिन्।

'छैन, तपाईं गरिदिनु न त।'

'तिमीहरूको कुरा म किन गरुँ? आफैं गर।'

त्यसपछि न सुनीलले निशालाई प्रेम र बिहेको प्रस्ताव गरेका थिए।

सुनील निशाको हात माग्न लेखक तथा पत्रकार किशोर नेपाल लगायतलाई लिएर गएका थिए। ०४२ तिर सुनीलले देशान्तर साप्ताहिकमा 'सूत्रधार' स्तम्भ लेख्थे, जसमा किशोर नेपाल सम्पादक थिए। यही चिनजानको मेलोमा किशोरले सुनीललाई माया गर्थे। सुनील भन्छन्, 'मेरो बिहेको कार्डमा प्रार्थी किशोर नेपाल भन्ने छ। मेरा आमाबुवाको नामै छैन।'

सँगै नाटक गर्दागर्दै सुनील र निशाले एकअर्कालाई मन पराए, प्रेमिल व्यवहार दर्शाउन थाले। उनीहरूको कलिलो प्रेमको पालुवाले रंगमञ्चको पर्दा छिचोल्यो, अलिअलि गाइँगुइँ चल्न थाल्यो।

माया र विश्वासमा टिकेको सम्बन्ध

विवाहपछि सुनील र निशाले सँगै नाटक खेले– पुतलीको घर। यो हेनरिक इब्सनले लेखेको अंग्रेजी नाटक 'अ डल्स हाउस'को नेपाली रुपान्तरण हो। यो नाटकले सुनील र निशालाई झन्डै छुटाएन।

नाटकमा प्रधानपात्र छन्, नोरा। नाटकको कथाअनुसार नोरालाई महसुस हुन्छ– विवाहअघि पिताको खुसीका लागि र विवाहपछि पतिलाई खुसी बनाउन आफू जिउनुपरेको छ। अर्थात् नोराले आफू निर्जीव पुतलीजस्तै भएको महसुस गर्छे।

निशाले नोराको भूमिका निभाएकी थिइन्। 'यसमा उनी यति डुबेर अभिनय गरिन् कि विवाहपछि आफू स्वतन्त्र नभएको उनलाई महसुस भएछ,' सुनील भन्छन्, 'यसबारे पछि हामीबीच सल्लाह भयो तर डिभोर्ससम्म पुगेनौँ। हाम्रो सम्बन्ध माया र विश्वासमा टिकेको छ।'

भारतमा नाटक पढ्दा सुनील कसैको पवित्र प्रेममा परेका थिए। उनी भारत कर्नाटककी थिइन्। तीनवर्षे कोर्स सकिएपछि सुनील कर्नाटक जाने सोचमा थिए, कर्नाटककै मायाले तानेको थियो र उतै नाटक गर्ने सुनीलको योजना थियो। त्यहीबेला देश फर्केर रंगमञ्चमा योगदान पुर्‍याउन आग्रह गरिएको पत्र पाए सुनीलले। पत्र नेपालबाट शैलेश आचार्यले पठाएका थिए। अनि, सुनील नेपाल फर्किए।

जुन मायाले कर्नाटकतिर तानेको थियो, के त्यसलाई सुनीलले चटक्कै भुले त?

'त्यो मायाभन्दा बढी मित्रता थियो। अहिले त त्यो सम्बन्ध पूरै मित्रतामा बदलियो। हामी बेलाबेला फोनमा कुरा गर्छौं, यो निशालाई थाहा छ,' सुनील भन्छन्, 'केही दिनसम्म उनको फोन आएन र मैले पनि गरिन भने निशा सम्झाउँछिन्– सुमतीदिदीलाई फोन गर्‍यौ त? उनको नाम सुमती हो।'

सुनील र निशाले गएको माघ २० मा विवाहको २७औं वर्षगाँठ मनाए। यो बीचमा उनीहरूले थुप्रै नाटक खेले, देश–विदेश पुगेर।

यो अवधिमा यो दम्पतीबीच सानातिना थुप्रै झगडा भए, तर झगडाले ठूलो रुप लिएन।

'काम, घर–व्यवहार विभिन्न कुरामा झगडा हुन्छन्। झगडा गरेर बढीमा १०–१२ घन्टा बोलिएन होला,' सुनील भन्छन्, 'निशालाई बोलिरहनुपर्छ, उनी बोल्छिन्, म पनि बोलिहाल्छु।'

नजिकबाट चिन्नेजान्ने र चासो राख्ने शुभचिन्तकलाई थाहा छ– सुनील असाध्यै पिउँछन्। 'धेरै नपिउनू' उनका लागि यो वाक्य वा सल्लाह कुनै नौलो होइन। निशालाई सुनीलको मन नपर्ने बानी पनि यही हो।

'कहिलेकाहीं हामी सँगै पिउँछौं तर बढी खाएर बौलाएको उनलाई मन पर्दैन,' सुनील भन्छन्, 'यसमा मैले आफूलाई नियन्त्रण गर्ने कोसिस गर्दै छु।'

निशाका केही बानी सुनीललाई मन पर्दैन, निशाले सुनीललाई गर्ने मायाको आलोकले ती सबै ओझेल पारिदिन्छ। 'उनी प्रस्टवक्ता तर छुच्ची, जिद्धी तर बोल्ड छन्। मलाई उनको बोल्डनेस मन पर्छ। अनि, मलाई असाध्यै माया गर्छिन्, त्यसैले छुच्चोपन पनि मन पर्छ,' सुनील भन्छन्, 'अझ उनले घर र मलाई नै सम्हालेकी छन्। उनी नभएको भए म बढी नै बेवारिसे हुन्थेँ।'

१० वर्षजति भयो, सुनीलको परिवार राजधानीको एक कोलोनीमा घर किनेर बस्न थालेको। अहिले सुनील अनामनगरमा नयाँ पुस्तालाई नाटक सिकाउँछन्।

कुराकानीका लागि सुनीलले आफ्नो अफिस अनामनगरमा बोलाएका थिए, अघिल्लो साता।

'हिजो म यहीँ बसेँ, घरमा गइनँ,' उनी आफ्नो बेवारिसेपन प्रस्ट्याउँछन्, 'म यसरी बेवारिसे बनेको निशालाई मन पर्दैन। म नाटकमा केही गर्न चाहन्छु, मलाई उनको साथ र सहयोग छ, यो रहिरहोस् भन्ने चाहना छ।'

प्रकाशित: १२ चैत्र २०७३ ०३:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App